साफ फाइनलमा नेपाल र भारत आमनेसामने : नेपालले इतिहास रच्ला त ?
काठमाडौं : साफ च्याम्पियनसिप फुटबलले दक्षिण एसियाली राष्ट्रमा विशेष अर्थ राख्दछ। यो फुटबलका लागि यस क्षेत्रको सर्वाधिक ठूलो प्रतियोगिता पनि हो। सन् १९९३ मा सार्क गोल्डको नामबाट सुरु भएको च्याम्पियनसिपले २८ वर्ष पार गरिसकेको छ।
दक्षिण एसियाली फुटबल (साफ) को आयोजनामा हुँदै आएको च्याम्पियनसिपमा नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। माल्दिभ्समा जारी १३औं संस्करणमा भने नेपालका सामु इतिहास रच्ने अवसर आएको छ। साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपालले आज राति माल्दिभ्सको राजधानी मालेमा भारतविरुद्ध उपाधिका लागि खेल्दैछ। तर, भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई स्वभाविक रुपमा दबाबमा हुनेछ।
साफ च्याम्पियनसिपको इतिहासमा भारतले छुट्टै इतिहास बनाएको छ। साफका हरेक संस्करणमा दबदबा बनाएको भारतले कीर्तिमानी सात पटक उपाधि जितिसकेको छ।
साफ च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन तेस्रो स्थान हासिल गर्नु हो। सन् १९९३ को पहिलो संस्करणमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो। राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा भारत र श्रीलंकापछि नेपाल तेस्रो स्थानमा रहेको थियो।
२८ वर्षको खडेरी तोड्दै नेपालले यस पटक फाइनलमा स्थान बनाइसकेको छ। अब नेपालले अर्को सुनौलो इतिहास रच्न एक खुड्किलो बाँकी छ। त्यसका लागि आज साँझ भारतको चुनौतीलाई पन्छाउनु पर्नेछ। नेपालले भारतलाई हराउन सकेमा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्नेछ। जुन नेपाली फुटबलका लागि पनि ऐतिहासिक दिन सावित हुनेछ। भारतविरुद्ध नेपालले अहिलेसम्म २२ खेल खेलेको छ। जसमा भारतले एकपक्षीय नतिजा निकालेको छ। नेपालविरुद्ध भारतले १५ खेल जितेको छ भने नेपालले दुई खेल जित्दा पाँच खेल बराबरी गरेको छ।
नेपाली टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताएका छन्। ‘हाम्रा लागि शनिबार ठूलो दिन हो। त्यो दिन हामी जितका लागि सबैथोक दिने छौं। हामी गोर्खाली जसरी खेल्ने छौं’, कप्तान किरणले भने, ‘भारत बलियो टोली हो भन्ने हामीलाई थाहा छ। तर, हामी सबैले मेहनत गर्ने हो भने भारतलाई हराउन कठिन छैन।’
नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भारतलाई पराजित गर्न निकै गाहारो भए पनि एउटा संकल्प लिएर खेल्ने हो भने ऐतिहासिक सफलता हासिल गर्न सक्ने बताए। ‘भारतसँग हामीले ठूलो खेल खेल्दै छौं। त्यो खेल हाम्रा लागि पक्कै पनि सहज छैन’, सहायक प्रशिक्षक श्रेष्ठले शुक्रबार प्रिम्याच कन्फरेन्समा भनेका थिए, ‘तर, हामी मानसिक रुपमा तयार छौं। हामी फाइनल खेलकै लागि केन्द्रित छौं। एउटा संकल्पका साथ नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रने छौं।’
तर, भारतको चुनौती पन्छाएर इतिहास बनाउनु नेपाललाई पक्कै पनि सहज छैन। दक्षिण एसियाली फुटबलमा नेपालको प्रमुख प्रतिद्वन्दी भारत रहदै आएको छ। लिग चरणको भेटमा समेत नेपाल भारतसँगै पराजित भएको थियो। सुरुवाती दुई खेलमा जित निकालेको नेपाल तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएको थियो। नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ। त्यसका लागि भारतविरुद्धको विगत भुलेर फाइनल खेल्नुपर्नेछ। ‘हामी विगतलाई हेर्दैनौं। विगतमा जे भयो भयो। हामीले शनिबार हुने फाइनल खेललाई मात्र सोचेका छौं’, कप्तान किरण भन्छन्।
तर, दुर्भाग्य नेपाललाई फाइनलसम्म डोर्याएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइमरी र स्ट्राइकर अञ्जन विष्ट भने नेपाली टोलीमा हुने छैनन्। दुई पहेंलो कार्ड पाएका कारण अलमुताइरी र अञ्जनले फाइनल खेल गुमाउने भएका हुन्। यसैगरी मिडफिल्डर पुजन उपरकोटीले पनि खेल्ने सम्भावना कम छ। चोटका कारण उनले फाइनल खेल्ने सम्भावना कम रहेको जनाइएको छ।
अञ्जनको प्रतिबन्ध स्वभाविक भए पनि मुख्य प्रशिक्षक अलमुताइरीको प्रतिबन्ध भने विवादमा परेको छ। प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो। साफ आफैले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ।
अलमुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्धको खेलका क्रममा पहेंलो कार्ड पाएका थिए। जसलाई लिएर अलमुताइरीले आक्रोस जनाएका छन्। अलमुताइरीले साफले आफूमाथि अन्यायपूर्ण निर्णय गरेको बताएका छन्। साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि आफूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै भर्चुअल पत्रकार सम्मेलनमार्फत असन्तुष्टि पोखेका हुन्।
‘साफले ममाथि अन्याय गर्यो। व्यक्तिगत रिसइवी साँध्न आफ्नै नियमावली विपरीत साफले कारवाही गरेको हो’, मुख्य प्रशिक्षक अलमुताइरीले भने, ‘यो कारवाही व्यक्तिगत रुपमा मलाई मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि हो। नेपाली फुटबलमाथिको कारवाही हो।’ उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारवाही गरेकोमा उनले दुःख पनि ब्यक्त गरे। ‘साफको निर्णयले मलाई निकै दुख लागेको छ। साफले ममाथि किन निशाना साँधेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘मलाई किन यस्तो व्यवहार गरियो। मैले बुझ्न सकेको छैन।’
साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने उनले बताएका छन्। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारवाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो।’
यसैगरी भारतका प्रशिक्षक इगोर स्टिमाचले पनि फाइनलमा प्रतिबन्ध भोगेका छन्। स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए। त्यसैले भारत पनि मुख्य प्रशिक्षकबिना नै मैदान उत्रने छ।