सामुदायिक विद्यालयमा आकर्षण
काभ्रे : पनौती–८ स्थित भालेश्वर मावि कुनै बेला विद्यार्थी कम भएर बन्दै हुने अवस्थामा पुगेको थियो। उक्त विद्यालयमा अहिले निश्चित विद्यार्थी मात्रै भर्ना हुन पाउँछन्। जिल्लाकै नमुना विद्यालयका रूपमा चिनिन थालेको छ।
शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सरकारको सक्रियताका कारण विद्यार्थीको संख्या ह्वात्तै बढेको प्रधानाध्यापक रामचन्द्र थापाले बताए। ‘कतिपय निजी विद्यालयले समेत अनलाइन कक्षा सञ्चालन गर्न नसकेको अवस्थामा हामीले अनलाइन कक्षा सञ्चालनमा ल्यायौं। त्यहीँबाटै कक्षाकार्य र गृहकार्यको चेकजाँच र परीक्षा लिने व्यवस्था मिलायौं। त्यसपछि निजी विद्यालयसमेत छाडेर विद्यार्थी आए।’
संख्या बढेसँगै गुणस्तर पनि सुधार भइरहेको छ। ‘अहिले ७ सय ७७ जना विद्यार्थी अध्ययनरत छन्। यो वर्ष सयभन्दा बढी विद्यार्थी थेग्न नसकेर फर्काउनुपर्यो,’ प्रअ थापाले भने, ‘अघिल्लो वर्षमा भन्दा १ सय ५० जना बढी भर्ना लियौं।’
पनौतीका अन्य सामुदायिक विद्यालयमा पनि विद्यार्थीको संख्या बढेको छ। श्वेतगणेश आधारभूत विद्यालयमा यो शैक्षिक सत्रमा ७० जना नयाँ विद्यार्थी भर्ना भए। आकर्षक विद्यालय भवन, अनुभवी शिक्षक, दिवा खाजा अनि गुणस्तरीय शिक्षा प्रदान गरेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो।