अमेरिकी युद्धपोतलाई आफूले लखेटेको रुसको दाबी
मस्को : रुसको रक्षा मन्त्रालयले आफूले अमेरिकी युद्धपोतलाई लखेटेको दाबी गरेको छ। चीन र रुसबीच जारी सैन्य अभ्यासलाई बाधा पुर्याउन आएको अमेरिकी युद्धपोतलाई शुक्रबार आफुले लखेटेको दाबी रुसले गरेको हो।
प्रशान्त क्षेत्रमा रुस र चिनियाँ नौसेनाबीच संयुक्त सैन्य अभ्यास चलेको थियो। सो सैन्य अभ्यासका क्रममा रुसी समुद्र क्षेत्र नजिकै दुईवटा अमेरिकी युद्धपोत आइपुगेको रुसले जनाएको छ। आफूहरुको सैन्य अभ्यासको बेला पछ्याउँदै आएको सो अमेरिकी युद्धपोतलाई आफूले लखेटेको दाबी रुसले गरेको हो। ‘चेतावनीका बाबजुद अमेरिकी युद्धपोतले हाम्रो समुद्री सीमा पार गर्दै थियो’ रुसको रक्षा मन्त्रालयले विज्ञप्तीमार्फत भनेको छ, ‘६० मिटरको दुरीमा रहेको अमेरिकी युद्धपोतलाई हामीले टाढैबाट लखेट्न सफल भएका छौं।’
यद्यपि, अमेरिकाले भने यस सम्बन्धमा कुनैपनि प्रतिक्रिया नजनाएको बताइएको छ। अमेरिका र अन्य पश्चिमा मुलुकसँग रुसको शीत युद्ध जारी रहेको बताइएको छ।