बिजुली अभावका कारण चीनको अर्थतन्त्रमा सुस्तता, इजरायलमा ९ सय वर्ष पुरानो तरबार भेटियो

बिजुली अभावका कारण चीनको अर्थतन्त्रमा सुस्तता, इजरायलमा ९ सय वर्ष पुरानो तरबार भेटियो

सोमबार इस्लामिक स्टेट (आइएस)ले सिया मुस्लिमलाई दिएको चेतावनीले सञ्चारमाध्यममा विशेष स्थान पायो। आइएसले सिया मुस्लिमलाई जहाँ भेट्यो त्यहीँ मारिदिने चेतावनी दिएको हो। यसैगरी तीव्र गतिमा आर्थिक वृद्धि गर्दै गरेको चीनमा पछिल्लो समय अर्थतन्त्रमा सुस्तता आएको बताइएको छ। विद्युत संकटका कारण अर्थतन्त्रमा सुस्तता आएको हो। म्यानमार सेनाले ५ हजार बढी राजनैतिक कैदीलाई रिहा गर्ने, अफगानिस्तानमा छात्राहरूका लागि विद्यालयहरू खुल्ने लगायतका समाचार पनि प्रमुखताका साथ प्रकाशित भएका छन्। प्रस्तुत छ, विश्वका केही प्रमुख समाचारहरू :


म्यानमार सेनाले ५ हजार बढी कैदीलाई रिहा गर्ने 

बर्मा : सत्ता सञ्चालन गरिरहेका म्यानमार सेना प्रमुख मिन आङ लेइङले सेनाले ५ हजारभन्दा बढी कैदीलाई रिहा गर्ने बताएका छन्। लेइङले सोमबार सैन्य शासनको विरोधमा जेल परेका ५ हजार ६३६ कैदीलाई रिहा गर्ने बताएका हुन्।  

म्यानमारमा सैन्य शासन लागू भए यता करिब ७ हजार ३ सय मानिस राजनैतिक बन्दीको रुपमा राखिएको एसिस्टेन्स एसोसियसनले जनाएको छ।

दक्षिणपूर्वी एसियाली संगठन आसियानले आगामी शिखर सम्मेलनमा म्यानमार सेनालाई नबोलाउने निर्णय गरेको दुई दिनपछि सेना प्रमुख लेईङले कैदी रिहा गर्ने बताएका हुन्। अक्टोबर २६ मा आसियानको शिखर सम्मेलन हुँदैछ। 

साथै उनले म्यानमार सेनाले देशमा शान्ति स्थापना गर्ने र प्रजातन्त्रको सम्मान गर्ने प्रतिबद्धता जनाए पनि आसियानले आफूलाई बहिष्कार गरेको आरोप लगाएका छन्। 
०००

छात्राहरु चाँडै विद्यालय फर्किने तालिबानको भनाइ
काबुल : तालिबान सरकारले अफगानिस्तानका छात्राहरु चाँडै नै विद्यालय फर्किने बताएको छ। अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले छात्राहरुलाई विद्यालय प्रवेशको अनुमति दिने बताएको हो। 

छात्राहरुको लागि कहिलेदेखि विद्यालयमा प्रवेश अनुमति दिने भन्नेबारे भने शिक्षा मन्त्रालयले घोषणा गर्ने आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता करी सईद खोस्टीले बताए। ‘मैले पाएको सूचनाअनुसार सरकारले चाँडै नै विद्यालय र विश्वविद्यालयहरुमा पठनपाठनको लागि छात्राहरुलाई अनुमति दिनेछ। सो अनुमतिसँगै छात्राहरुले आफ्नो पठनपाठनलाई निरन्तरता दिन पाउनेछन्’, प्रवक्ताले भनेका छन्। 

तलिबानले सत्ता कब्जामा लिएपछि सरकारले अफगानिस्तानका छात्रा र महिला शिक्षकलाई विद्यालय र विश्वविद्यालय प्रवेशमा रोक लगाएको थियो। सरकारले उनीहरुलाई सुरक्षित सिकाईको माहोल नभएसम्म घरमै बस्न आदेश दिएको थियो। पुरुष विद्यार्थी र शिक्षकको लागि भने विद्यालय र विश्वविद्यालय खुला राखेको थियो। 
०००

बिजुली अभावका कारण चीनको अर्थतन्त्र सुस्तायो 
बेइजिङ : चीनमा भएको बिजुली अभावको असर अर्थतन्त्रमा परेको छ। केही महिनादेखि जारी बिजुली संकटका कारण चीनको अर्थतन्त्र सुस्ताएको हो। 

चीनको राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार चीनको अर्थतन्त्रमा ४.९ प्रतिशतका दरले गिरावट आएको छ। जुन सन् २०२१ अर्थात् यस वर्षकै सुस्त अर्थतन्त्र हो। देशको अर्थतन्त्र सुस्ताउनुको मुख्य कारण विद्युत संकट रहेको विभागले जनाएको छ। 

संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको रुपमा चिनिने चीनमा कोभिड महामारीको समयमा नियन्त्रणमा आएको र देशमा बिजुली संकटका कारण देशको अर्थतन्त्र सुस्ताएको बताइएको छ। पहिलो त्रैमासिकमै चीनको अर्थतन्त्र सुस्ताउँदा यसको असर वर्षभर रहन सक्ने विज्ञहरुले बताएका छन्। 
०००

अमेरिका र क्यानडाले ताइवानलाई भड्काएको चिनियाँ सेनाको आरोप 
बेइजिङ : चिनियाँ सेनाले अमेरिका र क्यानडाले ताइवानलाई भड्काएको आरोप लगाएको छ। गत हप्ता ताइवान स्ट्रेटमा अमेरिका र क्यानडाले पठाएको युद्धपोतको निन्दा गर्दै चिनिया सेनाले दुवै मुलुकले ताइवानलाई भड्काएको आरोप लगाएको हो।

दुवै मुलुकको सो कदमले ताइवानको जलमार्गमा शान्ति, स्थायित्व र सुरक्षामा खतरा पैदा गर्ने चिन्ता समेत चिनियाँ सेनाले व्यक्त गरेको छ। अक्टोबर १५ मा अमेरिका र क्यानडाको नौसेनाको सामुद्रिक युद्धपोत समुद्री मार्ग हुँदै आफ्नो क्षेत्रमा गएको थियो। 

चीनले अक्टोबर पहिलो साता करिब ४ दिनको अन्तरालमा करिब १५० युद्धपोत ताइवानको वायु रक्षा क्षेत्रमा पठाएको थियो। चीनको सो गतिविधिले विभिन्न अन्तर्राष्ट्रिय निकायको ध्यान खिचेको थियो।
०००

हत्यामा संलग्न भारतीय बाबा रामरहिमलाई १९ वर्षपछि जन्मकैदको सजाय 
पन्चकुल : भारतस्थित पन्चकुलको विशेष अदालतले चर्चित भारतीय बाबा गुरमित रामरहिम सिंहसहित अन्य पाँच दोषीलाई जन्मकैदको सजाय सुनाएको छ। रन्जित सिंह हत्याकाण्डमा दोषी ठहरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि जन्मकैदको सजाय सुनाएको हो। 

जन्मकैदको सजायसँगै रामरहिमलाई अदालतले ३१ लाख भारतीय रुपैयाँ र अन्यलाई प्रतिव्यक्ति ५० हजार (भारु) जरिवाना सुनाएको छ। 

यसअघि बलात्कारको सजायसमेत भोगका गुरमित रामरहिम सिंहलाई अदालतले हत्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो। आफूलाई गडफादर भनेर चिनाउने बाबा रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रंजित सिंहको हत्या गर्ने षड्यन्त्र रचेका थिए। 

भारतको अनुसन्धान केन्द्र सीबीआईले रामरहिमलाई फाँसीको सजाय दिन माग गरेको थियो। यद्यपि, अदालतले सोमबार उनलाई जन्मकैद सुनाउने अन्तिम निर्णय गरेको भारतीय सञ्चारमाध्यममा खबर छ। 
०००

इजरायलमा ९ सय वर्ष पुरानो तरबार भेटियो 
जेरुसेलम : इजरायलमा करिब ९ सय वर्ष पुरानो तरबार भेटिएको छ। क्रुसेडर (धार्मिक युद्ध)को पालामा प्रयोग भएको ९ सय वर्ष पुरानो प्राचीन तरबार इजरालयको कार्मेल समुद्रमा भेटिएको हो। 

सो तरबार इजरायलको कार्मेल समुद्रमुनि भेटिएको सोमबार इजरायलको एन्टिक्विटिज अथोरिटी आइएएले घोषणा गरेको छ।  

आइएएका अनुसार करिब ९ सय वर्षअघि भएको क्रुसेडर युद्धको समयमा सो तरबार क्रुसेडर सैनिकले प्रयोग गरेका थिए। सो तरबार फलामबाट बनेको र निकै बलियो रहेको पुरातत्वविद्ले बताएका छन्। 

पुरातत्वविद्हरुले सो क्षेत्रमा विस्तृत खोज कार्य अघि बढाएको जेरुसेलम पोष्टले जनाएको छ। 

मध्यकालिन युगमा क्रिष्चियनहरुले चलाएको क्रुसेडर युद्ध १०९५ देखि १२९१ को बिचमा चलेको थियो। मुस्लिमबाट धार्मिक भूमि खोस्न चलेको सो युद्ध इजरायल लगायत अन्य क्षेत्रमा चलेको थियो।
०००

