चीन र भारतले विवादित सीमामा थप सेना खटाउने, आसियानले म्यानमार सेनालाई बहिष्कार गर्ने

चीन र भारतले विवादित सीमामा थप सेना खटाउने, आसियानले म्यानमार सेनालाई बहिष्कार गर्ने

शनिबार विश्वभर चीन र भारतले आफ्ना विवादित सीमा क्षेत्रमा थप सेना खटाउने निर्णय गरेको समाचार चर्चामा रह्यो। यसले एसिया क्षेत्रमा अशान्ति फैलिन सक्ने आशंका गरिएको छ। त्यस्तै दक्षिण एसियाली मुलुकहरूको संगठन आसियानले म्यानमार सेनालाई बहिष्कार गर्ने खबर पनि चर्चामा रह्यो। प्रस्तुत छ, दिनभरका केही प्रमुख विश्व समाचारहरू : 

०००

चीन र भारतले विवादित सीमामा थप सेना खटाउने 

बेइजिङ : चीन र भारतले यही हिउँददेखि विवादित सीमामा थप सेना खटाउने भएका छन्। दुई देशबीच यसै हप्ता भएको १३ औं पटकको सैन्य बैठक असफल भएपछि दुवै पक्षले विवादित सीमामा थप सेना खटाउने भएका हुन्। 

गएको आइतबार भारत र चिनियाँ सेनाबीच १३ औं पटकको कमान्डर स्तरीय सैन्य बैठक बसेको थियो। विवादित सीमा समस्या सम्बन्धमा बसेको सो बैठक एकअर्काको दोषारोपणसहित निश्कर्षविहीन बनेको थियो। 

सो बैठक निश्कर्षविहीन बनेपछि दुवै पक्षले यहि हिउँदयामदेखि विवादित सीमामा थप सेना पठाउने निर्णय गरेको साउथ चाइना मर्निङ पोष्टमा समाचार छ। 
०००

आसियानले म्यानमार सेनालाई बहिष्कार गर्ने 
सिंगापुर : दक्षिण एसियाली मुलुकहरुको संगठन आसियानले शनिबार म्यानमारको सैन्य नेतृत्वलाई सम्मेलनबाट बहिष्कार गर्ने निर्णय गरेको छ। आसियानले यसै महिनाको अन्त्यमा आयोजना गरेको शिखर सम्मेलनबाट म्यानमारको सैन्य नेतृत्वलाई बहिष्कार गर्ने निर्णय गरेको हो। 

यस महिनाको अन्त्यमा गैर राजनैतिक तवरबाट हुन लागेको सो सम्मेलनमा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय गरिएको आसियानले जनाएको छ।

म्यानमार सेनालाई सम्मेलनबाट बहिष्कार गर्ने आसियानको निर्णय ऐतिहासिक भएको र सो निर्णयले आसियानका सदस्य राष्ट्रहरुको आन्तरिक मामिलामा हस्तक्षेप हुन नदिने सिद्धान्तको बचाउ भएको आसियानले जनाएको छ। 

शनिबार बसेको आसियानको बैठकले आगामी महिना हुन लागेको आसियान बैठकमा म्यानमारमा सैन्य ‘कू’को नेतृत्व गर्ने सेना प्रमुखलाई समेत नबोलाउने निर्णय गरेको जनाएको छ। 

आसियानका सदस्य राष्ट्रहरुको सम्मेलन यहि अक्टोबर २६ देखि २८ सम्म आयोजना गरिएको छ। ब्रुनेई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, पिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम आसियानका सदस्य मुलुकहरु हुन्। 
०००

आइएसबारे रुसले बोलायो अमेरिका, चीन र पाकिस्तानसँगको संयुक्त बैठक 
मस्को : रुसका राष्ट्रपति भ्लादमिर पुटिनले इस्लामिक स्टेट (आइएस) समुहबारे छलफल गर्न अन्तर्राष्ट्रियस्तरको संयुक्त बैठक बोलाएका छन्। पुटिनले आइएसका सयौ लडाकुहरु अफगानिस्तानको उत्तरी क्षेत्रमा जम्मा भएको भन्दै छलफलका लागि संयुक्त बैठक बोलाएका हुन्। 

राष्ट्रपति पुटिनले रुसको तर्फबाट आगामी मंगलबार अमेरिका, चीन र पाकिस्तानसँग संयुक्त बैठक बोलाएको रुसको राष्ट्रपति कार्यालयले जनाएको छ। 

‘हाम्रो गुप्तचर एजेन्सीका अनुसार उत्तरी अफगानिस्तानमा मात्र   करिब २ हजारभन्दा बढी आइएसका सदस्य छन्’ पुटिनले पूर्व सोभियत राज्यका नेतासँगको भिडियो सम्मेलनमा भनेका छन्, ‘यसको लागि अमेरिका, चीन र पाकिस्तानसँग हामीले जतिसक्दो चाडो अन्तरक्रिया गर्न जरुरी छ।’
०००

