अलराउन्डर गोपाल
काठमाडौं : एउटा व्यक्तिले प्रवासमा रहेर पनि नेपाल र नेपाली खेलकुदको विकासमा कत्तिको योगदान दिन सक्छ भन्ने उदाहरण हुन्, तेक्वान्दो खेलाडी गोपाल भण्डारी।
रोजगारीका सिलसिलामा लामो समय विदेशमा बसे पनि उनी नेपाली खेलकुदसँग भने सदैव नजिक भइरहे। नेपाली खेलकुदको विकास र विस्तारमा निरन्तर रुपमा लागिरहे। विदेश बसाइका क्रममा उनले आफूलाई निखार्ने काम मात्रै गरेनन्, नेपाली खेलाडीलाई ‘एक्सपोजर’ दिने काम पनि गरे।
२०४३ साल पुसमा सल्यानको बरलामा जन्मिएका गोपाल विद्यालय शिक्षा पूरा गरेपछि मात्रै खेलकुदमा लागेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक दीपक केसीको प्रेरणाले उनको बाटो खेलकुदमा मोडिएको हो। राखेपका सहायक प्रशिक्षक केसीले सल्यानमा सितलपाटी तेक्वान्दो डोजाङ सञ्चालन गरेका थिए। उनले जिल्लाका प्रतिभावान खेलाडीहरू छनोट गरी प्रशिक्षण सुरु गरेका थिए। त्यही क्रममा केसीले गोपाललाई पनि तेक्वान्दो प्रशिक्षणमा सहभागी गराएका थिए। गोपालले सितलपाटी डोजाङमा एक वर्ष प्रशिक्षण लिए।
त्यसपछि उनी पढाइको सिलसिलामा काठमाडौं आए। २०६५ सालमा काठमाडौं तेक्वान्दो डोजाङमा उनले पुनः प्रशिक्षण सुरु गरे। स्नातक तहको पढाइसँगै उनले खेलकुदलाई पनि अगाडि बढाए। उनले लामो समय त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजाङमा प्रशिक्षण गरे। काठमाडौं बसाइका क्रममा गोपालले जिल्लास्तरीय, उपत्यकास्तरीयलगायत थुप्रै प्रतियोगितामा सहभागिता पनि जनाए। जिल्लास्तरमा उत्कृष्ट प्रदर्शन गरेका उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि सहभागी भएका थिए। त्यतिबेला उनी ब्ल्याक बेल्ट दोस्रो डान थिए। अहिले उनी ब्ल्याक बेल्ट चौथो डान छन्।
गोपाल वि.सं. २०६८ सालमा कामको सिलसिलामा मकाउ पुगे। त्यहाँ पुगेपछि उनले तेक्वान्दोको नियमित प्रशिक्षण गर्न पाएनन्। तर, उनी फुर्सद हुनासाथ आफै प्रशिक्षण गर्थे। लामो समय एक्लै प्रशिक्षण गर्दै आएका गोपालले सन् २०१६ मा मकाउ तेक्वान्दो संघसँग मिलेर प्रशिक्षणको व्यवस्था मिलाए। विभिन्न देशबाट मकाउ पुगेका खेलाडीसँगै उनले पनि प्रशिक्षण सुरु गरे। उनी सिनियर टोलीसँग प्रशिक्षण गर्थे भने जुनियर खेलाडीहरूलाई प्रशिक्षण दिन्थे। त्यही क्रममा उनले मकाउ तेक्वान्दो च्याम्पियनसिपमा लगातार सहभागी भएर पदक जित्न पनि सफल भए।
आठ वर्षको मकाउ बसाइमा गोपालले कामसँगै खेलकुदलाई पनि उक्तिकै महत्व दिए। उनले लगातार प्रशिक्षण गर्नेदेखि विभिन्न राष्ट्रमा पुगेर प्रतियोगिताहरूमा पनि सहभागिता जनाए। गोपालले हङकङ, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, क्यानडालगायतका मुलुकमा पुगेर विभिन्न प्रतियोगितामा सहभागिता जनाउने मात्र होइन, लगातार पदक पनि जित्न सफल भए। यही क्रममा उनले मास्टर्स ट्रेनिङलगायत विभिन्न कोर्स पनि गरे। उनी हङकङलगायतका मुलुकका विभिन्न प्रतियोगितामा खेलाडी, प्रशिक्षक र रेफ्रीको भूमिकामा सहभागी भएका थिए। उनले अमेरिका र क्यानडामा जी–टु र्याङकिङ प्रतियोगितामा सहभागी भएर कोच परमिट कोर्स पनि उतीर्ण गरेका थिए। यसैगरी सन् २०१९ मा हङकङमा मार्सल आर्ट्स हाप्किडोको अन्तर्राष्ट्रिय रेफ्री र मास्टर्स ट्रेनिङ कोर्स पूरा गरेका थिए।
