बसुधैव कुटुम्बकममा ‘इम्याजिन’
‘इम्याजिन’ले त्यो समय सबैका लागि सम्पूर्ण पृथ्वी एउटै परिवार हो भनेर पूर्वीय दर्शनले उसैबेला विश्वबन्धुत्वको सन्देश दिएको थियो।
पाश्चात्य गीतसंगीतको क्षेत्रमा सन् १९६० मा उदाएको बेलायती सांगीतिक समूह ‘द बिटल्स’ले संगीतको क्षेत्रमा नयाँ इतिहास रच्यो। बिटल्सको उदयसँगै संगीतको क्षेत्रमा पनि ‘पप कल्चर’ अर्थात् लोकप्रियताको संस्कृतिले औपचारिक प्रवेश गर्यो। पपुलर कल्चरको छोटकरी रूप पप कल्चर कुनै निश्चित समय अवधिमा आम मानिसको मन जित्न सफल मान्यताहरूमा आधारित प्रचलनलाई आफ्नो सांगीतिक प्रतिभाको लोकप्रियतामार्फत बिटल्सको समूहले सन् ६० को दशकभर आफ्नो वर्चस्व कायम गरिरह्यो। समाजमा बहुसंख्यकहरूको आकर्षणमा आधारित पप कल्चरलाई प्रविधिको विकाससँगै फड्को मारिरहेको आमसञ्चारले थप प्रभावशाली बनाउन मद्दत गर्यो।
मनोरञ्जनको क्षेत्रमा संगीतबाहेक चलचित्र, पहिरन (फेसन), खेलकुद, प्रविधि हुँदै राजनीतिसम्म पप कल्चरको प्रभाव पर्यो। उकालो लाग्दै जानुमा भने विकसित समाजमा टेलिभिजनको महत्त्वपूर्ण भूमिका थियो। आमसमुदायको आकर्षण र मनोविज्ञानलाई कुशलतापूर्वक पञ्जीकृत गरेको थियो। सोको बजारीकरण गर्न सक्षम पप कल्चरले सीमित र उच्च सम्भ्रान्त वर्गको सेवा मात्रै गर्ने कतिपय लोकप्रियताको संस्कृतिका आलोचकहरूको ठम्याइँ छ। यसका बाबजुद पनि ६० को यो दशक अनेक रूपमा आजका दिनसम्म आफ्नो प्रभाव कायम राख्न सफल छ। बेलायतका ठूला सहरमध्ये एक लिभरपुलमा भर्खरैका ठिटाले सुरु गरेको यो सांगीतिक समूहले ६० र ७० को दशकमा युरोप, अमेरिका हुँदै जापान र कोरियासम्मका युवामा गहिरो प्रभाव पारे। १८औं शताब्दीमा औद्योगिक क्रान्ति सुरु गरेको ऐतिहासिक ठाउँमध्येको लिभरपुल बेलायतमा उद्योगहरू, मजदुर वर्ग र केही मध्यमवर्गीय परिवारहरूको बाहुल्य भएको क्षेत्र मानिन्थ्यो। यही पृष्ठभूमिमा बिटल्सको उदय भएको थियो। जसलाई कतिपय विश्लेषकहरूले उपनिवेशको लामो इतिहास भएको बेलायतको नयाँ ‘सास्ंकृतिक अतिक्रमण’को संज्ञा दिएका थिए।
हिजोआज फुटबलको विश्वव्यापी क्रेजमा गर्वका साथ आफ्नो नाम दर्ज गराउन सफल लिभरपुलमा जन्मिएको बिटल्सको संगीत मूलतः रक एन्ड रोलमा आधारित थियो। जसको जरा अमेरिकाका अश्वेतहरूको ब्लुज र चर्चका समारोहहरूमा बजाइने प्रवचन संगीतसित थियो। अश्वेत समुदायले अमेरिकाबाट सुरु गरेको रक एन्ड रोल संगीतमा सहरिया युवामाझ पप संगीतको सम्मिश्रण र काव्यात्मक शब्द रचनाहरूले विश्वव्यापी प्रख्यात बनायो। ६० र ७० को दशकले ल्याएको रेडियो र टेलिभिजनको सञ्चारको नयाँ प्रविधिले भूमिका त भइहाल्यो। सबै खाले संगीतहरूको अहिलेसम्म गरिएका सर्वेक्षणहरूका आधारमा बिटल्सलाई सर्वाधिक लोकप्रिय र प्रभावशाली सांगीतिक समूह सबैभन्दा माथि छ। यी तथ्यहरूका आधारहरूमा पनि बिटल्सको ऐतिहासिक स्थान अनुमान लगाउन सकिन्छ। जुन समयमा बिटल्सले आफ्नो संगीतका माध्यमले प्रभाव विस्तार गर्दै थिए। ठीक त्यही समयमा हिप्पीहरूले अमेरिका र युरोपका देशहरूमा पश्चिमी मूल्य र मान्यताहरूमा आधारित पारम्परिक संस्कृतिलाई चुनौती दिँदै थिए।
