आधुनिक समाजमा स्वयंसेवक
पुरातन प्रकारका कार्यशैलीहरू विस्तारै विस्थापित हुँदै जाँदा आफूलाई सोही अनुरूप समायोजन प्रत्येक समाजले गर्न सक्नुपर्छ।
आधुनिक विश्व विविध प्रकारका जटिलताबाट परिवेष्टित छ। असंख्य चुनौतीको सामना गर्दै समाज अघि बढिरहेको छ। यी चुनौतीहरू आफैंमा दुर्जय बनिराखेका छन्। जलवायु परिवर्तनको नकारात्मक प्रभाव प्रतिदिन बढ्दो छ। विशेषगरी दोस्रो विश्वयुद्धपछि राजनीति तीव्र गतिमा ध्रुवीकृत भइराखेको छ। एक अध्ययन प्रतिवेदनले देखाएअनुसार अवसरको कमी, अस्थिरता, आतंकवाद, गरिबी र द्वन्द्वका कारण करिब सात करोड मानिस विभिन्न देशमा विभिन्न हैसियतमा आप्रवासी बनेको अवस्था छ। राज्य समान व्यवहार गर्दै सामाजिक न्याय प्रदान गर्न असफल भइराखेको छ। रोजगारीका अवसरहरू प्राप्त नहुँदा अपराधकर्म विस्तार भएका छन्।
राजनीतिक ध्रुवीकरण र अस्थिरताले गर्दा धेरै मुलुक समृद्धिको दिशातर्फ अभिमुख हुन सकेका छैनन्। गलत राजनीतिक क्रियाकलापहरूका कारण समाज विस्तार प्रदूषित बन्दै गएको छ। गुणस्तरीय स्वास्थ्य र शिक्षा प्राप्त हुन नसक्नु र पर्याप्त खाद्यान्नको अभावका कारण विश्व जनसंख्याको ठूलो हिस्सा अन्यत्र चलायमान हुन विवश भइराखेको छ। राज्य र सरकारका विभिन्न निकायले निर्धारण गरेका लक्ष्य एवं कार्यक्रमहरू उपयुक्त सूचना प्राप्त गरी सोको सही विश्लेषणका आधारमा निर्धारण भएन। पुरातन प्रक्रियाको अवलम्ब(नबाट हुँदै जाँदा समाजमा अस्वीकार्य हुने अवस्थामा वृद्धि भइराखेको छ।
यस प्रकार गरिने सार्वजनिक सेवा प्रवाहले जनताका आवश्यकताहरूको पर्याप्त रूपमा सम्बोधन गर्न सकिराखेको छैन। सूचनामूलक आधुनिक समाजले उत्पादनका प्रविधिहरूमा परिवर्तन गर्ने श्रम बजारको प्रकृतिमा सुधार ल्याउन माग पक्षको विस्तृत अध्ययन र विश्लेषण गरी परिवर्तन ल्याउने, सर्वसाधारणको भलाइमा केन्द्रित हुँदै सामाजिक विधि व्यवहार, संस्कृति र संरचनामा परिवर्तन ल्याउनुपर्छ। सम्पूर्ण मानव जगत्को जीवनस्तर र शैलीमा सकारात्मक परिवर्तन गराउने कार्य गर्नुपर्छ। र, मौलिक रूपान्तरण सम्भव बनाउने जस्ता कार्यहरू सफलतापूर्वक गर्न सक्नुपर्छ।
मागमा आधारित हुँदै इच्छा, आवश्यकता र छनोटका अवसरहरू प्रदान गर्दै यस्ता कार्यक्रमसँग सम्बन्धित जनताहरूको सहभागिता सुनिश्चित नगर्दासम्म राज्यबाट सञ्चालित कार्यक्रमहरूको खासै उपादेयता रहँदैन। त्यसैले जनताका विश्वासपात्र व्यक्ति वा संस्थाहरूलाई साथमा लिई कार्य गर्दा मात्र राज्य वा सरकारले सफलता प्राप्त गर्दछ। त्यसका माध्यमहरू जनताद्वारा निर्वाचित प्रतिनिधिहरू, स्थानीय स्तर र अन्तर्राष्ट्रिय क्षेत्रबाट परिचालित भइराखेका स्वयंसेवकहरू र जनता आफैं प्रत्यक्ष संलग्न रही निर्णय दिने प्रक्रियाहरू हुन्। यी तीन वटैमा सरकार, जनप्रतिनिधि, समग्र राज्य एवं समाजका बीचको इमानदार सेतुका रूपमा स्वयंसेवकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिराखेका छन्। यस्ता स्वयंसेवकहरूको संस्था वा व्यक्तिको पूर्ण परिचालन गरी सहयोग प्राप्त गर्दै अघि बढ्नुपर्छ। अनि मात्र सरकार आफ्नो गन्तव्यमा पुग्न सक्ने भई जनताद्वारा त्यस्तो सरकारले मान्यता प्राप्त गर्ने गरेको उदाहरण विश्व राजनीतिमा पर्याप्त मात्रामा पाउन सकिन्छ।