सन् २०१७ मा मकाउ तेक्वान्दो संघसँग आवद्ध भएर उनले विदेश विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाले। उनकै पहल र सक्रियतामा सन् २०१७ मा पहिलो पटक नेपालको सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीहरूले मकाउमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। उनले विदेश विभागको जिम्मेवारी सम्हाल्नुञ्जेल नेपाली खेलाडीलाई मकाउमा एक्सपोजरको अवसर धेरै पटक उपलब्ध गराएका थिए। उनकै पहलमा ‘एक्जुकेटिभ प्रोटेक्सन प्रोफेसनल डिप्लोमा कोर्स’ सञ्चालन गरिएको थियो। बडीगार्ड एसोसिएसन अफ हङकङको आयोजनामा भएको सो कोर्समा ३० नेपाली सहभागी भएका थिए।
कोरोना कहरले नेपाललगायत सारा विश्वलाई गाँजेको समयमा संसारभरका खेलाडीलाई क्रियाशील बनाउन र उनीहरूको मानसिक तनाव घटाउन गोपालकै पहल र सक्रियतामा ‘काठमाडौं भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना गरिएको थियो। यस प्रतियोगिताका लागि उनले विभिन्न देशका खेलाडी, प्रशिक्षक र संघहरूसँग समन्वय गरेका थिए। कोरोनाले त्रस्त बनाएको अवस्थामा पनि विश्वका ३१ राष्ट्रका करिब पाँच सय खेलाडीले च्याम्पियनसिपमा सहभागिता जनाएका थिए। पछिल्लो समय नेपालमा रहेका गोपालले सीतापाइला तेक्वान्दो डोजाङमा विगत दुई वर्षदेखि प्रशिक्षण गराउँदै आएका छन्। गत फागुनमा सीतापाइला तेक्वान्दो च्याम्पियनसिप आयोजनामा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अन्तर डोजाङ च्याम्पियनसिपको समापन कार्यक्रममा उनलाई सम्मान पनि गरिएको थियो।
गोपालकै सक्रियतामा तेक्वान्दोको पहिलो पटक प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना भएको थियो। मुलुक संघीयतामा गएर नेपाल तेक्वान्दो संघले प्रदेश कमिटी गठन गरेपछि २०७६ सालमा पहिलो पटक कर्णाली प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको थियो। सल्यानको खलंगामा आयोजना भएको प्रतियोगिता आयोजनामा गोपालले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सामाजिक काममा पनि सक्रिय
गोपाल खेलकुदसँगै विभिन्न सामाजिक क्रियाकलापमा पनि उक्तिकै संलग्न रहँदै आएका छन्। उनी नेपाल जर्नी नामक संस्थामा आवद्ध भएर विभिन्न सामाजिक काममा सक्रिय भइरहेका छन्। नेपाल जर्नी अमेरिकामा रहेको संस्था हो। विदेशमा रहेका नेपालीमार्फत स्वदेशमा सामाजिक क्षेत्रमा विभिन्न काम गर्ने उद्देश्य बमोजिम संस्थाले काम गर्दै आएको छ। गोपाल सन् २०१६ देखि यो संस्थामा आवद्ध भएका हुन्।
