म्यानमारमा सेना र विद्रोहीबीचको भीडन्तमा ३० सैनिक मारिए, रुस नेतृत्वको सुरक्षा फौजले अफगान सीमानजिक सैन्य अभ्यास गर्ने

म्यानमारमा सेना र विद्रोहीबीचको भीडन्तमा ३० सैनिक मारिए, रुस नेतृत्वको सुरक्षा फौजले अफगान सीमानजिक सैन्य अभ्यास गर्ने

म्यानमारमा सेना र विद्रोहीबीच भएको भिडन्तमा कम्तिमा ३० सैनिक मारिएका खबर छ। रुसले नेतृत्व गरेको एक सुरक्षा दस्ताले अफगानिस्तानको सीमानजिकै सैन्य अभ्यास गर्ने खबर पनि बुधबार चर्चमा रह्यो। चिनियाँ राष्ट्रपति सी चिनफिङ र जर्मन चान्सलर एन्जेला मर्केलबीच संवाद भएको खबर पनि अन्तर्राष्ट्रिय अनलाइन सञ्चार माध्यममा प्रमुखताका प्रकाशित भयो। प्रस्तुत छ, आज चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


रुस नेतृत्वको सुरक्षा फौजले अफगान सीमानजिक सैन्य अभ्यास गर्ने 

मस्को : रुस नेतृत्वको एक सुरक्षा फौजले अफगानिस्तान सीमानजिकै सैन्य अभ्यास गर्ने भएको छ। रुसले यही अक्टोबर २२ र २३ देखि ताजकिस्तानसँग जोडिएको अफगानिस्तान सीमानजिकै सैन्य अभ्यास गर्ने भएको हो। 

समाचार एजेन्सी आरआईएमा बुधबार प्रकाशित समाचारअनुसार रुसको नेतृत्वको सुरक्षा फौजले सो सीमानजिकै सैन्य अभ्यास गर्ने भएको हो। 

रुस नेतृत्वको सामूहिक सुरक्षा सन्धी संगठन (सीएसटीओ)ले अफगानिस्तान सीमानजिकै ताजकिस्तानमा सैन्य अभ्यास गर्ने आरआइएले जनाएको छ। ताजकिस्तानले अफगानिस्तान, किर्जिगिस्तान, अर्मेनिया र बेलारुससँग सीमा साट्ने गर्छ। 
०००

चिनियाँ राष्ट्रपति र जर्मनकी एन्जेला मर्केलबीच वार्ता 
बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङ र जर्मनीकी चान्स्लर एन्जेला मर्केलबीच वार्ता भएको छ। कुटनैतिक उथलपुथल सम्बन्धमा उनीहरुबीच बुधबार भर्चुअल वार्ता भएको हो। 

सीसीटिभी न्यूजका अनुसार मर्केल र राष्ट्रपतिबीच भएको भर्चुअल वार्तामा चीन–जर्मनको कुटनैतिक सम्बन्ध विकासबारे छलफल भएको छ। मर्केलले दुई देशबीचको सम्बन्धमा मित्रवत् वातावरण सिर्जना गर्न र युरोपेली मुलुकसँगको सम्बन्ध सुधार्न प्रस्ताव गरेको सीसीटिभीले जनाएको छ। 

गत साता अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार, युरोपेली मुलुकका शीर्ष नेता र वरिष्ठ चिनियाँ कुटनीतिज्ञ याङ सी बिच ओकस सम्झौतापछि पहिलो पटक वार्ता भएको थियो। अमेरिका, अष्ट्रेलिया र बेलायतबीच भएको ओकस सम्झौतापछि फ्रान्स र चीन चिढिएका थिए। 

सोही कारण राष्ट्रपति सीले मंगलबार आयोजित जी–२० सम्मेलनमा भाग नलिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। 
०००

अमेरिका, जापान, अष्ट्रेलिया र भारतको संयुक्त सैन्य अभ्यास जारी
नयाँ दिल्ली : संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया र भारतले संयुक्त सैन्य अभ्यास जारी राखेका छन्। क्वाड समूहको रुपमा चिनिने चार मुलुकले हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास जारी राखेका हुन्। 

मालाबर नाम दिइएको सो सैन्य अभ्यास मंगलबारदेखि बिहीबारसम्म हिन्द महासागरको बे अफ बंगालमा चल्ने पेन्टागोन प्रेसका सचिव जोन किर्वीले बताएका छन्। 

सो अभ्यासमा दुई जापानी अनुरक्षण जहाज, अमेरिकी नौसेनाको परमाणु शक्तिबाट चल्ने सैन्य विमान, अष्टे«ेलियन युद्धपोत र भारतीय ध्वंशक युद्धपोत प्रयोग गरिएको बताइएको छ। 

चीनको बढ्दो आर्थिक र सैन्य प्रभावको सामना गर्नुको साथै खुला र स्वतन्त्र प्रशान्त क्षेत्रको लागि चार सदस्यीय क्याव समूहले सँगै काम गरिरहेका छन्। 

