सीमामा चिनियाँ गस्ती बढ्दा भारतीय सेना चिन्तित !, आसियानको दबाबपछि म्यानमार सेनाद्वारा हजारौँ कैदी रिहा
भारत-चीन सीमा क्षेत्रमा चीनले सैनिक गतिविधि बढाएको भन्दै भारतले चिन्ता व्यक्त गरेको छ। यो खबर मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुख रह्यो। उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको खबर, यमनमा ६ वर्षको अवधिमा १० हजार बालबालिका मारिएको तथा अफगानिस्तानमा पोलियो थोपा खुवाउन तालिबान सरकार राजी भएको खबरलगायत समाचार चर्चामा रहे। प्रस्तुत छ, मंगलबार घटेका विश्वका केही प्रमुख खबरहरू :
सीमामा चिनियाँ गस्ती बढ्दा भारतीय सेना चिन्तित !
इन्डिया टुडेका अनुसार चिनियाँ सेनाले दुई देशको सिमानामा वार्षिक सैन्य अभ्यास र दैनिक गस्ती बढाइरहेको छ। चीनले सिमा क्षेत्रमा दैनिक गस्ती र सैन्य अभ्यास बढाउँदा भारतीय सेना चिन्तित बनेको भारतको इस्टर्न आर्मी कमान्डर लेफ्टिनेन्ट जनरल मनोज पान्डेले बताए।
‘चीनको सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेको छ। सेनाको विभिन्न सैन्य बलले विविध तरिकामार्फत सीमा क्षेत्रमा यस वर्ष दैनिक अभ्यासलाई निरन्तर बढाइरहेको छ’, पाण्डेले इन्डिया टुडेसँग भनेका छन्, ‘पछिल्लो सैन्य गस्तीले हामीलाई चिन्तित बनाएको छ। चिनियाँ सेनाको गस्तीबारे हामीले विचार पुर्याउनुपर्छ भने इस्टर्न कमान्डले अझै तयारी अपनाउनुपर्छ।’
उनले चिनियाँ सेनाको गतिविधि नियाल्न भारतीय सेनाले निगरानी ड्रोन, रडार र सञ्चार प्रणाली आदिको व्यवस्था गरेको जानकारी दिएका छन्।
०००
यमनमा ६ वर्षमा १० हजार बालबालिका मारिए : युनिसेफ
जेनेभा : यमनमा सन् २०१५ देखि हालसम्म १० हजार बालबालिका मारिएको संयुक्त राष्ट्रसंघको युनिसेफले बताएको छ। मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै युनिसेफले सन् २०१५ यता १० हजार बालबालिका मारिएको बताएको हो।
यमनको ६ वर्षे युद्धका कारण सो संख्यामा बालबालिका मारिएको युनिसेफले बताएको हो। ‘यमनको युद्धले अर्को लाजमर्दो तथ्यांक देखाएको छ’, युनिसेफका प्रवक्ता जेम्स एल्डरले मंगलबार संघको सारांश बताउँदै भनेका छन्, ‘६ वर्षमा १० हजार मारिनु भनेको हरेक पाँच बालबालिकामध्ये दैनिक चार बालबालिका मर्नु बराबर हो। यमनमा घाइते र अपाङ्ग पारिएका बालबालिकाको संख्या अझै धेरै छ।’
एल्डरका अनुसार यमनमा हाल १ करोड १० लाख बालबालिकालाई मानवीय सहायताको खाँचो छ भने ४ लाख मानिस गम्भीर कुपोषणबाट ग्रसित छन्। जसमध्ये २ लाख बालबालिका विद्यालय जानबाट बन्चित छन्।
संयुक्त राष्ट्र संघले यमनको सो संकटलाई संसारकै ठूलो मानवीय संकट भनेको छ।
०००
बंगलादेश हिंसाको विरोधमा इस्कनले १५० मुलुकमा आन्दोलन गर्ने
ढाका : बंगलादेश हिंसाको विरोधमा दी इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कन)ले विश्वव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। इस्कनले मंगलबार आगामी अक्टोबर २३ मा संसारका १५० वटा मुलुकमा बंगलादेश हिंसाको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको हो।
