प्रवासमा दसैंको रौनक
काठमाडौं : नेपालभन्दा बाहिर पनि नेपाल छ। जहाँ ८० लाखभन्दा बढी नेपाली बसोबास गर्छन्। उनीहरू जहाँ पुगे पनि आफ्नो धर्म संस्कृति छोडेका छैनन्।
नेपालमा मनाइने चाडपर्व प्रवासमा पनि हर्षोल्लासका साथ मनाइने गरिन्छ। आपसमा भेटघाट गर्ने, मान्यजनबाट टीका जमरा लगाउने, खसी काट्ने, नयाँ लुगा लगाउने र साथीभाइसँग रमाइलो गर्ने चलन बढ्दै गएको प्रवासीहरू बताउँछन्।
संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत जीके दंगाली एक दशक अघिदेखि वैदेशिक रोजगारीमा छन्। ‘प्रवासमा दसैंलाई महत्त्वका साथ हेर्ने चलन छ,’ उनले भने, ‘आफन्त, इष्टमित्रबाट आशीर्वाद लिने, खसी काट्ने, टीकाजमरा लगाउने चलन स्थापित भएको छ।’
नेपाली धेरै भएका कम्पनीमा दसैंका बेला बिदा दिने चलन पनि छ। कम्पनी दैनिकजसो चले पनि नेपाली समुदाय टीकाको दिन बिदा लिएर दसैंं मनाउने गरेको दंगालीले बताए। विदेशमा प्रायः शुक्रबार बिदा हुन्छ। यसपालि दसैं शुक्रबार नै परेकाले प्रवासमा उत्साह थपिएको दंगालीले बताए। बिहीबारदेखि नै खसी काट्ने, तास खेल्ने, खानपान गर्ने उनले बताए। कोभिडको जोखिम हटिसकेको र धेरैजसोले भ्याक्सिन लगाइसकेकाले प्रवासमा यसपाली दसैंको रौनक बढेको दंगालीले बताए। ‘प्रवासमा हुँदा पनि कम्पनीमै कार्यरत अग्रज पुस्ताबाट टीकाजमरा लगाउने चलन छ’, कुवेतमा कार्यरत शोभाराम उपाध्यायले बताए। बसाइ नजिक भएका साथीभाइ तथा आफन्त १०÷१२ जना जम्मा भएर खसी काटेर दसैं मनाउने योजना रहेको उनले सुनाए। कोभिडको जोखिम घटेकाले कतिपय श्रमिकले समूह बनाएर एउटा सहरबाट अर्को सहर जाने गर्छन्।
‘दसैंको समयमा नेपालमा रहेका प्रायः सबै आफन्तसँग कुराकानी गरी दसैंको सम्झना गरिन्छ,’ उनले भने।
यूएई र मलेसियाजस्तो साउदी अरबमा काम गर्ने नेपाली कामदारलाई त्यति सहज छैन। मुस्लिम तथा कट्टरपन्थी मुलुक भएकाले साउदी अरबमा नेपालीले दसैंतिहारको रौनकता लिन पाउँदैनन्। साउदीमा कार्यरत रोल्पाका ओमबहादुर डाँगी दसैंको समयमा सधैं पीडामय वातावरणमा बस्न बाध्य हुन्छन्। तैपनि साथीभाइ भेटघाट गरी दसैं उत्साह बनाउने गरेको उनले बताए।