६ महिने यात्राको लागि चिनियाँ टोली अन्तरिक्षमा पुग्यो
बेइजिङ : करिब ६ महिना लामो अन्तरिक्ष यात्रा (मिसन) को लागि चिनियाँ अन्तरियात्रुको टोली अन्तरिक्षमा पुगेको छ। सो यात्राको लागि ३ सदस्यीय टोली शनिबार बिहान अन्तरिक्षमा पुगेको हो। 

एक महिला र दुई पुरुषसहित सो टोली सेन्जाउ १३ यानमार्फत अन्तरिक्ष पुगेका हुन्। जसमा ४१ वर्षीया वाङ यापिङ, ५५ वर्षीय जाई जिग्याङ र ४१ वर्षीय ये ग्वाङफु रहेका छन्। ४१ वर्षीया यापिङ स्पेस स्टेशनमा पुग्ने पहिलो महिला अन्तरिक्ष यात्रु बनेकी छन्। 

चीनको स्पेस एजेन्सीकाअनुसार शनिबार बिहान करिब ७ बजे (स्थानिय समय) सेन्जाउ १३ यानले करिब ६ घण्टाको यात्रापछि चीनको स्पेश स्टेशनमा प्रवेश गरेको थियो। सो यानले उत्तर चीनको गोपी मरुभुमीस्थित जिउक्वान स्टाटेलाईट लन्च सेन्टरबाट उडान भरेको थियो। 

उनीहरुले ६ महिनासम्म स्पेसमा अध्ययन गर्नेछन्। चीनले आफ्नो लगानीमा बनाएको स्पेस स्टेसनको सो अन्तरिक्ष मिसनलाई ऐतिहासिक मिसन बताएको छ।
०००

मस्जिदमा भएको विस्फोटको जिम्मा आइएसले लियो 
कान्दहर : अफगानिस्तानको कान्दहर सहरस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती विस्फोटको जिम्मा इस्लामिक स्टेट समूह आइएसले लिएको छ। आइएसले शनिबार सो विस्फोटको जिम्मा लिएको हो। 

आइएसले तालिबानको आध्यात्मिक सहरमा रहेको सो मस्जिदलाई लक्षित गर्दै आफूले शुक्रबार बम विस्फोट गराएको बताएको छ। 

अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने कान्दहर सहरस्थित विवि फतेमीह मस्जिदमा शुक्रबार साँझ आत्मघाती विस्फोट भएको थियो। मस्जिदमा नमाज पढिरहेका बेला सो विस्फोट भएको थियो। सो विस्फोटमा परी ४७ को मृत्यु भएको थियो भने ७० भन्दा बढी घाइते भएका थिए। 

यसअघि गत हप्ता आइएसले कुन्दुज सहरमा त्यस्तैखाले विस्फोट गराएको थियो। जसमा ६० भन्दा बढिले ज्यान गुमाएका थिए।
०००

भारतमा भारी वर्षा, केरलाका ६ जिल्ला खतराको सूचीमा 
केरला : भारतको केरला राज्यमा शुक्रबार रातीदेखि जारी भारी वर्षाले सीमा नाघेको छ। भारी वर्षाका कारण शनिबार राज्यका विभिन्न ६ जिल्लालाई खतराको सूचीमा राखिएको छ। 

वर्षापछि केरलाको कोट्याम क्षेत्रमा गएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने कैयौँ हराइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

६ वटा जिल्लामा बाढी, पहिरो र आँधीको खतरा रहेको भन्दै त्यहाँको मौसम विभागले सबैलाई सतर्क रहन सूचना जारी गरेको छ। बाढीको जोखिम रहेका विभिन्न क्षेत्रको बाँध खोलिएको बताइएको छ। 
०००

इथियोपियालाई थप २९ मिलियन युरो दिने बेलायतको घोषणा
लण्डन : बेलायत सरसरकारले अफ्रिकी मुलुक इथियोपियालाई थप २९ मिलियन युरो दिने घोषणा गरेको छ।  मानवीय सहायताअन्र्तगत नयाँ इथियोपिया सरकारलाई थप २९ मिलियन युरो दिने गरी बेलायत सरकारले शनिबार सो घोषणा गरेको हो। 

भोकमरीबाट बच्न बेलायतले हालसम्म ७५ मिलियन युरो इथियोपियालाई उपलब्ध गराएको बेलायती विदेश सचिव लिज ट्रसले जानकारी दिएका छन्। त्यसबाहेक बेलायतले थप २९ मिलियन युरो दिने घोषणा गरेको उनले बताएका छन्। 

बेलायतका अधिकारीले इथियोपिया भ्रमणको क्रममा सो निर्णय गरेको बताइएको छ। बेलायत इथियोपियाको दोस्रो ठुलो दाता मुलुकको रुपमा गनिन्छ। 

संयुक्त राष्ट्रसंघले इथियोपियामा करिब ५९ लाख मानिस चरम भोकमरीको चपेटामा रहेको अनुमान गरेको छ। 

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.