‘बंगलादेश हिंसाविरुद्ध आवाज उठाउन हामीले विश्वव्यापी रुपमा एकदिने आन्दोलन आयोजना गरेका छौँ’ इस्कनका उपाध्यक्ष राधाराम दासले हिन्दुस्तान टाइम्ससँग भनेका छन्, ‘हिन्दूहरुलाई निशानामा राखेर भएको हिंसाविरुद्धको हाम्रो आन्दोलन जारी छ।’
गत हप्ता दुर्गा पुजाको समयमा बंगलादेशमा भएको साम्प्रदायिक हिंसाको विरोधमा इस्कनले यतिबेला भारतको विभिन्न सहरहरुमा आन्दोलन गरिरहेको छ।
०००
उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र सँगै हानेको जापानको दाबी
टोकियो : उत्तर कोरियाले मंगलबार बिहान दुईवटा क्षेप्यास्त्र सँगै प्रहार गरेको दाबी जापानले गरेको छ। उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा छोटो दुरी र लामो दुरी गरी दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको हो।
जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाले हानेको क्षेप्यास्त्र अत्यन्तै खेदजनक रहेको बताएका छन्। पछिल्लो समय उत्तर कोरियाले निरन्तर रुपमा क्षेप्यास्त्र प्रहार गरेको विषयमा छलफल र विश्लेषण चलिरहेको बेला सो क्षेप्यास्त्र प्रहार भएको भन्दै प्रधानमन्त्रीले खेदजनक रहेको बताएका हुन्।
जापान सरकारका प्रवक्ता योसिहिको आइसोजाकीले उत्तर कोरियाले निरन्तर गरिरहेको क्षेप्यास्त्र प्रहारले जापान र आसपासका क्षेत्रको सुरक्षा र शान्ति खतरामा पार्नुका साथै चुनावलाई समेत असर पुग्ने बताएका छन्। मंगलबार जापानको समुद्री एवम् आर्थिक क्षेत्रमा उत्तर कोरियाले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।
यसअघि उत्तर कोरियाले अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो। उत्तर कोरियाले गरेको निरन्तर क्षेप्यास्त्र प्रहारप्रति अन्तर्राष्ट्रिय समुदायले कडा निन्दा गर्दै आएको छ।
न्यूयोर्कमा हालै भएको संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा उत्तर कोरियाले आत्मारक्षाका लागि हतियार बनाउनु तथा क्षेप्यास्त्र परीक्षण गर्नु आफ्नो अधिकार भएको बताएको थियो।
०००
ग्रिस, साइप्रस, टर्की र इजिप्टका सहरमा एकैदिन शक्तिशाली भूकम्प
इजिप्ट : मध्यपूर्वी क्षेत्रका विभिन्न सहरमा एकैदिन शक्तिशाली भूकम्प गएको छ। मंगलबार विभिन्न समयमा ग्रिस, साइप्रस, टर्की र इजिप्ट सहरमा एकैदिन शक्तिशाली भूकम्प गएको हो।
युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरका अनुसार विभिन्न सहरमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। ग्रिसको कारपाथोस, क्रेटो, सान्टोरीनी आदि क्षेत्रमा भूकम्प गएको छ भने इजिप्ट, टर्की र साइप्रसमा पनि भूकम्प गएको छ।
०००
आसियानको दबाबपछि म्यानमार सेनाद्वारा हजारौँ कैदी रिहा
बुर्मा : म्यानमार सेनाले राजनैतिक आरोपमा कैदी बनाएका हजारौँ कैदीलाई रिहा गरेको छ। दक्षिणपूर्वी एसियाली संगठन आसियानको दबाबपछि सेनाले हजारौँ कैदीलाई रिहा गरेको हो।