आधुनिक समाजमा स्वयंसेवकहरूको योगदान धेरै प्रकारले महŒवपूर्ण रहँदै आएको छ। यो विशेषगरी गैरनाफामूलक संगठनहरूको क्षमता विकासका लागि बढी महत्वपूर्ण साबित भएको छ। गैरनाफामूलक संस्थाहरूमा गरिएको अध्ययनको निष्कर्षले यो प्रमाणित गरेको छ। जब राज्य कमजोर प्रतीत हुन्छ तव स्वयंसेवकहरूको उपादेयतामा वृद्धि हुन्छ। आधुनिक समाजको प्रगतिका लागि यसलाई पूर्व आवश्यकताका रूपमा हेरिन्छ। सरकार र राज्यले आफ्ना दायित्वहरू पूरा गर्न नसकेको स्थितिमा र राज्य असफलतातर्फ उन्मुख भएको अवस्थामा यसको क्रियाशीलतामा वृद्धि हुन्छ। यसले सबै कार्य आफैं गर्दैन तर समाज, राज्य र सरकारलाई सहयोग प्रदान गरी परिपूरकको भूमिका निर्वाह गर्दछ।
स्वयंसेवकहरूको उपयुक्त परिचालनबाट राज्यले सहयोग प्राप्त गरी समाजलाई रूपान्तरण गर्न सक्दछ। देशको विकास निर्माण कार्यको मूल प्रवाहमा समेट्ने गरी राज्यले कानुनी र संस्थागत व्यवस्था मिलाउनुपर्ने अवस्था छ।
राज्य सञ्चालनको विषय र नाफामूलक संस्थाहरू भन्दा यस्ता संस्थाहरूले आफ्नो छुट्टै पहिचान कायम गरेका हुन्छन्। नागरिकसँगको सहभागिताबाट स्वयंसेवकहरूले गर्ने योगदान राज्यको कार्यशैलीभन्दा पृथक् हुन्छ। विश्व परिवेशमा आएको परिवर्तनका कारण सम्पूर्ण जगत् नै डिजिटल युगमा प्रवेश गरिसकेको छ। अर्थ व्यवस्थामा देखिएको यस प्रकारको परिवर्तनलाई आत्मसात् गर्न उपयुक्त प्रकारले सूचना प्राप्त गर्न सकिन्छ। यसको प्रयोगबाट फाइदा लिँदै प्रतिस्पर्धी वातावरणको माग अनुरूप डिजिटल अन्तरक्रिया गर्न सक्ने जनशक्तिको विकास गर्नुपर्ने चुनौती पनि उत्तिकै प्रबल छ।
पुरातन प्रकारका कार्यशैलीहरू विस्तारै विस्थापित हुँदै जाँदा आफूलाई सोही अनुरूप समायोजन प्रत्येक समाजले गर्न सक्नुपर्छ। यसरी बजार प्रतिस्पर्धात्मक बन्दै जाँदा आआफ्नो सीप र क्षमताको समयसापेक्ष हिसाबले तन्दुरुस्ती अवस्थामा राख्न नसक्नेहरू श्रम बजारमा खपत हुन सक्दैनन्। यसै कारणले आधुनिक समयमा सबै प्रकारका जनशक्तिलाई रोजगारी उपलब्ध गराउने विषय गौण बन्दै गएको छ। डिजिटललगायतका विकास कम हुने देशहरूका न्यून गुणस्तरीय जनशक्तिले पनि न्यून पारिश्रमिक पाएका छन्। पूर्वी युरोप र विकासशील देशहरूमा रोजगारीका अवसरहरू पाइराखेका छन्। यी देशहरूको प्रतिस्पर्धी क्षमता पनि कम छ। यस अवस्थामा स्वयंसेवक संस्थाहरूले सरकारलाई स्वस्थ सुझावसहितको दबाब सृजना गरी उपयुक्त प्रकारका नीति एवं कार्यक्रमहरू कार्यान्वयनमा ल्याउन सहज बनाउने गर्दछ।
