हैटीमा १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक अपहरणमा
हैटी : हैटीमा १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक अपहरणमा परेका छन्। परिवारका सदस्य र बालबालिकासहित १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक हैटीको राजधानी पोर्टऔं प्रिन्सबाट अपहरणमा परेका हुन्। उनीहरुलाई हैटीको एक सशस्त्र समूहले अपहरण गरेको बीबीसीले जनाएको छ। 'धर्म प्रचारकहरु अनाथाश्रमबाट अन्यत्र गइरहेको बेला अपहरणमा परेका छन्,' न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै बीबीसीले भनेको छ,‘अपहरणपछि सो धर्म प्रचारक समूहलाई अपहरणकारीको सशस्त्र समूहले कब्जामा राखेको छ।’
अमेरिकी सरकारले सो घटनाको अनुसन्धान अघि बढाएको बताइएको छ। हैटीको सशस्त्र समूहले वर्षौंदेखि राजधानी पोर्ट औ प्रिन्ससहित हैटीका विभिन्न विकट जिल्लाहरु आफ्नो नियन्त्रणमा लिएका छन्। सो समूहले नियन्त्रणमा लिएका क्षेत्रहरुमा पछिल्लो समय अपहरणका घटना बढेको बताइएको छ । मानव अधिकार एवम् नागरिक समाजका अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा मात्र करिब ६ सयभन्दा बढी अपहरणका घटना दर्ता भएका थिए ।
त्यहाँ भूकम्पपछि अपहरणका घटना झनै बढेका छन् । हैटीमा गत अगष्टमा भूकम्प गएको थियो । भूकम्पका कारण २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।