नवरात्रिको पूर्णाहुति- विजयादशमी
आश्विन शुक्ल प्रतिपदामा घटस्थापनासँगै जमरा छरेर महानवमीपर्यन्त नवदुर्गाको पूजन गरेको हिन्दू समाजले नवरात्रिको पूर्णाहुतिका रूपमा विजयादशमी पर्व मनाउने सुन्दर परम्परा चलिआएको छ। पूर्णाहुति अर्थात् कुनै पनि यज्ञको अन्तिम आहुति जसले त्यो यज्ञ पूर्ण भएको अर्थ दिन्छ। प्रतिपदामा घटस्थापना गरी आद्याशक्तिको आह्वान गर्ने ऋषि–संस्कृतिसँग जमरा छर्ने कृषि–संस्कृतिको प्रतीकात्मक कृत्य सम्पादन हुन्छन्। त्यसपछि नौ दिनसम्म, अहोरात्र गरिने, आद्याशक्ति दुर्गाका विभिन्न नौ रूपको पूजा, षष्टिमा विल्वनिमन्त्रण, सप्तमीमा फूलपाती, अष्टमीमा हवन–पूजन, नवमीमा कन्यापूजन इत्यादि कृत्य पनि हाम्रो यज्ञमय जीवनका बिम्बहरू नै हुन्। यसर्थ यज्ञमय, साधनामय नौ अहोरात्रको अन्तिम आहुतिस्वरूप ‘अपराजिता’ पूजा गरेर विजयादशमी मनाइन्छ।
अपराजिता
अपराजिता नामबाटै स्पष्ट हुन्छ– परब्रह्म परमात्माकी चिन्मयी शक्तिरूपा भगवतीको विजयशालीनि स्वरूप, जुन कहिल्यै पराजित हुन्नन्। तिनै शक्ति हाम्रा सामु प्रत्यक्ष प्रकृतिका रूपमा सर्वदा उपस्थित छिन्। प्रकृतिका रूपमा माता सदैव हाम्रा निम्ति सहायक, शुभदायिनी, कल्याणप्रद रहुन् भनी हामी जडचेतनमा स्थित माताको चैतन्य शक्तिको आराधना गर्दछौँ।
नौ दिनसम्म देवीका विविध रूपहरूको पूजा–अर्चना गरेपछि दशौँ दिनमा अपराजिता देवीको पूजा गर्दै नवरात्रका पारण गरिन्छ। यस क्रममा माताको अपराजिता स्वरूपलाई टीका र जमरा अर्पण गरिन्छ।
पौराणिक आख्यान, विशेष गरी मार्कण्डेय पुराण र देवी भागवत महापुराण अनुसार परापूर्व कालमा शुम्भ–निशुम्भ, रक्तबीज, चण्ड–मुण्ड, धुम्रलोचन, महिषासुरजस्ता दैत्यको ज्यादतिले मानिस र देवतामा ठूलो सङ्कट आइपरेको थियो। त्यो महासङ्कट समाधान गर्नका लागि ऋषि–मुनि, देवगणले प्रार्थना गरेपश्चात् आद्याशक्ति दुर्गादेवीले राक्षसी शक्तिको विनाश गरिदिइन्।
सत्य र धर्मले पुनःबहाली पाएपछिको विजयोत्सवको रूपमा विजयादशमी मनाइयो। त्यस्तै त्रेतायुगमा मर्यादापुरुषोत्तम श्रीरामले आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनापश्चात् शक्तिस्वरूपीणी दुर्गादेवीको आह्वान–आराधना गरी उनैको कृपाले दशमीका दिन रावणमाथि विजय प्राप्त गरेका थिए। असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, असद्वृत्तिमाथि सद्वृत्तिको विजयको त्यस उत्सवलाई स्मरण गर्दै विजयादशमी मनाइँदै आएको शास्त्रीय मान्यता रहेको छ।
लोकोत्सव बडादसैं
चलनचल्तीको भाषामा भारतमा दशहरा र नेपालमा दसैं वा बडादसैंको नामले चिनिने पर्व धार्मिक पर्व त हो नै, यो लोकोत्सव पनि हो। लोक अर्थात् मानिसहरूको हर्षोल्लासको, पारिवारिक सम्मिलनको, ठूलाबडा–मान्यजनबाट शुभाशीर्वाद लिने, सानालाई आशीष दिने, सद्वभावको विजय भइरहोस् भनी शुभकामना आदानप्रदान गर्ने जस्ता सद्भावपूर्ण कृत्य यस समयमा सम्पादन गरिन्छन्।