स्वयंसेवकहरूले सामाजिक सौहार्द्रताको अभिवृद्धि गर्छन्। सामाजिक समावेशीकरणको माध्यमद्वारा सीमान्तकृत, जोखिममा परेका कमजोर वर्गलाई मूलप्रवाहीकरण गर्ने, स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सम्बन्ध विस्तार गर्ने, रोजगारीका अवसरहरू प्रदान गर्ने जस्ता कार्यहरू सम्भव हुन्छ। नागरिकहरूको उत्साहप्रद सहभागिता भएको समुदायले अत्यधिक राम्रो प्रगति गरेको देखिन्छ। अनौपचारिक प्रकृतिको समूहको सहभागिता र गतिशीलताबाट सूचनाहरूको प्रवाह गर्दै ठूलाठूला सामाजिक समस्याहरूको समेत समाधान सम्भव भएको छ। विश्वभर सूचनाको आधारशिलाहरू उपलब्ध गराई समुदायको सम्बन्ध विश्वव्यापीरूपमा स्थापित गराउन सञ्जालहरूको सबलीकरण र विस्तार सम्भव हुने गरेको छ।
यिनीहरूले सामूहिक प्रयासद्वारा छनोटका अवसरहरूमा उल्लेखनीय वृद्धि गराई जोखिमको सामना गर्छन्। यी सबै महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा विशेषगरी संकटकालको समयमा वृद्ध, असहाय एवं कमजोरहरूलाई सहयोग हुन्छ। उक्त सन्दर्भमा विभिन्न प्रकारका शिक्षा र तालिमको माध्यमबाट जनजागरण ल्याइन्छ। विभिन्न चपेटामा परी आप्रवासी वा शरणार्थीका अवस्थामा पुगेकाहरूलाई सहयोग पु¥याउने काममा, परम्परा र संस्कृतिको संरक्षण गर्न, वातावरणको संरक्षण गर्दै यसमा पर्दै गएको प्रतिकूलतालाई न्यूनीकरण गर्न, तयार भएका विकासका आधारशिलाहरूको संरक्षण र मर्मत गर्न, स्वास्थ्य सेवाको विस्तार गर्न यस्ता संस्थाहरू विश्वभर प्रभावकारी देखिएका छन्। विश्व संस्थाहरूले यस्ता प्रकारका सस्थाहरूको उपादेयतालाई दृष्टिगत गरी विभिन्न प्रकारका जिम्मेवारी प्रदान गर्दै आएको छ।
आधुनिक जगत्ले सामना गरिराखेको उल्लिखित चुनौतीहरूको समाधान गर्ने उपयुक्त कार्यक्रमको रूपमा सन् २०३० सम्म पूरा हुन्छ। सहस्राब्दी विकासका लक्ष्यहरू प्राप्त गर्ने क्रममा स्वयंसेवकको पर्याप्त मात्रामा परिचालन गर्ने गरी उक्त कार्यक्रम अघि बढेको अवस्था पनि छ। यसका लागि स्रोत र साधनको अत्यधिक परिचालन गर्दै उपलब्ध सीप र प्रतिभाको उपयोग हुनुपर्ने हुँदा सर्वसाधारण जनताको स्वीकार्यता र प्रख्यातिले गर्दा स्थानीयदेखि संयुक्त राष्ट्र संघसम्मका स्वयंसेवकले मात्र यी चुनौतीहरूको सामना र समाधान गर्न सक्ने अवस्था प्रस्ट भएको छ। स्वयंसेवक संस्थाहरूको महत्वलाई सम्मान गर्दै चेक गणतन्त्रले कुनै पनि कार्यको उपादेयता र स्वीकार्यता महसुस गराउँछ। पूर्वआवश्यकता र गुणस्तरको बारेमा चनाखो बन्ने, फुर्सदको समय राष्ट्र निर्माणका लागि खपत गर्ने, जनतालाई विश्वस्त बनाउने, इमान्दारिताका साथ काम गर्ने बानी बसाल्नेमा बिनास्वार्थ समर्पित हुनेछ।