यसअघि सुरक्षा सहकार्यको नाममा चारवटै मुलुकले अगष्ट अन्तिममा संयुक्त सैन्य अभ्यास गरेका थिए।
०००

महिलाको लागि विद्यालय खोल्न तालिबानसँग आग्रह 
काबुल : अफगानिस्तानका शिक्षक र बालिकाहरुले महिलाको लागि पनि विद्यालय खोल्न तालिबानसँग आग्रह गरेका छन्। आफूहरुले पनि विद्यालय जान पाउनु पर्ने माग राख्दै उनीहरुले तालिबानसमक्ष सो आग्रह गरेका हुन्। 

तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि महिलाको लागि सबै प्रान्तका विद्यालय बन्द गरेको थियो। तालिबानले विद्यालय तहदेखि प्लस टु र स्नातक तहसम्मका सबै शैक्षिक पठनपाठनमा महिलालाई रोक लगाएको थियो। 

संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय निकायले तालिबानले महिलामाथि गरेको व्यवहारप्रति घोर आपत्ति जनाउँदै आएका थिए। 

हाल अफगानिस्तानका तीन वटा प्रान्त बाल्ख, कुन्दुज र सारी पुलका विद्यालय भने हाल महिलाको लागि समेत खुला गरिएको बताइएको छ। शिक्षा प्राप्त गर्न पाउनुपर्ने अधिकार रहेको भन्दै अफगानिस्तानका महिला शिक्षक र विभिन्न तहका बालिका र युवतीहरुले महिलाको लागि पनि शिक्षण संस्था खोल्न तालिबानसँग आग्रह गरेका हुन्। 
०००

अमेरिकाले नोभेम्बरदेखि सबै यात्रुलाई प्रवेश दिने 
वासिङटन :  संयुक्त राज्य अमेरिकाले नोभेम्बर पहिलो सातादेखि सबै यात्रुलाई अमेरिकामा प्रवेश दिने निर्णय गरेको छ। अमेरिकाले करिब डेढ वर्षपछि क्यानडा र मेक्सिको नाका हुँदै अमेरिका पुग्ने सबै यात्रुलाई प्रवेश दिने निर्णय गरेको हो। 

अमेरिकाले कोभिड महामारीका कारण सन् २०२० मार्चदेखि सबै सीमा नाकामा प्रतिबन्ध लगाएको थियो। 

अमेरिकी गृह सुरक्षा सचिव एलेजान्द्रो मायोर्कासले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘अर्को महिनादेखि राष्ट्रपति प्रशासनले क्यानडा र मेक्सिको हुँदै आउने यात्रुहरुलाई प्रवेश दिइनेछ। तर कोभिड १९ विरुद्ध पूर्ण खोप लगाएका यात्रुहरुलाई मात्र प्रवेश दिइनेछ।’

प्रवेश दिइएका यात्रुहरुले घुम्ने लगायत सबै गतिविधि गर्न पाउने समेत उनले बताए। 
०००

दक्षिण क्यालिफोर्नियामा डढेलो, मुख्य राजमार्ग बन्द 
क्यालिफोर्निया : अमेरिकी राज्य क्यालिफोर्नियाको जंगलमा डढेलो लागेको छ। दक्षिण क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा नआउँदा त्यहाँका मुख्य राजमार्ग बन्द गरिएको र तीव्र रुपमा उद्धार कार्य जारी राखिएको बताइएको छ। 

क्यालिफोर्नियाको स्यान्टा ग्याभियटा कोस्टमा सोमबारदेखि डढेलो लागेको थियो। तीव्र हावाको वेगका कारण सो डढेलो बुधबारसम्म पनि नियन्त्रणमा आउन नसकेको बताइएको छ। डढेलोले करिब ८ हजार वर्गकिलोमिटर नष्ट गरेको गार्जियनमा समाचार छ।

डढेलो नियन्त्रणमा करिब २ सयभन्दा बढी डढेलो नियन्त्रक खटिएका छन्। करिब १ दशकदेखि डढेलो नलागेको सो क्षेत्रमा सोमबारदेखि डढेलो फैलिएको त्यहाँका राष्ट्रिय वन विभागका सूचना अधिकारी एन्ड्रियू म्याडसेनले जानकारी दिएका छन्। 

‘हालसम्म विस्तृत विवरण प्राप्त गर्न नसकिए पनि डढेलोले ठूलो क्षति भएको अनुमान गरेका छौँ’, उनले भनेका छन्, ‘तीव्र हावाको वेगका कारण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। विभिन्न बस्तीहरु डढेलोको जोखिममा छन्।’

यस वर्ष अमेरिका र युरोपका विभिन्न राज्यमा लागेको डढेलोले ठूलो क्षति पुगेको बताइएको छ।
०००

