सेनाको निशानामा म्यानमारका चर्च र पादरी, तालिबानले प्रतिकुल सदस्यलाई हटाउन बनायो नयाँ आयोग

सेनाको निशानामा म्यानमारका चर्च र पादरी, तालिबानले प्रतिकुल सदस्यलाई हटाउन बनायो नयाँ आयोग

म्यानमारको सेनाले त्यहाँको चर्च र पादरीलाई निशाना बनाएर ज्यादती गरेको समाचार बाहिर आएको छ। बिहीबार तालिबानले आफ्नो प्रतिकुल लाग्ने सदस्यलाई हटाउन एक उच्च स्तरीय आयोग गठन गरेको छ। ताइवानको एक भवनमा आगलागीका कारण दुई दर्जन बढी मानिसको ज्यान गएको खबर पनि बिहीबार (आज) चर्चामा रह्यो। प्रस्तुत छ, आजका केही विश्व प्रमुख खबरहरू :


सेनाको निशानामा म्यानमारका चर्च र पादरी 

बर्मा : म्यानमारमा चर्च र चर्चका पादरीलाई सेनाले आफ्नो निशाना बनाएको खुलेको छ। जनताविरुद्धको लडाइमा रहेको म्यानमारको सत्ता कब्जामा लिएको सेनाले पछिल्लो समय चर्च र चर्चका पादरीलाई आफ्नो निशाना बनाएको खुलेको हो। 

अलजजिरामा बिहीबार प्रकाशित रिपोर्टिङअनुसार म्यानमारको सेनाले चर्चलाई आर्मी क्याम्प बनाउन थालेको र त्यहाँका पादरी र अन्य व्यक्तिहरुलाई जबरजस्ती आफ्नो सेवामा खटिन निर्देशन दिने गरेका छन्। म्यानमारमा सेनाले जनतासँग मात्र नभई अन्य सम्प्रदायका व्यक्तिमाथिसमेत क्रुरता देखाउँदै आएको त्यहाँको मानवअधिकार निकायले जनाएको छ। 

गत सेप्टेम्बरमा मानव अधिकारकर्मीहरुले गरेको एक अध्ययनले म्यानमारमा सैन्य ‘कू’ लागू भएयता सेनाले जनता र सत्ताविरोधीलाई लक्षित गरी थुप्रै आक्रमण गरेको पत्ता लगाएको थियो। हालै प्रकाशित एक अध्ययनले भने पछिल्लो समय सेनाले चर्च र त्यहाँका पादरीलाई समेत लक्षित गरी विभिन्न आक्रमण र क्रुरतापूर्ण व्यवहार देखाउन थालेको जनाएको छ। 

‘म्यानमारका विभिन्न चर्चहरु यतिबेला खाली र बालुवामा परिणत भएका छन्’, कायाह प्रान्तस्थित एक क्याथोलिक चर्चका प्रतिनिधिले अलजजिरासँग भनेका छन्, ‘सेनाको आक्रमण र क्रुरतापूर्ण व्यवहारसँग यहाँका जनता मात्र नभई अब चर्च पनि सुरक्षित छैनन्। सेनाले जुनसुकै बेला चर्चमा आक्रमण गर्न सक्छ।’

गत मे महिनामा सेनाले क्याथोलिक चर्चमा आक्रमण गर्दा चारको मृत्यु भएको थियो। 

सन् २०१४ को एक तथ्यांकले म्यानमारमा करिब ९० प्रतिशत बौद्ध र करिब ६ प्रतिशत क्रिश्चियन धर्मावलम्बी रहेको देखाएको थियो। म्यानमारले मुस्लिम रोहिंग्यापछि पछिल्लो समय क्रिश्चियनमाथि समेत आक्रमण गर्न थालेको बताइएको छ। 
०००

लेबनानमा आन्दोलन उग्र, ५ को मृत्यु कैयौँ घाइते 
बेरुइत : लेबनानको बेरुइतमा जारी आन्दोलन उग्र बनेको छ। आन्दोलन उग्र बन्दा हालसम्म ५ को मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। 

हेजबुल्ला समर्थक आन्दोलनकर्मी र विपक्षीबिच बिहीबार झडप भएको थियो। 

सयौँ हेजबुल्ला समर्थकले बेरुइत न्याय विभागअघि आन्दोलन गरिरहेका थिए। आफ्ना नागरिकमाथि विभेद गरेको र अमेरिकीहरुको दास बनेको आरोप लगाउँदै न्यायाधीस तारिक वितारलाई बेरुइतबाट हटाउनु पर्ने माग आन्दोलनकर्मीहरुले राखेका थिए। 
०००

ताइवानको १३ तले भवनमा आगलागी, ४६ को मृत्यु दर्जनौँ घाइते 
ताइपेई : दक्षिण ताइवानको एक १३ तले आवासीय भवनमा भीषण आगलागी भएको छ। बिहीबार बिहानै भएको आगलागीमा परी ४६ को मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्। 

ताइवानको दक्षिण भेगमा पर्ने काओसिउङमा अवस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे आगलागी भएको थियो। आगलागीमा परी ४६ को मृत्यु भएको र ५५ भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। ५५ घाइतेमध्ये १४ जना गम्भीर घाइते भएको र घाइतेलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताइएको छ। मृककको संख्या अझै बढ्ने आशंका गरिएको छ।

आगलागीबाट भवनका अधिकांश तलाहरु ध्वस्त बनाएको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ। सो भवन ४० वर्ष पुरानो रहेको र भवनको भुईँतलामा विभिन्न पसल राखिएको बताइएको छ। आगलागीको कारण भने हालसम्म नखुलेको अधिकारीहरुले जनाएका छन्। 
०००

