रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पुरा गरे १०औं ह्याट्रिक
अल्मान्सिल : स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०औं ह्याट्रिक गरेका छन्। उनको ह्याट्रिकसँगै पोर्चुगलले फिफा विश्वकप-२०२२ छनोटअन्तर्गत समूह ‘ए’को खेलमा फराकिलो जित निकालेको छ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई फराकिलो अन्तरले पराजित गरेको हो।
एकपक्षीय खेलमा रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टीको मद्दतमा ह्याट्रिक गर्दा पोर्चुगल ५-० ले विजयी भएको हो।
रोनाल्डोले खेलको आठौं र १३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाएका थिए। त्यसपछि १७औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई ३-० को स्थितिमा पुर्याएका थिए। उनले बर्नार्डो सिल्भाको पासमा गोल गरेका थिए।
पहिलो हाफमा ३-० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। ६९औं मिनेटमा जोओ फालिन्दाले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाएका थिए। खेल सकिन तीन मिनेट बाँकी छँदा रोनाल्डोले हेड गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
यो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गरेको १०औं ह्याट्रिक हो। अन्तर्राष्ट्रिय र व्यवसायिक फुटबल करिअरमा भने उनको ५८औं ह्याट्रिक हो। यसैगरी रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या एक सय १५ पुर्याएका छन्। उनले गत महिना मात्र इरानका अली देईले राखेको १०९ गोलको कीर्तिमान तोडेका थिए।
यस जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक छ। पोर्चुगलको ६ खेलमा १६ अंक जोडेको छ। पोर्चुगलले अब आयरल्यान्डसँग खेलेपछि अन्तिम खेलमा सर्बियाको सामना गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ। दोस्रो स्थानमा रहने टोलीले भने अर्को छनोट चरणका खेल खेल्नु पर्नेछ।