नवीकरणीय उर्जामा विश्वले तेब्बर लगानी गर्नुपर्छ : आईईए
पेरिस : नवीकरणीय उर्जा विकासको लागि विश्वले तीन गुणाभन्दा बढी (तेब्बर) लगानी गर्नुपर्ने एक अध्यननले देखाएको छ। जलवायु परिवर्तनविरुद्ध लड्न र स्वच्छ उर्जा विकासका लागि विश्वले तेब्बर लगानी गर्नुपर्ने इन्टरनेसनल इनर्जी एजेन्सी (आईईए)को अध्ययनले देखाएको हो। 

आईईएले बुधबार विश्व उर्जासम्बन्धी एक वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो। 

‘चीन र भारतजस्ता विभिन्न मुलुकमा यतिबेला उर्जा संकट देखा पर्न थालिसकेको छ। नवीकरणीय उर्जा विकास नगरेकै कारण ती मुलुकहरुमा त्यो संकट देखिएको हो’, आइईएले भनेको छ, ‘भविष्यमा आवश्यक पर्ने उर्जाको लागि संसारका मुलुकहरुले पर्याप्त लगानी गरेका छैनन्। त्यसैले टिकाउ अर्थात् नवीकरणीय उर्जाको माग पूर्तिका लागि संसारले तीन गुणाभन्दा बढी लगानी गर्नुपर्ने देखिन्छ।’

नवीकरणीय उर्जाको लागि नयाँ नीति पनि बनाउनु पर्ने सो रिपोर्टले बताएको छ। यदि नवीकरणीय उर्जामा लगानी नगरे विकासोन्मुख मुलुक अन्धकारमा धकेलिने चेतावनी समेत आईईएले दिएको छ। 
०००

युरोपमा सुँगुरको खोरबाट निस्कने फोहोरले ठुलो संख्यामा माछा मरेको खुलासा
मर्सिया : युरोपमा रहेका सयौँ सुँगुरको खोरबाट निस्कने फोहोरले ठूलो संख्यामा माछा मार्ने गरेको खुलासा भएको छ। संँगुरको खोरबाट निस्कने फोहोरले समुद्रमा पाइने माछा मर्ने गरेको नयाँ अनुसन्धानले सो खुलासा गरेको हो। 

लाइटहाउसका वैज्ञानिकले करिब चार महिना लामो समयसम्म गरेको अध्ययन प्रतिवेदन (रिपोर्ट) ले सो तथ्य सार्वजनिक गरेको हो। सो रिपोर्टअनुसार समुद्रनजिक रहेका स्पेनलगायत अन्य युरोपेली मुलुकमा सञ्चालित खोरबाट निस्कने विभिन्न खाले फोहोरले जमिन र समुद्रको वातारणमा घातक असर पुर्‍याएको छ। जसका कारण समुद्रमा पाइने विभिन्न प्रजातिका माछाहरु सामूहिक रुपमा मर्ने गरेका छन्। 

स्पेनको वातावरण मन्त्रालयले सन् २०१९ मा देशभरका करिब ४५० सुँगुर फार्ममा करिब ८ लाखभन्दा बढी सुँगुर रहेको तथ्यांक सार्वजनिक गरेको थियो। ती सुँगुर फार्मबाट निस्कने फोहोर सीधै समुद्रमा मिसिने र त्यसले सबैभन्दा बढी असर माछामा पुग्ने हालैको अनुसन्धानले फेला पारेको छ।
००० 

म्यानमारमा सेना र विद्रोहिबीच भिडन्त, ३० सैनिकको मृत्यु
नेपीतव : म्यानमारमा सेना र विद्रोही समूहबीच दोहोरो भिडन्त हुँदा कम्तिमा ३०  सैनिकको मृत्यु भएको छ। सागाईङ क्षेत्रमा भएको भिडन्तमा ३० सैनिकको मृत्यु भएको रेडियो फ्री एसियाले जनाएको छ। 

पीपुल्स डिफेन्स फोर्स (पीडिएफ)का प्रवक्ता मुखविरले बुधबार रेडियो फ्री एसियालाई बताएअनुसार यही सोमबार सो घटना भएको थियो। विद्रोही र म्यानमार सैनिकबीच सोमबार बिहान भएको दोहोरो भिडन्तमा एक कमान्डरसहित कम्तिमा ३० सैनिकको मृत्यु भएको हो। 

म्यानमारमा फेब्रुअरी १ मा सैन्य ‘कू’ भएको थियो। त्यसयता देशमा राजनैतिक अस्थिरताले चरम रुप लिएको बताइन्छ। सेनाले देशमा एक वर्षका लागि संकटकालको घोषणा गरेको छ। 

वरिष्ठ सैन्य अधिकारीहरुले जबरजस्ती आफूलाई राजीनामा दिन बाध्य पारेको हिरासतमा राखिएका म्यानमारका राष्ट्रपति विन मिन्टले बताएका छन्। 

संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.