यू–२३ फुटबल टोली ताजकिस्तान प्रस्थान
काठमाडौं : एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ टोली मंगलबार बिहान ताजकिस्तान प्रस्थान गरेको छ। एएफसी यू–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका थिए। एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा ताजकिस्तान, लेबनान र इरान छन्।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा ताजकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। एएफसी यू–२३ एसियन कप छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने छन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुने छन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुनेछ।
नेपाली टोलीमा अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दीप पौडेल, अनिल महर्जन, अभिषेक लिम्बू, नितिन थापा, सुरज ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ र एरिक विष्ट छन्।
यसैगरी मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक रोजित केसी, टिम म्यानेजरमा उत्तम भण्डारी, फिजियो राजु ढकाल, गोलरक्षक प्रशिक्षक ललित चन्द, किट म्यानेजर ज्ञानबहादुर राई, अफिसियलमा प्रवीण यादव, राजेश मानन्धर, टीकाराम लामा र सुवर्ण श्रेष्ठ छन्। यस्तै अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंह र एन्फा कर्मचारी युजल श्रेष्ठ पनि टोलीसँगै ताजकिस्तान प्रस्थान गरेका छन्।