दोस्रो विश्व युद्धको अन्त्यपछि औद्योगिक पुँजीवादले गाँजेको पश्चिमी समाजको भौतिकवादी–उपभोक्तावादी संस्कृतिसित बिमति राख्दै सुरु भएको हिप्पी आन्दोलन मूलतः राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलन थियो। हिप्पी आन्दोलनले उठाएका मुद्दाहरूले विस्तारै पश्चिमी समाजमा प्रभाव पार्दै भियतनाम युद्धमा होमिएको अमेरिका र भौतिकवादी युरोपेली चेतनामा विश्वबन्धुत्व, पर्यावरण संरक्षण, समान नागरिक अधिकार, व्यक्तिगत स्वतन्त्रता, विश्व शान्तिको नयाँ जागरणले लोकप्रियताको शिखर चुम्दैछ। सोही पृष्ठभूमिमा त्यो बेलाको सर्वाधिक लोकप्रिय सांगीतिक समूह बिटल्सको पनि ध्यान आकृष्ट गर्यो। जसरी आमसञ्चार र टेलिभिजनको सर्वव्यापकताले लोकप्रियताको संस्कृति ‘पप कल्चर’लाई शक्तिशाली बनाउन मद्दत गर्यो। ठीक त्यसरी नै क्याम्पसहरूमा भेटिने ससाना समूहका भियतनाम युद्ध विरोधी समूहहरूलाई संगठित गर्न र विश्व शान्तिमा विश्वास गर्ने हिप्पीहरूलाई सञ्चारको नयाँ प्रविधिहरूले घरघर पुर्यायो।
भियतनाम युद्ध पनि शक्ति राष्ट्रहरूले प्रभुत्व विस्तार गर्न कमजोर मुलुकहरूमा वर्चस्व कायम राख्न रचिएकोमा हिप्पीहरू स्पष्ट थिए। शक्तिशाली राष्ट्रहरूले सुरु गरेका अन्य धेरै युद्ध जस्तै भियतनाम युद्ध पनि अनैतिक थियो। लाखौंं निर्दोष मानिसले जीवन गुमाइरहेको यथार्थ छ। यसलाई हिप्पीहरूको युद्धविरोधी आन्दोलनहरूले उजागर गरिरहेको थियो। भियतनाम युद्धविरोधी जनमत तयार भइरहेको र हिप्पीहरूको ‘विश्व शान्ति’को आह्वानले पनि लोकप्रियता कमाइरहेको बखत बिटल्सले ‘गिभ पिस अ चान्स’ र ‘रिभोलुसन’जस्ता लोकप्रिय गीतहरूमार्फत संगीतको माध्यमद्वारा आधिकारिक धारणा सार्वजनिक गर्यो। आफूलाई युद्धविरोधी कित्तामा उभ्यायो। बिटल्सको विश्व शान्तिको चाहनाका संगीतहरूले युरोप, अमेरिकालगायत क्याम्पसहरूका युवालाई विश्व–बन्धुत्वको नयाँ शान्तिपूर्ण क्रान्तिले प्रभाव पार्न थाल्यो। रक एन्ड रोल र पप कल्चरको सम्मिश्रणले जन्मिएको र संसारभरका करोडौं मानिसको मन जित्न बिटल्स सफल भयो। जो कुनै समय विश्वशान्तिको पर्यायवाची शब्द जस्तै भएको सन्दर्भहरू ६० र ७० को दशकका धेरै अभिलेखमा पाइन्छन्।
लोकप्रियताको चरम उत्कर्षमा पुगेको बिटल्स हिप्पी आन्दोलनसित आफ्नो सैद्धान्तिक निकटतासँगै विश्वबन्धुत्व र शान्तिलाई ध्यान र योगका माध्यमले पश्चिममा प्रशिक्षित गरिरहे। त्यसमा भारतीय गुरु महर्षि महेश योगीसँग बिटल्सका सदस्यहरूको बेलायतमा भएको भेटले संसारको सबैभन्दा लोकप्रिय पश्चिमी संगीतका इतिहास रचयिताहरूले पूर्वीय दर्शनमा नयाँ आश्रय भेटाए। फ्रन्ट म्यान जोन लेननबाहेक बिटल्स समूहमा पल म्याकार्टनी, जर्ज हेरिसन र रिंगो स्टार चार जनाको समूहमध्ये पूर्वीय दर्शन राम्रोसँग बुझेका जर्ज हेरिसन थिए। खासगरी हिन्दु र बौद्ध परम्परामा आधारित ध्यान र योगमा विशेष रुचि राख्ने जर्ज हेरिसनले स्वामी विवेकानन्द र परमहंस योगानन्दको पुस्तक र सामग्रीहरूबाट प्रभावित थिए। र, प्रसिद्ध भारतीय सितारवादक रविशंकरसित सितार पनि सिकेका थिए। रोचक कुरा के छ भने जुन बेला बिटल्सका सदस्यहरू लागूपदार्थको सेवन गर्थे। बिटल्सका हार्डफ्यानहरूले पनि लागूपदार्थको सेवन गर्न थालेका थिए। अनि जतिबेला बिटल्सले पूर्वीय दर्शनमा झुकाव देखाउन थाल्यो।