उनले मकाउ–चीन संयोजक हुँदै अन्तर्राष्ट्रिय संयोजकका रुपमा काम गरिसकेका छन्। यस्तै उनले नेपाल शाखाको अध्यक्षको भूमिका पनि निर्वाह गर्दै आएका छन्। अमेरिकाको टेक्सासमा रहेको नेपाल जर्नीले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले कोरोना महामारीको समयमा विभिन्न राहत तथा स्वास्थ्य सामग्रीका साथै आर्थिक सहयोग पनि प्रदान गरेको थियो। संस्थाले हेटौंडा, चितवन र स्याङ्जामा पुस्तकालय पनि सञ्चालन गरिरहेको छ। त्यसमध्ये चितवनको लंकुमा ई–डिजिटल पुस्तकालय निर्माण भइरहेको छ। यो पुस्तकालय फरक क्षमतामैत्री हुने गोपालले जानकारी दिए।
उनले व्यक्तिगत रुपमा पनि विभिन्न सहयोग गर्दै आएका छन्। गोपालले व्यक्तिगत रुपमा सल्यानको तेक्वान्दो विकासका लागि विभिन्न खेल सामग्री वितरण गरेका थिए। यस्तै चितवनलगायतका विभिन्न जिल्लामा पनि खेल सामग्री प्रदान गर्दै आएका छन्।
यस कारण रोजे तेक्वान्दो
गोपाल सानैदेखि खेलकुद भनेपछि हुरुक्क हुन्थे। स्कुल पढ्दा पनि अरुले खेलेको हेरेर बसिरहन्थे। उनलाई पनि साथीभाइसँग खेलुँखेलुँ हुन्थ्यो। तर, परिवारको साथ र सहयोग नहुँदा उनले खेल्न पाएनन्। स्कुल पढ्दा सामान्य रुपमा केही खेल्ने बाहेक कुनै एउटै खेललाई रोज्न पाएनन्। घरपरिवारले खेलकुदलाई भन्दा पढाइलाई महत्व दिन्थ्यो। त्यतिबेला खेलकुदमा लाग्नु भनेको बिग्रनु हो भन्ने प्रभाव उनको परिवारमा परेको थियो।
त्यही कारण पनि उनले आफूले चाहेको क्षेत्रमा लाग्न समय लाग्यो। खेलकुदमा लाग्दा पढाइ बिग्रिन्छ र झैझगडा गर्छन् भनेर परिवारले उनलाई लामो समयसम्म खेलकुदबाट टाढै राखेको थियो। तर, स्कुलमा समय समयमा सिनियर खेलाडीहरूले गरेको ‘डेमोस्ट्रेसन’ देखेर उनले जसरी पनि खेलकुदमै लाग्ने सोच बनाएका थिए। जिल्लामै तेक्वान्दो प्रशिक्षण सुरु भएपछि उनले आफूलाई रोक्न सकेनन् र खेलकुदमा हाम फाले।
उनले घर परिवारको सोचाइलाई मात्र गलतसिद्ध गरेनन्, समर्पित भएर कुनै क्षेत्रमा लाग्ने हो भने सफलताले पनि सँगसँगै पछ्याउँछ भन्ने कुरालाई पनि स्थापित गरे। गोपालले खेलकुदकै माध्यमबाट बैदेशिक रोजगारीका साथै देश विदेश भ्रमणको पनि अवसर पाए। त्यति मात्र होइन, विभिन्न राष्ट्रको एरिनामा नेपाली झण्डा फहराउन सफल भए।
उनको अबको लक्ष्य
३५ वर्षीय गोपाल भण्डारीले आफूलाई जीवनभर खेलकुदमै समर्पित गराउने योजना बनाएका छन्। राम्रा खेलाडी उत्पादन गर्ने मात्र होइन, उनीहरूलाई बैदेशिक एक्सपोजरसँगै प्रशिक्षणको व्यवस्था मिलाउन लागिरहने योजना उनले बनाएका छन्। उनी तेक्वान्दोलाई जीवनको अन्तिमसम्म पनि छाड्न नसक्ने बताउँछन्। ‘तेक्वान्दो मेरो जीवनको अभिन्न अंग बनिसकेको छ। यसबाट चाहेर पनि टाढा हुन सक्तिनँ’, उनी भन्छन्, ‘राम्रा खेलाडी उत्पादनसँगै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउने काममा निरन्तर रुपमा सक्रिय भइरहन्छु।’