उत्तर कोरियाले हान्यो अर्को क्षेप्यास्त्र
प्योङयाङ : उत्तर कोरियाले मंगलबार बिहानै अर्को क्षेप्यास्त्र प्रहार गरेको छ। जापानको समुद्री क्षेत्रमा उक्त क्षेप्यास्त्र खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो समयमा उत्तर कोरियाले निरन्तर रूपमा क्षेप्यास्त्र प्रहार गरेको विषयमा छलफल गर्न जापान, अमेरिका र दक्षिण कोरियाका गुप्तचर प्रमुखहरूको बैठक भइरहेका बेला सो क्षेप्यास्त्र प्रहार गरेको हो।
यसअघि उत्तर कोरियाले अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो।
संयुक्त राष्ट्रसंघले लगाएको कडा नाकाबन्दीका बाबजुद उत्तर कोरियाले पछिल्लो समयमा क्षेप्यास्त्र तीव्र रूपमा प्रहार गरिरहेको छ। जसको अन्तर्राष्ट्रिय समुदायले कडा निन्दा गर्दै आइरहेको छ।
हालैको राष्ट्रसंघीय सभामा उत्तर कोरियाका राजदूतले प्रतिरक्षाका लागि हतियार उत्पादन र क्षेप्यास्त्र प्रहार गरिनु आफ्नो अधिकार भएको बताएका थिए।