म्यानमार सेना जुन्ताका प्रमुख मिन आङ लेइङले सोमबार सैन्य सरकारविरुद्ध आन्दोलनमा उत्रिएको आरोपमा कैदी बनाइएका ५ हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेका थिए। सो घोषणा गरेको राती ५ हजार ६ सयभन्दा बढी कैदीलाई म्यानमारको थाडिङयुत पर्वको अवसरमा रातिदेखि रिहा गरिएको बताइएको छ।
प्हिलो चरणमा सेनाले इनसेइन जेलबाट म्यानमारकी पूर्व नेतृ आङ सान सुकीका प्रवक्तासहित हजारौँ कैदीलाई रिहा गरेको स्थानीय मिडियाले जनाएका छन्।
म्यानमार सेनाले देशको प्रजातन्त्र हत्याउँदै फेब्रुअरी १ देखि सैन्य शासन लागू गरेको थियो। फेब्रुअरीमै सेनाले विपक्षीलाई पक्राउ गरी कैदी बनाएर राखेको थियो।
आसियानले आगामी अक्टोबर २६ मा आयोजित शिखर सम्मेलनमा म्यानमार सेनालाई निम्तो नदिने घोषणा गरेपछि सेनाले कैदीलाई रिहा गर्ने निर्णय गरेको बताइएको छ। म्यानमार सेनाले सैन्य शासन लागू गरेपछि करिब ९ हजारलाई जेलमा थुनेको र १ हजारभन्दा बढीको हत्या गरेको भन्दै आसियानले दबाब दिँदै आएको थियो।
०००
घरदैलो पोलियो खोप अभियान सुरु गर्न तालिबान सहमत
काबुल : अफगानिस्तानमा घरदैलो खोप अभियान सुरु गर्न तालिबान सरकार सहमत भएको छ। आगामी महिनादेखि लागू हुने गरी अभियान सुरु गर्न तालिबान सरकार सहमत भएको हो।
तालिबानको सो निर्णयको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ र युनिसेफले स्वागत गरेको छन्। ‘अफगानिस्तानमा पोलियो खोपसम्बन्धी घरदैलो अभियान सुरु गर्न तालिबान सरकार सहमत भएको छ। सो निर्णयको डब्ल्युएचओ र युनिसेफले स्वागत गरेको छ। तालिबानसँगको सहकार्यमा हामीले आगामी महिनादेखि देशभर पोलियो खोप अभियान सुरु गर्नेछौँ’ डब्ल्युएचओ र युनिसेफद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ।
सो सहमतिअनुसार अफगानिस्तानमा नोभेम्बर ८ देखि पोलियो खोप अभियान सुरु गरिने बताइएको छ।
०००
अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले दिए राजीनामा
वासिङटन : अफगानिस्तानका लागि अमेरिकी उच्च दूत जल्मे खलिलजादले राजीनामा दिएका छन्। उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको र तालिबानले सत्ता कब्जामा लिएको झन्डै दुई महिनापछि राजीनामा दिएका हुन्।
खलिलजादले तालिबानसँगको वार्तामा अमेरिकी टोलीको नेतृत्व गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। खलिलजादको जिम्मेवारी टोम वेस्टलाई सुम्पिईने विदेश मन्त्री एन्टोनी ब्लिंकनले बताए।
खलिलजादले आफ्नो राजीनामा पत्रमा अमेरिकाको अफगान नीतिले नयाँ चरणमा प्रवेश गरेकोले र तालिबान÷अफगान सरकारबिचको राजनैतिक सम्झौता सोचेअनुसार नभएकोले आफूले राजीनामा दिएको बताएका छन्। साथै उनले यसको पछाडि जटिल कारणहरु रहेको समेत उनले पत्रमा उल्लेख गरेका छन्।
७० वर्षीय उच्च दूत खलिलजादले सन् २०१८ देखि पद सम्हालेका थिए।
– संयोजन : अस्मिता खड्का