चीन सरकारले महिलाको शरीरलाई मेसिनको रूपमा लिएको आरोप, उत्तर कोरियाले हतियारको तीव्र विकास गर्ने

चीन सरकारले महिलाको शरीरलाई मेसिनको रूपमा लिएको आरोप, उत्तर कोरियाले हतियारको तीव्र विकास गर्ने

मंगलबार चीन सरकारले महिलाको शरीरलाई एक मेसिनको रूपमा लिएको भन्ने समाचार चर्चामा रह्यो । त्यहाँका महिलाहरूले स्वतन्त्रतापूर्वक सन्तान जन्माउन नपाउने कानुनका कारण आफ्नो शरीरलाई सरकारले मेसिनको रूपमा लिएको आरोप लगाएका हुन् । त्यस्तै उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई चुनौती दिन हतियारको विकास गर्ने उद्घोष गरेको समाचारले पनि स्थान पायो । प्रस्तुत छ, मंगलबार चर्चामा रहेका विश्वका केही प्रमुख खबर :


चीन सरकारले महिलाको शरीरलाई मेसिनको रूपमा लिएको आरोप

बेइजिङ : देशको जनसंख्या नियन्त्रणका लागि चीन सरकारले महिलाको शरीर प्रयोग गरेको आरोप लगाइएको छ। सरकारले महिलाको शरीरलाई मेसिनको रुपमा लिएको भन्दै चिनियाँ महिला र अन्य महिला अधिकारकर्मीले सो आरोप लगाएका हुन्। 

चिनियाँ महिलाले सामाजिक सञ्जाल एप ‘वेइवो’ मार्फत सरकारले महिला शरीरलाई मेसिनको रुपमा प्रयोग गरेको आक्रोश व्यक्त गरेका छन्। ‘यहाँ बच्चा जन्माउने आमाभन्दा बढी सरकारको हक र कानुनको भूमिका बढी छ। सरकारले चाहदा बच्चा जन्माउ नचाहँदा आफूले चाहेर पनि नजन्माउ ! सरकारले हामी चिनियाँ महिलाको शरीरलाई मेसिनजस्तै प्रयोग गरेको छ’, एक चिनियाँ महिलाले लेखेकी छन्। 

‘चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारले देशको जनसंख्या घटाउने योजना बनाउँदा पनि महिलालाई जबरजस्ती गर्भपतन गराउन लगाइयो र अहिले जनसंख्याको उच्चदर घटाउन पनि सरकारले महिलाको शरीर नै प्रयोग गरेको छ’, लेखक फ्यावियन बौसर्टले टाइम्स अफ इजरायलसँग भनेकी छन्।  

सन् १९७९ देखि देशको जनगणना सुरु गरेको चीनले सोही बेलादेखि देशमा एक सन्तानको नीति लागू गरेको थियो। सो नीति पालना गर्न चिनियाँ महिलाले नचाहँदानचाहदै गर्भपतन गर्नुपर्ने बाध्यता थियो। 

सन् २०१५ मा चीनले पुन: दुई सन्तानको नीति अघि सारेको थियो। सो नीति असफल बनेपछि केही समयअघि चीनले पुन: सो नीति पुनरावलोकन गरी लागू गर्ने निर्णय गरेको थियो। 

गर्भपतनमार्फत चीन सरकारले करिब ४० करोड जन्म नियन्त्रण गरेको टाइम्स अफ इजरायलमा उल्लेख छ। 
०००

मानव निर्मित जलवायु परिवर्तनले विश्वको ८५ प्रतिशत जनसंख्या प्रभावित 
बर्लिन : वैैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण कति मानिस प्रभावित छन् भन्ने स्पष्ट चित्र कोर्न सफल भएका छन्। नयाँ अध्ययन सार्वजनिक गर्दै वैज्ञानिकहरू जलवायु परिवर्तनका कारण प्रभावित विश्व जनसंख्याको चित्र कोर्न सफल भएका हुन्। 

मंगलबार जर्मनका वैज्ञानिकहरूले ‘नेचर’ वेबसाइटमार्फत एक अध्ययन सार्वजनिक गरेका छन्। वैज्ञानिकहरूले १ लाखभन्दा बढी वातावरणीय असरको विश्लेषण गरी तयार पारेको सो अध्ययनअनुसार विश्वको करिब ८५ प्रतिशत जनसंख्या मानव निर्मित जलवायु परिवर्तनको चपेटामा परिसकेका छन्। 

यदि यही अनुपातमा जलवायु संकट निरन्तर अघि बढेमा अवस्था झनै विकराल बन्ने वैज्ञानिकहरूले चेतावनीसमेत दिएका छन्। 

‘जलवायु परिवर्तनसम्बन्धी तथ्यांकको आधारमा तयार पारिएको हाम्रो अध्ययनले एक स्पष्ट चित्र देखाएको छ’, मर्केटोर रिसर्च इन्स्टिच्युट ग्लोबल कमन्स एण्ड क्लाइमेट कमनका वैज्ञानिक म्याक्स कलागानले भनेका छन्, ‘यदि जलवायु संकटविरुद्ध अब पनि प्रभावकारी कदम चालिएन भने अवस्था झनै खराब बन्ने छ।’

