जसले मैदान बाहिर पनि जिते

जसले मैदान बाहिर पनि जिते

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलको २८ वर्षको इतिहासमा नेपाल पहिलो पटक उपाधि नजिक पुगेको थियो। शनिबार राति भएको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३–० गोलले पराजित भए पनि फाइनल पुगेर नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्‍यो। यसअघिका संस्करणमा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको नेपालको ऐतिहासिक सफलताका सारथि थिए, अब्दुल्लाह अलमुताइरी। माल्दिभ्सले आयोजना गरेको १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालको ऐतिहासिक सफलता र खेलाडीहरूको प्रदर्शनभन्दा पनि प्रशिक्षक अलमुताइरीका कारण चर्चामा रह्यो। 

भारतसँगको राउन्ड रोबिन लिग अघि दिएको अभिव्यक्ति, विजया दशमीका दिन टोलीका सदस्यहरूसँग लगाएको टीका र फरक दुई खेलमा पहेंलो कार्ड पाउँदा पनि फाइनल खेलमा प्रतिबन्धमा परेपछि साफको निष्पक्षताका बारेमा दिएको अभिव्यक्तिका कारण अलमुताइरी नेपाली फुटबल समर्थकमाझ चर्चामा रहिरहे। यसैगरी प्रिम्याच र पोस्ट् म्याच कन्फरेन्समा उनको बोल्ने शैली, टोलीले गोल गरेपछि र जितेपछि खुसीयाली मनाउने शैली, प्लेयर बक्समा बस्दा देखाउने हाउभाउले उनी अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा रहे। 

ए डिभिजन क्लब थ्रीस्टारका पूर्वप्रशिक्षक मेघराज केसी यस पटकको साफमा सिनियर खेलाडीहरूको प्रदर्शनभन्दा पनि अलमुताइरीको चर्चा बढी नै भएको बताउँछन्। ‘पक्कै पनि यस पटक प्रशिक्षक अलमुताइरी चर्चामा रहेकै हुन्। साफअघि विभिन्न विवादमा आएका कारण पनि उनी नेपाली समर्थकमाझ चर्चामा आएका हुन्’, प्रशिक्षक केसीले भन्छन्, ‘माल्दिभ्समा चाहिँ प्रिम्याच र पोस्ट् म्याच कन्फरेन्समा बोल्ने शैली, व्यवहार र प्लेयर बक्समा देखाउने हाउभाउका कारण उनले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा कमाए।’ 

हरेक प्रिम्याच र पोस्ट् म्याचमा अलमुताइरीले आफ्ना कुरा निर्धक्कका साथ भन्थे। उनी टोलीको रणनीतिभन्दा पनि आफ्ना खेलाडीको बखान गर्थे। उनीहरूप्रति विश्वास जनाउँथे। खेलाडीको ‘मोटिभेट’ गर्थे। खेलाडीलाई एकतामा पनि बाँध्न अलमुताइरी सफल भए। उनले नारा पनि बनाएका थिए, ‘वान टिम, जय नेपाल’। अझ महŒवपूर्ण कुरा उनले सामाजिक सञ्जालको महŒव बुझेका थिए। त्यही कारण आफ्ना कुराहरू फ्यानसम्म पुर्‍याउन सफल भए। 

नेपालमा अहिलेसम्म आएका करिब डेढ दर्जन प्रशिक्षकमध्ये अलमुताइरी सबैभन्दा बढी चर्चामा आएको फुटबल विश्लेषक सञ्जीव मिश्रले बताए। ‘अहिलेसम्म आएका प्रशिक्षकमध्ये सबैभन्दा बढी चर्चा कमाउने प्रशिक्षक अलमुताइरी नै हुन्। आफ्नो कामलाई फ्यानसम्म पुर्‍याउन र खेलाडीलाई उत्प्रेरित गर्न र एक सूत्रमा बाँध्न सफल भए’, फुटबल विश्लेषक मिश्र भन्छन्, ‘आफ्ना कुरा निर्धक्कसँग भन्ने शैलीका कारण पनि उनले चर्चा कमाए।’

अलमुताइरीलाई अर्को विषयले पनि चर्चामा ल्यायो, दसैंको टीकाले। विजया दशमीका दिन उनले नेपाली टोलीका सदस्यसँगै दसैंको टीका लगाएका थिए। ढाका टोपीमा सजिएर निधारमा लगाएको रातो टीका र कानमा जमरा सिउरिएको उनको तस्बिर निकै भाइरल बनेको थियो। मुस्लिम नागरिक अलमुताइरीले नेपालको चाडबाड र संस्कृतिप्रति देखाएको सौहाद्र्रपूर्ण सद्भावले पनि उनले नेपालीमाझ चर्चा कमाए। ‘नेपाली टोलीका सबै सदस्यले विजया दशमीका दिन टीका लगाएपछि अलमुताइरीले पनि लगाए। सबैसँग खुसीयाली बाँडे। विदेशी भएर पनि नेपाली संस्कृति मनाए भनेर नेपालीको सहानुभूति पनि पाए’, प्रशिक्षक केसीले भने। 