संसारभरका बिटल्स प्रशंसकहरूले ध्यान र योग पछ्याउन थालेका थिए। समय सधैंंभरि एकनास रहन्न भनेझैं बिटल्सका लागि पनि एकै रहेन। लामो सहयात्रापछि चारै जना ‘बिटल्स’ आआफ्नै बाटो लागे। बिटल्स समूह फुटेपश्चात् फ्रन्ट म्यान जन लेननले सांगीतिक सक्रियतालाई कायम राख्दै जापानिज श्रीमती र शान्ति अभियन्ता योको ओनोसित मिलेर नयाँ गीतहरू रचना गर्ने र संगीत सिर्जना गर्ने कामलाई निरन्तरता दिए। सानैदेखि विद्रोही स्वभावका जोन लेननमा हिन्दु ग्रन्थ ‘भागवत गीता’ र जीवन, मृत्यु र पुनर्जन्ममा आधारित पश्चिमामाझ लोकप्रिय बौद्ध दर्शनसम्बन्धी पुस्तक ‘टिबेटन बुक अफ द डेड’को गहिरो प्रभाव थियो। भियतनाम युद्धप्रति बिमतिले राजनीतिक–सामाजिक वृत्तमा आफ्नो बढ्दो प्रभाव र पूर्वीय दर्शनप्रतिको आकर्षणले पश्चिमा युवा पुस्ताहरूमा पूर्वीय आध्यात्मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायो।
बिटल्स एउटा महत्त्वपूर्ण सांस्कृतिक शक्ति त छँदै थियो। जोन लेननले बिटल्सको विघटनपछि लेखेको र संगीत दिएको गीत ‘इम्याजिन’ले बिटल्सको विगतलाई नै एक किसिमले छायाँमा पारिदियो। ६० को दशकले निम्त्याएको युद्ध, शक्ति राष्ट्रहरूको द्वन्द्व, चरम उपभोक्तावादले जन्माएको भौतिकवादी जीवनशैली र असमानता, हत्या–हिंसाका शृंखला, भविष्यप्रतिको नैराश्यपन, धार्मिक कट्टरताले निर्माण गरेको विभाजन सबैलाई सम्बोधन गर्ने गरी लेननले लेखेको ‘इम्याजिन’ले धेरैको मन–मस्तिष्क छोयो। लेनन प्रतिभावान् त थिए नै, आफ्नो पुस्ताको प्रतिनिधि पात्र एक आदर्शवादी स्वप्नदर्शी पनि थिए। विश्वका सबै राष्ट्र विघटन हुनुपर्ने, सबै धर्म खारेज हुनुपर्ने, व्यक्तिगत सम्पत्ति खारेज हुनुपर्ने, आर्थिक–सामाजिक असमानताको अन्त्य जस्तो ‘इम्याजिन’का शब्दहरूमा अन्तर्राष्ट्रियवादको आह्वानबाहेक पृथ्वीका सबै समुदाय एकै परिवार हुन् भन्ने पूर्वीय मान्यताका आधारहरू प्रतिविम्बित थिए।
महाउपनिषद्मा रहेको श्लोकमा यो आफ्नो बन्धु र यो पराइ भनेर गणना गर्नेहरू संकुचित दिमागका हुन्छन् भन्ने उल्लेख छ। ‘इम्याजिन’ले त्यो समय सबैका लागि सम्पूर्ण पृथ्वी एउटै परिवार हो भनेर पूर्वीय दर्शनले उसैबेला विश्वबन्धुत्वको सन्देश दिएको छ। त्यसभित्र जोन लेननको उच्चकोटीको आदर्श र काल्पनिक संसारको आह्वानले सन् ७० को हिप्पी र भियतनाम युद्धविरोधी आन्दोलनहरूमा ‘सांगीतिक नारा’को काम गर्यो। ‘इम्याजिन’ले आह्वान गरेको एकता, विश्वबन्धुत्व र मानवजातिको एउटै परिवार ‘मानवता’ पूर्वीय दर्शनको ‘बसुधैव कुटुम्बकम’को प्राचीन र कालजयी सन्देशकै निरन्तरता हो। जुन वैश्विक सहकार्यको जगमा उभिएको आजको यथार्थमा अझ सान्र्दभिक छ।