उनकाअनुसार संसारमा औद्योगिक क्रान्तिपछि पृथ्वी अत्यधिक तातिरहेको छौँ। जलवायु परिवर्तनको बढी असर विकसित मुलुकहरूमा देखा परेको छ। मानव निर्मित जलवायु परिवर्तनले संसारको ८० प्रतिशत भूभाग ओगटिसकेको छ भने संसारको ८५ प्रतिशत मानिस यसको चपेटामा छन्। 
०००

जैविक विविधताको लागि २३२ मिलियन डलर खर्च गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिज्ञा
बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले जैविक विविधताको लागि २३२ मिलियन डलर खर्च गर्ने प्रतिज्ञा गरेका छन्। उनले जैविक विविधता जोगाउन विकासोन्मुख मुलुकहरूको लागि सो रकम उपलब्ध गराउने प्रतिज्ञा गरेका हुन्। 

मंगलबार संयुक्त राष्ट्रसंघको जैविक विविधता सम्मेलन (कोप १५) मा बोल्दै भनेका छन्, ‘विकासोन्मुख मुलुकको जैविक विविधता संरक्षणको नेतृत्व चीनले गर्नेछ। त्यसको लागि ‘कनमिङ फन्ड अन्र्तगत विकासोन्मुख मुलुकलाई करिब २३२ मिलियन डलर उपलब्ध गराउने छ।’ 

संसारको जैविक विविधता संरक्षणको लागि उनले संसारका सबै मुलुकसँग आह्वान गरेका छन्। साथै उनले वायु र सौर्य उर्जाको विकास गर्ने प्रतिज्ञा समेत गरेका छन्। 

जैविक विविधतासम्बन्धी राष्ट्रसंघको कप १५ सम्मेलन चीनको आयोजनामा मंगलबार दक्षिणपश्चिम सहर कनमिङमा भएको थियो। अन्तर्राष्ट्रिय निकायका दर्जनौँ दूत एवम् नेता सो सम्मेलनमा उपस्थित थिए। 
०००

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई चुनौती दिन हतियारको तीव्र विकास गर्दै 
प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले देशको हतियार विकास गर्ने घोषणा गरेका छन्। उनले मंगलबार अमेरिका र दक्षिण कोरियालाई चुनौती दिन मुलुकको हतियार विकास गर्ने घोषणा गरेका हुन्। 

नेता उनले हतियार विकास युद्धका लागि नभई मुलुकको रक्षाका लागि गर्ने बताए। 

‘दक्षिण कोरिया र अमेरिकाको शत्रुतापूर्ण नीतिको सामना गर्न  र अस्थिर प्रायद्धिपको रक्षा गर्न उत्तर कोरियाले हतियार विकास गर्नेछ’, मंगलबार रक्षा विकास प्रदर्शनीको अवसरमा बोल्दै किमले भनेका छन्, ‘अमेरिकाको कारण कोरियन प्रायद्धिपको तनाव सहजै समाधान हुनेवाला छैन। हामीले विगत ५÷१० वर्षअघि देखेको सैन्य चुनौतीभन्दा अहिलेको निकै फरक छ। त्यसैले हतियार विकासका लागि सुरुमा हामी बलियो बन्नुपर्छ।’ 

दुवै कोरियाली मुलुकले हतियार परीक्षणमा प्रतिस्पर्धा गरिरहेका छन्। केही समयअघि दुवैले अत्याधुनिक क्षेप्यास्त्र परीक्षण गरेका थिए। 
०००

दोस्रो विश्वयुद्धका चर्चित लेखकको १०१ वर्षको उमेरमा निधन 
क्यानबेरा : दोस्रो विश्वयुद्धका चर्चित लेखक एड्डी जाकुको मंगलबार निधन भएको छ। उनको १०१ वर्षको उमेरमा अष्ट्रेलियाको सिड्नीमा निधन भएको हो। 

यहुदी समुदायका जाकुले गत वर्ष आफ्नो स्मृतिमा आधारित चर्चित पुस्तक ‘दी ह्याप्पियस्ट म्यान अन अर्थ’ प्रकाशित गरेका थिए। 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जाकुको मृत्युको सलामी दिने निर्णय गरेका छन्। यहुदी समुदायका जाकुको मृत्युप्रति अष्ट्रेलियाको जुइस बोर्डले दु:ख व्यक्त गरेको छ। 

दोस्रो विश्वयुद्धमा होलोकास्ट भोगेका उनी सन् १९५० मा अष्ट्रेलिया पुगेका थिए।
००० 

फिलिपिन्समा शक्तिशाली आँधी : ९ को मृत्यु, ११ बेपत्ता
बागुइओ : फिलिपिन्समा शक्तिशाली आँधीपछि आएको बाढी र पहिरोका कारण ९ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता छन्। कोम्पासु नामक आँधीपछि आएको बाढी र पहिरोका कारण एकैरात सो संख्यामा मानवीय क्षति भएको मंगलबार फिलिपिन्स सरकारले जनाएको छ। 

