चीनद्वारा पहिलो पटक परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण, अस्ट्रेलियाले संसारकै लामो लकडाउन तोड्दै

चीनद्वारा पहिलो पटक परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण, अस्ट्रेलियाले संसारकै लामो लकडाउन तोड्दै

चीनले पहिलो पटक परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको समाचार आइतबार चर्चामा रह्यो। अस्ट्रेलियाले कोभिड महामारी नियन्त्रणका लागि भन्दै गरेको संसारकै लामो मानिएको लकडाउन तोड्न लागेको समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुखताका साथ प्रकाशित भयो। यसैगरी भारतको केरलामा भारी वर्षाका कारण दुई दर्जन बढीको मृत्यु, अफगानिस्तानको मानवी संकटलगायतका बारे भारतले बैठक बोलाउने लगायतका खबर चर्चामा रहे। प्रस्तुत छ, विश्वभरका केही प्रमुख खबरहरू:


चीनद्वारा पहिलो पटक परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण 

बेइजिङ: चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै चीनले पहिलो पटक सो क्षेप्यास्त्र परीक्षण गरेको खुलाएको हो। 

सो अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको तल्लो कक्ष वरिपरी घुमेको थियो। 

चीनले अत्याधुनिक र महत्वकांक्षी मानेको सो परियोजना लक्ष्यमा नपुग्दै असफल भएको स्रोतले जनाएको छ। चीनले पहिलो पटक गरेको सो परीक्षणप्रति अमेरिकी गुप्तचर संस्था हैरान बनेको बताइएको छ। 

चीनले हाइपरसोनिक क्षेप्यास्त्रमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने कदम चालेको थियो। रुस र अमेरिकाले समेत अत्याधुनिक प्रविधि र परमाणु क्षमतावान् क्षेप्यास्त्र निर्माणमा प्रयास गरिरहेका छन्।
०००  

केरलामा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो, दर्जनौ बेपत्ता
केरला: भारतको केरला राज्यमा लगातारको भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको हो। 

भारी वर्षाका कारण कम्तिमा १३ मानिस हराइरहेको भारतको राष्ट्रिय विपद् तथा उद्धार बल (एनडीआरएफ) ले जनाएको छ। एनडीआरएफका अनुसार कोट्यम, इडुक्की र अलापुज्जा जिल्लामा भीषण वर्षापछि गएको बाढी र पहिरोमा परी हालसम्म २६ ले ज्यान गुमाएका हुन्। मृतकको हालसम्म सनाखत हुन नसकेको र मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

स्थानीय निकायसँगको सहकार्यमा भारतीय सेना, एनडीआरएफको टोली र अग्नि बलको टोलीले आइतबार बिहानैदेखि हराइरहेकाहरुको खोजी र उद्धार कार्य जारी राखेको इन्डिया टुडेमा समाचार छ। 

यता उत्तर प्रदेशको देहरादुन र अन्य क्षेत्रमा आइतबारदेखि सक्रिय भएको खराब मौसमका कारण त्यहाँका विद्यालयहरु बन्द गरिएको समेत भारतीय मिडियामा खबर छ। 
०००

अफगानिस्तानबारे भारतले आगामी महिना बैठक बोलाउने 
नयाँ दिल्ली: भारतले अफगानिस्तानको अवस्थाबारे बुझ्न आगामी महिना क्षेत्रीय बैठक बोलाउने भएको छ। भारत सरकारको आयोजनामा राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक हुने भएको हो। 

राष्ट्रिय सुरक्षा सल्लाहकारका अजित डोभालको अध्यक्षमा हुने सो बैठकमा उपस्थित हुन भारतले रुस र पाकिस्तानलाई समेत निमन्त्रणा दिएको भारतीय मिडियामा खबर छ। सो बैठकमा सहभागी हुन भारतले चीन, इरान, ताजकिस्तान र उज्वेकिस्तानलाई समेत निमन्त्रण गरेको बताइएको छ। 

सो बैठकमा अफगानिस्तानको सुरक्षा मुद्धा र मानवीय संकट सम्बन्धमा छलफल हुनेछ। सो बैठक आगामी नोभेम्बर १० र ११ मा राख्न प्रस्ताव गरिएको बताइएको छ।
००० 

अस्ट्रेलियाले संसारकै लामो लकडाउन तोड्दै
मेलबर्न: अस्ट्रेलियाले मेलबर्नमा लागेको संसारकै लामो लकडाउन तोड्ने घोषणा गरेको छ। सरकारले आइतबार यसै हप्तादेखि लागु हुने गरी मेलबर्नको लकडाउन तोड्ने घोषणा गरेको हो। 

भिक्टोरिया राज्यका डेनियल एन्ड्रियुले आइतबार लकडाउनको अन्त्य गर्ने घोषणा सुनाउँदै भनेका छन्, ‘भिक्टोरिया राज्यमा पूर्ण मात्रामा कोरोनाविरुद्धको खोप लगाउनेहरु ७० प्रतिशत पुगेसँगै मेलबर्नको लकडाउन अन्त्य घोषणा गरिएको छ। आगामी बिहीबारदेखि लकडाउन र प्रतिबन्ध हुने छैन। सबै नागरिकले स्वतन्त्र रुपमा घरबाहिर निस्कन पाउनेछन्।’ 

भिक्टोरियाको राजधानी मेलबर्नमा सन् २०२० मार्चदेखि लकडाउन सुरु भएको थियो। कोभिड महामारी नियन्त्रण र व्यवस्थापनको नाममा लागेको मेलबर्नको सो लकडाउन संसारकै लामो लकडाउनमा गनिन्छ।  सन् २०२० मार्चयता मेलबर्नमा ६ पटक गरी करिब २६२ दिनसम्म कडा लकडाउन गरिएको थियो। 

अस्ट्रेलियाले कोभिडविरुद्ध लड्न कोभिड जेरो अभियानसमेत अघि सारेको थियो। लकडाउनपछि अस्ट्रेलियाको अर्थतन्त्रमा निकै गिरावट आएको बताइएको छ। नागरिकहरुले मेलबर्नको लकडाउनविरुद्ध विभिन्न आन्दोलन समेत गर्दै आएका थिए।
००० 

आसियानको बहिष्कारपछि म्यानमार सेना रुष्ट 
बर्मा: दक्षिण–पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानले म्यानमारको सैन्य नेतृत्वलाई आगामी सम्मेलनबाट बहिष्कार गर्ने निर्णयपछि म्यानमार सेना रुष्ट बनेको छ। आसियानले शनिबार गरेको निर्णयको प्रतिक्रया दिँदै सेनाले आफू रुष्ट बनेको बताएको छ। 

म्यानमार सेनाको नियन्त्रणमा रहेको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै भनेको छ, ‘आसियानको निर्णयले हामी ‘अत्यन्तै रुष्ट र निराश’ बनेका छौँ। आसियानको सिद्धान्त र उदेश्य विपरीत शीर्ष नेताहरुले सदस्य राष्ट्र म्यानमारलाई नै निम्तो नदिई उल्टै सम्मेलनबाट हामीलाई बहिष्कार गरेकोमा हाम्रो कडा आपत्ति छ।’

शनिबार बसेको आसियानकोे आपत्कालिन बैठकले म्यानमारका सेना प्रमुख मिन आङ लेइङले म्यानमारमा सैन्य ‘कू’को नेतृत्व गरेको भन्दै आगामी शिखर सम्मेलनमा निम्तो नदिने निर्णय गरेको थियो। आसियानमा म्यानमारसहित १० सदस्यीय मुलुकहरु छन्। शनिबार आसियानका शीर्ष नेताले म्यानमार सेनालाई सम्मेनलमा निम्तो नदिनेमा सहमति जनाएका थिए।   

आसियानको शिखर सम्मेलन यही अक्टोबर २६ देखि २८ सम्म आयोजना गरिएको छ। सो सम्मेलन गैर राजनैतिक तवरबाट सञ्चालन हुने बताइएको छ।
०००

अन्तरिक्षमा फिल्म छायांकनपछि रुसी टोली पृथ्वीमा फर्कियो 
मस्को: अन्तरिक्षमा पहिलो पटक  फिल्म छायांकनको लागि गएको रुसी क्रु टोलीले पृथ्वीमा अवरतण गरेको छ। रुसकी अभिनेत्री र फिल्म निर्देशकसहित तीन जनाको टोलीले आइतबार पृथ्वीमा सफलतापूर्ण अवतरण गरेको हो। 