श्रीलंकाले पूर्व नौसेना प्रमुखविरुद्ध लागेको ११ हत्या आरोप हटायो 
श्रीलंका सरकारले पूर्व नौसेनाका प्रमुखमाथि लागेको हत्याको आरोप हटाएको घोषणा गरेको छ। सरकारले बिहीबार करिब ११ जनाको हत्या प्रकरणमा मुछिएका नौसेना प्रमुख आद्मिरल वसन्थामाथि लागेको आरोप हटाएको घोषणा गरेको हो। 

वसन्थाविरुद्धको आरोप हटाएकोमा विभिन्न अन्तर्राष्ट्रिय निकायले निन्दा गरेका छन्। 

श्रीलंकाको ३७ वर्ष लामो जातीय युद्ध सन् २००९ मा समाप्त भएको थियो। 

वसन्थाले सन् २००८ र २००९ मा धनी वर्गका बालबालिका र अन्य सदस्यलाई कब्जामा लिई पैसाको बार्गेन गर्ने गरेको र सो बार्गेन नमिल्दा हत्या गरेको आरोप लागेको थियो। उनीमाथि १४ जनाको हत्या आरोप लागे पनि ११ वटा हत्याको मात्र पुष्टि भएको थियो।

उनीमाथि षड्यन्त्र रचेर हत्या गरेको आरोप लागेको थियो। 

श्रीलंकाको अदालतले उनीमाथि लागेको आरोप नबढाउने भन्दै हटाउने निर्णय गरेको बताइएको छ। 
०००

इजरायली हवाई हमलामा परी सिरियली सैनिकको मृत्यु 
होम्स : इजरायलले सिरियामा गरेको हवाई हमलामा परी सिरियाली सेना र इरानी लडाकुको मृत्यु भएको छ। इजरायली सेनाले मध्य सिरियामा गरेको हवाई हमलामा परी एक सिरियाली सैनिक र ३ इरान समर्थक लडाकुको मृत्यु भएको बताइएको छ। 

सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार इजरायलले बुधबार होम्स प्रान्तको पाल्मिरा सहरमा हवाई आक्रमण गरेको थियो। सो आक्रमणमा परी १ सिरियाली सैनिकसहित ४ को मृत्यु भएको छ भने ७ सैनिक घाइते भएका छन्। 

इजरायलले कैयौँ इरानीहरुलाई लक्षित गरी सो आक्रमण गरेको बेलायतको युद्ध निगरानी केन्द्रले जनाएको छ। 

सन् २०११ मा भएको सिरियाली गृह युद्धपछि इजरायलले पटकपटक सिरियामा हवाई हमला गर्दै आएको छ।
०००

तालिबानले प्रतिकुल सदस्यलाई हटाउन बनायो नयाँ आयोग
काबुल : तालिबान नेतृत्वको अफगानिस्तान सरकारले तालिबानको दुरुपयोग गर्नेहरुको तथ्यांक राख्न र उनीहरुलाई हटाउन एक नयाँ आयोग गठन गरेको छ। तालिबानले आफूले बनाएको नियम दुरुपयोग गर्ने जनता, कुनै व्यक्ति तथा अन्य निकायको तथ्यांक राख्न र उनीहरुलाई हटाउन नयाँ आयोग गठन गरेको हो। 

स्थानीय मिडिया खामा प्रेसको रिपोर्टअनुसार तालिबानले सो निकाय बिहीबार गठन गरेको हो। नयाँ निकायको नाम ‘फिल्टरेसन कमिसन अफ फोर्सेस’ राखिएको छ। सो निकायमा रक्षा मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयसँगै तालिबानको गुप्तचर निर्देशनालयका केही प्रतिनिधि सामेल गराइएको बताइएको छ। 

सो निकायले देशका सबै प्रान्तमा काम गर्ने आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता सइद खास्तोइले बताएका छन्। यद्यपि उनले पूर्ण विवरण उपलब्ध नगराएको खामा प्रेसले जनाएको छ।
००० 

विश्व रेकर्ड राखेकी केन्याकी खेलाडी मृत फेला 
केन्या : लामो दूरीको धावकको रुपमा चिनिने केन्याकी खेलाडी एग्निस टेरोप मृत फेला परेकी छन्। उनी केन्याको आइटेनस्थित आफ्नै घरमा बुधबार राती मृत फेला परेकी हुन्। 

२५ वर्षीया टेरोपले हालै सम्पन्न टोकियो ओलम्पिक्स खेलमा केन्याको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन्। केन्याको राष्ट्रिय खेलकुद परिषद्ले एक विज्ञप्ती जारी गर्दै उनको मृत्युको पुष्टि गरेको छ।

स्थानीय मिडियाले उनको शरीरमा छुरा रोपेको अवस्थामा फेला परेको उल्लेख गरेका छन्। 

२५ वर्षीया टेरोपले सन् २०१७ र २०१९ को विश्व च्याम्पियनसिपमा १० हजार मिटर दूरी पार गर्दै रजत पदक जितेकी थिइन्। टोकियो ओलम्पिक्समा उनले ५ हजार मिटरको दूरी पार गर्दै चौथो बनेकी थिइन्। 

गत महिना उनले जर्मनीमा भएको एडिजेरो रोड टु रेकर्ड प्रतिस्पर्धामा १० किलोमिटरको दूरी पार गर्दै विश्व रेकर्ड राखेकी थिइन्। 

संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.