सिया मुस्लिमलाई जहाँ भेट्यो त्यहीँ मार्ने आइएसको चेतावनी 
कान्दहर : इस्लामिक स्टेट (आइएस) समूहले सिया मुस्लिम समुदायलाई जहाँ भेट्यो त्यही मार्ने चेतावनी दिएको छ। कान्दहर सहरस्थित मस्जिदमा भएको आक्रमणपछि आइएसले एक विज्ञप्ती जारी गर्दै सो चेतावनी दिएको हो। 

आइएस समूहको साप्ताहिक पत्रिका अल नवाले सोमबार सिया समुदायलाई चेतावनी दिँदै एक रिपोर्ट प्रकाशित गरेको अफगानिस्तानको खामा प्रेसमा समाचार छ। आइएस समूहका सदस्यले सिया समुदायलाई जहाँ भेट्यो त्यही आक्रमण गर्ने सो रिपोर्टमा उल्लेख छ। 

अफगानिस्तानका सिया समुदायलाई चेतावनी दिँदै रिपोर्टमा भनिएको छ, ‘बग्दाददेखि खोरासानसम्म, घरदेखि मस्जिदसम्म सिया मुस्लिम भएको सबै ठाउँतिर आइएसले आक्रमण गर्ने छ। सिया समुदायलाई आइएसले निसाना बनाइरहने छ।’
०००

बंगलादेशमा साम्प्रदायिक हिंसा रोकिएन
ढाका : बंगलादेशमा जारी साम्प्रदायिक हिंसा नरोकिएको बताइएको छ। गत शुक्रबार दुर्गा पुजाको अवसरमा बंगलादेशको चोकबजारमा भएको हिंसाले सोमबारसम्म पनि उग्र रुप लिएको बताइएको छ। 

कट्टरवादीहरुले आइतबार राती करिब ६० वटा हिन्दूहरुको घर जलाएको भारतीय सञ्चारमाध्यममा खबर छ। बंगलादेशको मिडिया ट्रिब्युनको रिपोर्टअनुसार कट्टरवादीहरुले पीरगंजमा हिन्दुहरुको घर जलाएका हुन्। 

यद्यपि, हिन्दूहरुको घर जलाएको सूचना सामाजिक सञ्जालमार्फत फैलिएकोले घटनाबारे अनुसन्धान गरिने बंगलादेश प्रहरीले जनाएको छ। 

प्रहरीले हिंसा भड्काएको आरोपमा ३ सय मानिसलाई पक्राउ गरेको  छ। 

शुक्रबार दुर्गा पुजाको अवसरमा बंगलादेशमा रहेका हिन्दू समुदायमाथि आक्रमण भएको थियो। आक्रमणमा परी ६ हिन्दूहरुको मृत्यु भएको थियो। सो घटनापछि विभिन्न सहरमा आन्दोलन गरिएको थियो। आन्दोलन उग्र बन्दा शनिबार र आइतबार गरी करिब ८ जनाले ज्यान गुमाएका थिए।
००० 

संसारको तेस्रो ठूलो बेश्यावृत्ति केन्द्र स्पेनमा देहव्यापारलाई अवैध बनाइने 
म्याड्रिड : स्पेनका प्रधानमन्त्री एवम् वामपन्थी नेता पेड्रो सान्चेजले स्पेनमा देहव्यापारलाई अवैध बनाउने बाचा गरेका छन्। देह व्यापारले महिलालाई दास बनाएको भन्दै उनले देशमा देहव्यापारलाई गैर कानुनी मान्यता दिने बाचा गरेका हुन्। 

समाजवादी पार्टीको तिन दिने महाधिवेसनको अन्तिम दिनमा सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले देह व्यापारसम्बन्धी नीतिमा परिवर्तन ल्याई स्पेनमा रहेको देहव्यापार एवम् वेश्यावृत्तिलाई कानुनी मान्यता नदिने बताएका हुन्। 

स्पेनमा सन् १९९५ देखि देहव्यापारले कानुनी मान्यता पाएको थियो। संयुक्त राष्ट्रसंघले सन् २०११ मा गरेको एक अध्ययनपछि बेश्यावृत्तिमा स्पेनलाई थाइल्याण्ड र पुर्टोरिकोपछिको तेस्रो ठुलो मुलुकको सूचीमा राखेको थियो। यौन व्यापारलाई नियमन नगरिएको स्पेनमा सार्वजनिक स्थलबाहेक अन्य स्थलमा यौनव्यापार गरेमा कानुनी कारबाही गर्न नपाउने व्यवस्था छ।

स्पेनमा देहव्यापारले कानुनी मान्यता पाएपछि यौनकर्मीको संख्या निकै बढेको र त्यसले मानव बेचबिखनमा ठूलो योगदान पुर्‍याएको बताइएको छ। हाल स्पेनमा करिब ३ लाख महिला यौनकर्मी रहेको बताइन्छ।

संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.