फिलिपिन्स सरकारका अनुसार कोम्पासु आँधी साउथ चाइना सागर हुँदै सोमबार फिलिपिन्स आइपुगेको थियो। आँधीसँगै आएको भारी मेघ गर्जनसहितको वर्षा, हावा हुरी, बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ। विभिन्न सहर र गाउँबाट १६ सयको जिवितै उद्धार गरिएको छ। 

फिलिपिन्सको कागायान र पालवान प्रान्त सबैभन्दा प्रभावित बनेको बताइएको छ।
कोम्पासु आँधी प्रतिघण्टा १०० देखि १२५ किलोमिटर हावाको वेगमा आएको सरकारको मौसम पुर्वानुमान महाशाखाले बताएको छ। हरेक वर्ष करिब २० वटा आँधी र तुफानको चपेटामा पर्ने दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्स संसारकै विपद् ग्रस्त मुलुकमा गनिन्छ। 
००० 

ग्रिकमा ६.४ म्याग्निच्युडको भूकम्प 
एथेन्स : प्राचीन सहर ग्रिकमा पुन: शक्तिशालि भूकम्प गएको छ। करिब तीन हप्ताअघि गएको भूकम्पपछि मंगलबार ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पका कारण एकको मृत्यु भएको छ भने करिब ३ सयभन्दा बढी भवनहरू भत्किएको बताइएको छ। 

एथेन्सको जियोडाइनामिक इन्स्टिच्युटका अनुसार क्रेट टापुनजिकै दिउँसो १२ : २४ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पपछि ४.१ र ४.६ म्याग्निच्युडको पराकम्प वरिपरिको क्षेत्रमा महसुस गरिएको छ। 

घटनाबारे विस्तृत विवरण नआइसकेको बताइएको छ। 

यसअघि सेप्टेम्बर २७ मा सोही क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। 
०००

बेलायतमा ठूलो संख्यामा कामदार आवश्यक 
लन्डन : बेलायतमा रिक्त पदको संख्या बढेको छ। मंगलबार बेलायतको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले बेलायतमा रिक्त संख्या बढेको देखाएको हो। 

रिक्त पदपूर्तिको लागि बेलायतमा आवश्यक कामदारको संख्या बढेको बताइएको छ। जसअनुसार तत्काल १२ लाख कामदार आवश्यक रहेको बताइएको छ। 

कामदारको अभाव भएकोले रिक्त पदपूर्तिको लागि बेलायतको आर्थिक विभागले विभिन्न निकायसँग सम्झौता गर्ने एबीसी न्यूजमा समाचार छ। 

कोभिड महामारी र युरोपियन युनियनबाट अलग्गिएपछि (ब्रेक्जिट) बेलायतको विभिन्न क्षेत्रमा काम गर्ने कामदारको अभाव भएको बताइएको छ।

बेलायतको इन्स्टिच्युट फर इम्प्लोयमेन्ट स्टडिजले बेलायतमा तत्काल ९ लाख कामदारको अभाव रहेको आकडा निकालेको छ। 
०००

अफगानिस्तानका अस्पतालको भविष्य अध्यारोमा
कावुल : तालिबानको सत्तापछि अफगानिस्तानको स्वास्थ्य क्षेत्र अन्धकारतर्फ धकेलिएको बताइएको छ। अफगानिस्ताका दुई तिहाई अस्पतालहरूमा औषधी र अक्सिजन अभाव भएसँगै त्यहाँको स्वास्थ्य क्षेत्रको भविष्य अन्धकारतर्फ धकेलिएको बताइएको हो। 

काबुलको गैर नाफामुखी संस्था इन्टिग्रिटी वाच अफगानिस्तानले हालै सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार अफगानिस्तानका अस्पतालहरू औषधीबिना चलिरहेका छन् भने विगत चार महिनादेखि स्वास्थ्यकर्मीहरूले तलबबिना काम गरिरहेका छन्।

करिब दुई महिनाअघि तालिबानले सत्ता कब्जामा लिएसँगै अफगानिस्तानको स्वास्थ्य क्षेत्रको भविष्य स्पष्ट रूपमा अन्धकारतर्फ धकेलिएको सो अध्ययनले उल्लेख गरेको छ। 

‘अफगानिस्तानको स्वास्थ्य प्रणाली विदेशी दातामा निर्भर भएतापनि तालिबानले सत्ता कब्जा गरेपछि अधिकांश दाताहरूले देशमा सहयोग पठाउन बन्द गरे। जसको कारण अस्पतालहरूमा औषधी, अक्सिजन लगायत अन्य स्वास्थ्य उपकरण अभाव छ’, सर्वेक्षण समूहका प्रमुख इजातुल्लाह अदितले भनेका छन्। 

विश्व स्वास्थ्य संगठनका अनुसार अफगानिस्तानका ३ प्रतिशत स्वास्थ्य सेवा मात्र सञ्चालन भइरहेका छन् भने त्यसबाहेक देशभरका तीन तिहाई सेवाहरू बन्द हुने अवस्थामा छन्। हाल करिब ६५ प्रतिशत स्वास्थ्य सेवाहरू करिब बन्द हुने अवस्थामा छन्। 

– संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.