ओझेलमा पाणिनी तपोभूमि
सन्धिखर्क : अर्घाखाँचीको पाणिनी तपोभूमिले हाम्रो सभ्यतालाई अमूल्य उपहार दिएको छ। विश्वकै सबैभन्दा पुरानो भाषा संस्कृतको व्याकरण यसै स्थानबाट उत्पत्ति भएको मानिन्छ।
हजारौ वर्ष पहिले पाकिस्तानको लाहोरबाट पाणिनी ऋषिले तपस्या गर्न अर्घाखाँचीको खिदिमस्थित पणेनामा बसेर तपस्या गरे। उनले त्यहीँबाट संस्कृत व्याकरणको रचना गरेका थिए। पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो। यहीँबाट सस्कृत भाषाको उत्पत्ति भएको पाणिनि तपोभुमिका पन्डित थानेश्वर पौडेलको भनाई छ। उनका अनुसार यहाँ आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान शिव प्रशन्न भएर डमरु बजाउँदै अईउण्, रिलृक, एओलगायत चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना भएको भन्ने धार्मिक मान्यता छ।
पाकिस्तानमा जन्मिएका पाणिनीले उनले विश्वकै सर्वोत्कृष्ट व्याकरण ‘अष्टाध्यायी’ लेखे। पाणिनीको रचना अष्टध्यायी शास्त्रीय संस्कृत व्याकरणको सबैभन्दा पुरानो कृति हो। संस्कृतको उदय वैदिक संस्कृतको रूपमा ईसापूर्व १७००–२१०० ताका सुरु भएको थियो। पाणिनीको अष्टध्यायीलगायत संस्कृत भाषाको व्याकरणका नियम र परिभाषाका आधारभूत संकलनहरूले आधुनिक भाषाविज्ञानमा धेरै प्रभाव पारेको कुरा जर्मनीका प्रख्यात भाषाविद् फ्रान्ज बपले पत्ता लगाए। त्यसपछि यूरोपमा उनले संस्कृतमा गरेको योगदानबारे पश्चिममा महत्वका साथ हेर्न थालियो।
संस्कृत भाषाका पिता पनि भन्ने गरिएका पाणिनीको सम्मानमा नेपालले हुलाक टिकट समेत जारी गरेको छ।
संस्कृत व्याकरणका रचयिता पाणिनीको जीवनीका बारेमा लिखित अभिलेख नभए पनि उनी ईसापूर्व चौथोदेखि छैठौं शताब्दीसम्म सिन्धु नदी छेउको सलतुला भन्ने ठाउँ (हाल पाकिस्तान)मा जन्मिएको इतिहासकारहरूले लेखेका छन्। लुम्बिनीको अशोक स्तम्भमा आधारित शिलालेख पत्ता लगाएका र बुद्धको ऐतिहासिक जन्मस्थल प्रमाणित गर्न महत्वपूर्ण भूमिका खेलेका सातौं शताब्दीका प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु हुआन साङले पनि पाणिनीको जन्मस्थल सलतुलाका सन्दर्भहरू उल्लेख गरका छन्।
पाणिनी ऋषिले पणेनामा तपस्या गरेर निस्किएका चौध सुत्रलाई महेश्वर सुत्राणी भनिन्छ। तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण भएको भन्ने संस्कृतका विज्ञहरू बताउँछन्। पाणिनीका चौध सुत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने कृयाकलापमा पाणिनीपछि कात्यानी र पतञ्जली समेत लागि परेको देखिन्छ।
प्राचीन समयमा नेपाल, बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तानलगायत दक्षिण एसियाली क्षेत्रको बोलचालमा संस्कृत भाषाको प्रयोग हुन्थ्यो। दक्षिण एसियाली भाषामा नेपाली, उर्दू, कास्मिरी, उडिया, बाङ्ला, मराठी, सिन्धी, पञ्जाबी आदि संस्कृतबाट उत्पन्न भएको भाषाशास्त्रीहरूले उल्लेख गरेका छन्। विश्वको इतिहासमै पाणिनीले रचेको संस्कृत व्याकरणलाई संसारकै पहिलो ब्यवस्थित भाषा–प्रणाली मानिन्छ।
अर्घाखाँचीको पूर्वमा रहेको पाणिनी गाँउपालिका–१ पणेनामा यो तपोभूमि रहेको छ। यस तपोभूमिवाट उत्तरतर्फ हिमालयका हिमश्रृंखला तथा दक्षिणतर्फ तराईका फाँटहरू छर्लङ्ग देख्न सकिन्छ। अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यो क्षेत्रमा पुग्न सकिन्छ। यहाँको प्रचार प्रसार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपाललाई चिनाउन मद्दत पुग्छ। यो क्षेत्रमा पाणिनी ऋषिले तपस्या गरेको र संस्कृत व्याकरणको उत्पत्ति भएको भन्ने प्रमाणहरू भेटिएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए। यस क्षेत्रको विकासका लागि आफुहरू सक्रिय भएर लागि परेको अध्यक्ष गौतमको भनाई छ।
पाणिनी गाँउपालिकाको नाम पनि यही तपोभूमीको नामबाट रहन गएको हो। यस क्षेत्रको प्रचार–प्रसार गर्न सके अर्घाखाँचीलगायत देशकै नाम संसारभर पुर्याउन सहयोग पुग्ने स्थानीय नायारण पोख्रेलले बताए। हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ। यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा रहेको स्थानीय दिनेश भारद्वाजले बताए।
विश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भएपनि यसको प्रचार–प्रसार नहुँदा ओझेलमा परेको स्थानीय पुस्करराज पोख्रेलले बताए। यहाँको प्रचार प्रसारका लागि विश्व भासासँग सम्बन्धित सबै लाग्नुपर्ने उनको भनाई छ।
विश्वकै एउटा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पाणिनीको महत्वका बारेमा व्यापक प्रचार–प्रसारको खाँचो रहेको देखिन्छ।