करिब १२ दिनको फिल्म छायांकन यात्रापछि सो टोलीले पृथ्वीमा अवतरण गरेको रुसको स्पेस एजेन्सी आइएसएसले जनाएको छ। 

सो टोलीले १२ दिनसम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा फिल्म छायांकन गरेको थियो। अन्तरिक्ष (पृथ्वीको कक्ष) मा छायांकन गर्ने सो फिल्म संसारकै पहिलो फिल्म हो। फिल्मको नाम र बजेट भने हाललाई नखुलाउने बताइएको छ।

सो टोलीले टेस्ला कम्पनीका मालिक एलन मस्कको स्पेस एक्सले बनाएको रकेटमार्फत अन्तरिक्ष उडान भरेको थियो।
००० 

कान्दहर मस्जिदमा मारिएकाहरुको सामूहिक अन्त्येष्टि
कान्दहर: अफगानिस्तानको दक्षिणी सहर कान्दहरस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि गरिएको छ। मृतकका आफन्तहरुको सक्रिय भूमिकामा उनीहरुको कान्दहरको चिहानमा सामूहिक अन्त्येष्टि गरिएको हो। 

मृतकका आफन्तहरुले आफ्नो परम्परागत मान्यताअनुसार उनीहरुको शवलाई जमिनमुनि गाडेका हुन्। सबै मृतकका आफन्तहरु सामूहिक अन्त्येष्टिमा ठूलो संख्यामा उपस्थित भएको अलजजिरामा खबर छ। 

सिया समुदायले सामूहिक अन्त्येष्टि गर्दै तालिबान सरकारलाई आफूहरुको रक्षा गर्न आग्रह गरेको बताइएको छ। 

तालिबान विरोधी इस्लामिक स्टेट समूह आइएसले तालिबानको आध्यात्मिक सहरमा रहेको फतेमीह मस्जिदमा शुक्रबार साझ बम विस्फोट गराएको थियो। सरकारले विस्फोटमा ४७ मानिसको मृत्यु भएको बताएपनि अल्पसंख्यक मुस्लिम समुदाय सियाले मृतकको संख्या ६३ पुगेको बताएको छ। 
०००

फ्रान्समा ६० औँ स्मृति दिवसमा प्रधानमन्त्री म्याक्रानले गरे १९६१ को नरसंहारको निन्दा
पेरिस: फ्रान्सले आइतबार सन् १९६१ मा भएको नरसंहारको ६० औं स्मृति दिवस मनाएको छ। सो समारोहमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सन् १९६१ को नरसंहारको निन्दा गरेका छन्। 

आइतबार ६०औं स्मृति समारोह पेरिसमा आयोजना गरिएको थियो। 

सन् १९९६ अक्टोबर १७ मा अल्जेरियाले स्वतन्त्र मुलुकको लागि आन्दोलन गरेको थियो। नागरिक र प्रहरीबीच भएको आन्दोलनमा १२० आन्दोलनकर्मी मारिएका थिए। उनीहरुको लाश सेइन नदीमा यत्रतत्र फ्याँकिएको थियो। सो घटनापश्चात करिब १२ हजारभन्दा बढी अल्जेरियन नागरिक पक्राउ परेका थिए। 
०००

अफगानिस्तानका पूर्व प्रधानमन्त्री अहमदको निधन 
काबुल: अफगानिस्तानका पूर्व प्रधानमन्त्री अहमद शाह अहमदजईको ७८ वर्षको उमेरमा निधन भएको छ। सन् १९९५ देखि १९९६ सम्म देशका प्रधानमन्त्री बनेका उनको ७८ वर्षको उमेरमा निधन भएको हो। 

पजवोक अफगान न्यूजले आइतबार दिएको जानकारी अनुसार उनको काबुलमा निधन भएको हो। 

पूर्व प्रधानमन्त्री अहमद तालिबानले अफगानिस्तान कब्जामा लिनुअघि सन् १९९५ मा अफगानिस्तानको प्रधानमन्त्री बनेका थिए। उनले सन् १९९२ देखि १९९४ को समयावधिमा अफगानिस्तान सरकारका विभिन्न प्रमुख पद सम्हालेका थिए। तालिबानले अफगानिस्तान कब्जामा लिएपछि देश छोडेका उनी  भारतमा बस्दै आएका थिए। 

पूर्व प्रधानमन्त्री अहमद यसै महिना अफगानिस्तान फर्किएका थिए। 

-संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.