यसैगरी उनले चर्चा पाउनुको अर्को कारण हो, फाइनल खेलमा उनीमाथि साफको प्रतिबन्ध। दुई फरक खेलमा पहेंलो कार्ड पाउँदा पनि फाइनलमा प्रतिबन्ध गरेपछि अलमुताइरीले आक्रोस पोखे। भारतलाई खुसी पार्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आफ्नै नियम मिचेर आफूमाथि प्रतिबन्ध लगाएको भन्दै उनले कडा अभिव्यक्ति दिएका थिए। 

‘साफले आफ्नो नियम मान्नुपर्छ। साफले एकपक्षीय निर्णय गरेको छ। किन मेरा लागि आफ्नै नियमको सम्मान गरेन’, उनले भनेका थिए, ‘खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन। साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो। भारतका प्रशिक्षकले रातो कार्ड पाए भनेर मलाई कारबाही गर्नु उचित भएन।’ साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने उनले बताएका थिए। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो।’

उनले साफको विरोध गर्दै घुमाउँरो पारामा भारतको विरोध गरेका थिए। साफ भारतको इसारामा चलेको आरोप लगाएका थिए। उनको कुरामा नेपाली समर्थकले समर्थन जनाए। उनी सामाजिक सञ्जालमा एकाएक भाइरल बने। साफ च्याम्पियनसिपमा भारतसँगको राउन्ड रोबिन लिगको खेलअघि भने अलमुताइरी भारतकै विषयलाई लिएर विवादमा आएका थिए। भारतलाई हराउन कठिन रहेको बताउँदै उक्त खेलमा भारतले ९५ प्रतिशत खेल जित्ने दाबी गरेका थिए। 

‘मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ। ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ’ उनले भारतविरुद्धको खेलअघि प्रिम्याच कन्फरेन्समा भनेका थिए। त्यसपछि केही नेपाली सञ्चार माध्यमले उनले म्याच फिक्सिङ (खेल मिलोमतो) गरेको आरोप पनि लगाएका थिए। नेपाल र भारतबीचको खेलको तुलना गर्दै बोलेका विषयलाई लिएर नेपाली सञ्चार माध्यमले म्याच फिक्सिङको आरोप लगाएपछि उनले फाइनलपछि पद त्याग्ने घोषणा गर्दै कहिल्यै नेपाल नफर्किने बताएका थिए। 

साफ च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पारेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किंदैछ। अलमुताइरी भने नेपाली टोलीसँग नेपाल नआउने भएका छन्। उनी माल्दिभ्सबाटै कुवेत जाने छन्। उनले मुख्य प्रशिक्षकबाट राजीनामा दिने/नदिने केही नखुलाइए पनि परिवारसँग केही समय बिताएर नेपाल फर्किने एन्फा स्रोतले जनाएको छ।

 अलमुताइरीले नेपाली समर्थकहरूलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन्। ‘सबै नेपाली समर्थकका लागि मेरो विशेष आग्रह छ। जब राष्ट्रिय टोली नेपाल फर्कन्छ। सबै जना विमानस्थल पुगेर सम्मान गरिदिनु होला’, भारतसँगको फाइनलपछि उनले भनेका थिए, ‘यही स्तरमा निरन्तर खेलिरहन खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ।’

एक महिना लामो समयपछि नेपाली टोली स्वदेश फर्कन लागेको हो। साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो। कतारमा तयारी गरेपछि साफ च्याम्पियनसिपका लागि असोज ११ गते माल्दिभ्स पुगेको थियो। कतारमा नेपालले दुई वटा मैत्रीपूर्ण खेलसमेत खेलेको थियो। कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुआत गरेको थियो। पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हराएको थियो। तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो। 

अलमुताइरीले गत साउन १० गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिन लागेको घोषणा गरेका थिए। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण राजीनामा दिन बाध्य भएको बताएका थिए। त्यसपछि विवादले उग्र रूप लिएपछि राष्ट्रिय खेलकुद परिषद्ले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले विवादको मूल जड सामाजिक सञ्जालको अत्यधिक प्रयोग, आपसी सम्बन्ध विस्तार हुन नसक्नु, आचारसंहिता पूर्ण रूपमा प्रयोग नगर्नु, खेल क्षेत्रमा धूमपान र मद्यपानलगायतका क्रियाकलापलाई निरुत्साहन गर्न नसक्नुलगायत विषय औंल्याउँदै अलमुताइरीलाई सचेत गराउनुपर्ने सुझाव दिएको थियो। 

प्रतिवेदन सार्वजनिक भएपछि अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा संक्षिप्त स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका थिए। ‘म बाहिरिएँ। राजनीतिले काम गरोस्’, भन्ने स्टाटस लेख्दै राष्ट्रिय टोली छाड्ने संकेत पनि गरेका थिए। तर, पछि त्यो विषय त्यक्तिकै साम्य भएको थियो। यही विवादपछि अलमुताइरी भने चर्चाको शिखरमा पुगे। पछिल्लो समय उनले पाएको चर्चामा त्यो विवाद कारक नभएको फुटबल विश्लेषक मिश्र बताउँछन्। ‘अलमुताइरीले चर्चा पाउनुका पछाडि विभिन्न कारणहरू छन्। त्यस बेलाका विवादकै कारण उनले अहिले यति धेरै चर्चा बटुलेका होइनन्’, फुटबल विश्लेषक मिश्र भन्छन्।

कुवेतका फुटबल म्यानेजर अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए। प्रो–लाइसेन्स प्राप्त अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.