सबै क्षेत्रमा सहभागिता दिने, व्यक्ति वा संस्थाको पहिचान कायम गराउने, सम्बन्धित सबैको क्रियाशीलताको सुनिश्चितता गराउँदै जीवनलाई ऊर्जामय बनाउने जस्ता कार्य गरी स्वयंसेवकलाई राष्ट्र निर्माणमा अत्यधिक संलग्न गराउने गरेको पाइन्छ। डेनमार्कमा स्वयंसेवक र नागरिक समाजलाई कानुनी अधिकारसमेत प्रदान गरी राष्ट्र निर्माणका दिशामा जवाफदेही बनाउने प्रयास भइराखेको छ। डेनमार्कमा यस्ता संस्थाहरूले सरकारलाई ठीक दिशामा परिचालन गर्न संवैधानिक निकायहरूलगायतका महŒवपूर्ण जिम्मेवारी प्रदान गर्न उपयुक्त व्यक्तिहरूको छनौट गर्दै सिफारिससमेत गर्दछ। अन्य देशले पनि यस्ता संस्थाहरूबाट परोपकारी कार्यहरूमा गरेको दान रकममा कर छुट दिने र यस्ता दानवीरलाई सम्मान गर्ने गरिआएको छ।
यस्ता समाजसेवी संस्थाहरूलाई सबै देश एवं समाजले स्वीकार गरी उनीहरूको सहयोग राष्ट्र निर्माणका दिशामा उपलब्ध गराउने गरिआएका छन्। आधुनिक विश्वको एक अर्ब जनसंख्या यस पवित्र कार्यमा जुटेका छन्। यसलाई समाज निर्माणको एक अंशको रूपमा स्वीकार गरिएको छ। विकास र शान्तिका लागि अत्यन्त महत्वपूर्ण माध्यम मानिएको छ। यसमा पुरुषको तुलनामा महिलाहरूको बाहुल्य (५७ प्रतिशत) पाइएको छ। निष्कर्षमा भन्नुपर्दा विकासका साझेदार संस्थाहरूले यसलाई गौण आकलन गर्ने, राज्यले उपयुक्त प्रकारले परिचालन गर्ने व्यवस्था नमिलाउने गरिआएको विशेष गरी विकासशील राष्ट्रहरूमा पाइएको छ। यो सोचाइमा पुनरावलोकन जरुरी हुन्छ। क्लब, युनियन, समाज, संगठन आदिद्वारा पु¥याइएका योगदानहरूको उच्च मूल्यांकन गर्दै सरकारले पुरस्कृत गर्नुपर्छ। कुनै बैठक, सभा, सम्मेलनमा दिएको योगदानको उचित कदर गरिनु पर्दछ। समाजका सामर्थवान् धनी व्यक्तिहरूले समस्याको समाधान स्रोत र साधनको बलमा गर्दछन् भने गरिब र कमजोरहरूले आपसी सहयोगबाट समाधान गर्दछन्।
संकटको समयमा शीघ्र सहयोग प्रदान गर्न यी संस्थाहरूको महŒव ज्यादा हुन्छ। त्यसैले यी संस्थाहरूलाई समुदायको वास्तविक र ननासिने सम्पत्तिका रूपमा लिइन्छ। स्वयंसेवकहरूको उपयुक्त परिचालनबाट राज्यले सहयोग प्राप्त गरी समाजलाई रूपान्तरण गर्न सक्दछ। देशको विकास निर्माण कार्यको मूलप्रवाहमा समेट्ने गरी राज्यले कानुनी र संस्थागत व्यवस्था मिलाउनु पर्ने अवस्था छ। यस्ता संस्थाहरूले सार्वजनिक संस्थाहरूको जस्तो ठूलाठूला लगानी गर्न सक्दैनन्। स्थानीय जनतासँग भावनात्मक सम्बन्ध सुमधुर बनाउनुपर्छ। सबै समुदायबीच एकता कायम गर्दै स्थानीय समस्याहरूको स्थानीय स्तरमै शीघ्र र व्यावहारिक समाधान दिँदै, समस्या समाधानका लागि परिस्थितिजन्य आधारहरू तयार पर्दै अघि बढ्ने भएकाले यसलाई राज्यले अत्यधिक परिचालन गर्न सक्नुपर्छ। तसर्थ, यो विकास र राष्ट्र निर्माणका लागि अत्यावश्यक छ। त्यसैले स्वयंसेवकहरू र यससँग सम्बन्धित संस्थाहरू राष्ट्र निर्माणका दिशामा साधन र साध्य दुवै मानिएका छन्।