सामाजिक सञ्जालको युगमा जब नवपुस्ता डिजिटल–भर्चुअल दुनियाँमा हराइरहेका छन्, यस समयमा यस पर्वको महत्व झन बढेर आएको छ। यस बेला हुने मेलमिलापले अपरिहार्य ‘सामाजिकीकरण’को अवसर प्रदान गर्दछ। वर्षभरी विभिन्न कार्य–व्यापारमा व्यस्त रहने जनमानस यसबेला उत्सवमा सहभागी हुन ‘घर’मा भेला हुन्छन्। सानादेखि ठूलासम्म सबैको भेला हुनाले आजको एकलकाँटे जीवनमा पारिवारिक र सामाजिक सम्बन्धको जरालाई टेवा पुर्याउन दसैं जस्ता चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा दुईमत छैन।
जमरा
हाम्रो लोकजीवन कृषि आधारित छ। कृषि–संस्कृतिको सम्मान स्वरूप हामी यस दिन जमरा शिरमा धारण गर्छौँ। जमराको आयुर्वेदिक विशेषता पनि छ। यसलाई पूजाआजामा मात्र सीमित राख्नु यसको अवमूल्यन गर्नु हो। कुनै पनि तत्वको अमूल्यता तबमात्र सिद्ध हुन सक्छ जब त्यो व्यवहारमा ल्याइन्छ। जमरालाई पनि हामीले व्यवहारमा ल्याउन सके त्यसको बहुमूल्यता स्वतः सिद्ध हुनेछ। यसर्थ दसैंको दिव्य सन्देशसँगै जमरारूपी स्वास्थ्यहितकारी वस्तुलाई पनि हामीले निरन्तर उपयोगमा ल्याउन सक्नुपर्छ।
सीमोल्लंघन– आध्यात्मिक परिप्रेक्ष्य
मनुष्य जीवन प्रतिक्षण गतिशील छ। ऊ आज जे छ भोलि त्यो रहन्न। जतिसक्दो अघि बढ्नु, गतिशील हुनु उसको जीवनोद्देश्य हो। आफ्नो वर्तमान परिधिबाट बाहिर निस्किएर अझ विस्तृत अझ व्यापक सीमामा प्रवेश गर्नु छ। एउटै कक्षामा रहेर हुँदैन, माथिल्ला तहमा पुग्नु छ। एउटा स्तरबाट बढ्दै अर्को स्तरसम्म पुग्नु छ। आफू चैतन्य हुनुको प्रमाण दिनु छ। उसले यो महापुरुषार्थ गरेर देखाउनै पर्छ कि सुरदुर्लभ मानव जीवन तृष्णा एवं वासनाहरूको वेदीमा चढाउनका लागि होइन, अपितु उच्च आदर्शको पवित्र वेदिमा उत्सर्ग गर्नका लागि हो। यदि संकल्पपूर्ण पुरुषार्थ एवं त्यसै अनुरुपको लगन भएमा कुनै यस्तो कारण छैन जसले हामीलाई वर्तमान परिस्थितिबाट अघि बढेर श्रेय प्राप्त गर्न बाधक बनोस्। यदि बाधा छन् भने मनकै हुन्। मन नै बन्धन, मन नै मोक्ष।
व्यक्ति, परिवार, समाज र राष्ट्रका रूपमा ती परिस्थितबाट माथि उठ्ने सत्सङ्कल्पका साथ कर्मशील हुन सके अवश्य पनि पारिस्थितिक सीमोल्लंघन गर्न सकिने छ। प्रमाद त्यागेर उठौँ– "उत्तिष्ठत ! जाग्रत ! प्राप्यबरान्निबोधत।।" उपनिषद्को आह्वानलाई ध्यानमा राख्दै अघि बढौँ।
अपराजिता देवीले प्रत्येक व्यक्तिको मनमा प्राणी मात्रकाप्रति समताको– दया र करुणाको– एकताको सद्भागको भावना विकास गरिदिनुहोस्।
हामी सबैको जीवनमा ऊर्जा सञ्चार गर्दै सबैको जीवनका हरेक क्षेत्रमा विजय प्रदान गर्दै, सबै प्रकारका नकारात्मकता र अज्ञान रूपी शत्रुहरूको विनाश गरुन्, यसै कामनाका साथ सबैलाई विजयादशमीको हार्दिक मंगलकामना।