चेन्नईलाई आईपीएल उपाधि
दुबई : चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ। दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो।
चेन्नईले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन मात्र बनाउन सक्यो।
कोलकाताका लागि प्रारम्भिक ब्याट्सम्यान शुबमन गिल र वेङ्कटेस ऐयरले अर्धशतकीय पालि खेले पनि टोलीलाई उपाधि दिलाउन सकेनन्। गिलले ५१ र ऐयरले ५० रनको पालि खेले। यस्तै शिभम् मावीले २० र लोकी फर्गुसनले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोलाकाताका दिनेश कार्तिकले नौ, कप्तान इयोन मोर्गनले चार, राहुल त्रिपाठीले दुई, सुनील नारिनले दुई रन जोड्दा नितिश राना र सकिब अल हसन शून्य रनमा आउट भए।
चेन्नईका सार्दुल ठाकुरले तीन विकेट लिए। यस्तै रवीन्द्र जडेजा र जोस हेजलउडले दुई/दुई तथा दीपक चहर र ड्वान ब्राभोले एक/एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गरेको थियो।
चेन्नईका लागि फाप डु प्लेसिसले ८६ रनको अर्धशतकीय पालि खेले। पालिको ओपनिङ गरेका डु प्लेसिसले ५९ बलमा तीन छक्का र सात चौका हिर्काए। यस्तै मोइन अलीले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रनको योगदान दिए।
कोलकाताका सुनील नारिनले दुई तथा शिबम् माभीले एक विकेट लिए।
यससँगै चेन्नईले चौथो पटक आईपीएलको उपाधि जित्न सफल भएको छ। कोलकाताको भने तेस्रो पटक उपाधि जित्ने सपना अधुरो बनेको छ।
चौथो पटक उपाधि विजेता चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाएका छन्।
यसअघि चेन्नईले सन् २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। सन् २०११ मा चेन्नईले बेंग्लोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो। २०१८ मा हैदराबादलाई आठ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो। चेन्नई सन् २००८, २०१२, २०१३, २०१५ र सन् २०१९ मा उपविजेता बनेको थियो।
लिगमा दोस्रो स्थानमा रहँदै चेन्नईले क्वालिफायर खेलेको थियो। क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो। एलिमिनेटरमा कोलकताले रोयल च्यालेन्जर्स बेंग्लोरलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा दिल्लीलाई तीन विकेटले पराजित गर्दै कोलकताले तेस्रो पटक फाइनलमा स्थान बनाएको थियो।