भाषा : मानवेतर कि अव्याख्येय

भाषा : मानवेतर कि अव्याख्येय

संसारमा मानिसका खण्डेर वर्ण र मानवेतर भाषालाई अव्याख्येय भाषाका स्थानमा राख्नु औचित्यपूर्ण हुने देखिन्छ।


मानिसको भाषालाई स्पेक्टोग्राफ, असिलोग्राफ, क्रोमोग्राफजस्ता वैज्ञानिक यन्त्रद्वारा व्याख्या गर्ने आधारको विकास भइसकेको छ। प्रविधिले मान्छेको भाषाको व्याख्यामा जोड दियो किनकि प्रविधि मान्छेले बनाएको हो। अर्को यथार्थ त हरेक यान्त्रिक उपकरण अंग्रेजी भाषामैत्री भएका हुन्छन् किनभने यस्ता यान्त्रिक आविष्कारमा अंग्रेजी भाषीको पहुँचले भूमिका खेल्दो हो ! यसो भनिरहँदा चीनमा आविष्कार भएका चिनियाँ भाषामैत्री बनेका हुन्नन्। यो सालाखाला हिसाब हो। अंग्रेजी भाषा विश्वव्यापी प्रयोगमा बाहुल्य पाएको भाषा भइदिएकाले हामी यसैको प्रभावमा बढी आकर्षित भइरहेका छौं।

मान्छेले भाषाविज्ञानका आधारहरू तय गर्‍यो। संसारका भाषाको व्याख्याका क्रममा सार्वभौमिक सिद्धान्त र प्रयोग सापेक्षतालाई तालमेल गराएर परीक्षणीय, मापनीय, सार्वभौम, व्याख्यात्मक, ठोस, प्रामाणिक लगायतका विभिन्न वैज्ञानिक आधारलाई निक्र्योल गरियो। नोम चम्स्कीले २०औं शताब्दीपछि भाषाविज्ञानलाई वैज्ञानिक रूप दिए। अझ भाषालाई सार्वभौमिक आधार प्रदान गर्ने गरी सन् १९८६ मा युरोपेली ध्वनि वैज्ञानिक पल पासी र उनका सहयोगीद्वारा अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमालाका विषयमा काम भएको पाइन्छ। यसै क्रमलाई अन्तर्राष्ट्रिय ध्वनितात्त्विक परिषद्ले सन् १९८८ मा अगाडि बढायो। सन् १९१८ मा अन्तर्राष्ट्रिय ध्वनितात्त्विक संघ (आईपीए) ले ध्वनि वैज्ञानिक ड्यानियल जोन्सको चतुर्भुजाकारमा तयार पारिएको मानस्वरसम्बन्धी व्याख्यालाई मान्यता दिएर स्वर ध्वनिको चर्चालाई अघि सारेको थियो। मानस्वरका रूपमा यो मानव भाषा विकासको एउटा क्रम हो। अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमालामा संसारका सबै भाषाहरूलाई एउटै लिपिमा उतार्न सकिने, न्यूनतम खण्ड ध्वनिलाई अङ्कन गर्न सकिने, कथ्यमा सीमित भाषालाई लेख्य रूप प्रदान गर्ने, खण्डेतर ध्वनिलाई जनाउने संकेत चिन्हजस्ता विशेषताहरूले भाषिक व्याख्यालाई सम्भव तुल्याइयो। यसो भनिरहँदा पूर्वीय विद्वान्हरू पाणिनि, पतञ्जलि, यास्क आदिको भाषा र व्याकरणगत व्याख्याका सूत्रात्मक आधारलाई खोज्न आवश्यक रहेको पनि बोध हुन्छ। पूर्वीय दर्शनभित्रको सारवस्तुमाथि गहन अध्ययन, विकास र विस्तारको तह कमजोर हुँदा हामीले एककाँधे व्याख्यामा दिलचस्पी राखिरहेका छौं।

अर्को कोणबाट हेर्दा सबै प्राणीहरूले भाषाको प्रयोग गरेका हुन्छन्। प्राणीअनुसार भाषाको पनि फरकफरक स्वरूप पाइन्छ। हामीले पढ्दैसुन्दै आएका छौं– ह्वेल माछाले कोसौं टाढा रहेका अन्य ह्वेलसँग कुराकानी गर्न सक्छन्। अझ ह्वेल माछाले कतिपय मानिसले प्रयोग गर्ने शब्द उच्चारण गरेको समाचारसमेत प्रकाशित भएको पाइएको छ। तथापि, व्यतिरेकी ध्वनिलाई मात्र भाषा मान्ने भाषावैज्ञानिक सारलाई मनन गर्दा मानवेतर प्राणीका भाषाको अध्ययन गहन रूपमा नभएको पो हो कि ! अर्थात् स्वर (अ, आ, इ, उ, ए, ओ) लाई र व्यञ्जन (क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्, झ्, ट्, ठ्, ड्, ढ्, त्, थ्, द्, ध्, न्, प्, फ्, ब्, भ्, म्, य्, र्, ल्, व्, स्) लाई गरी क्रमशः ६ ओटा स्वर र २९ ओटा व्यञ्जन ध्वनिलाई व्याख्या गरिएको छ। यसका अलावा अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमालामा खण्डीय उपचिह्नहरूलाई पनि उल्लेख गरिएको छ। यसरी हेर्दा यसबाट मानव भाषालाई ध्वनितात्त्विक सूक्ष्मतालाई देखाइएको छ।

‘भाषागत प्राणीशास्त्रीय प्रकृतिको नियम’
भाषामा प्राकृतिक अवस्था हुने र नहुने तथा कुकुर, सुगालगायतका प्राणीले मानिसको भाषा बुझ्ने तथा निर्देशन मान्ने गरेको देखिएकाले मानवेतर प्राणी भाषिक अभ्यासमा निर्बल चाहिँ होइनन्। भाषाविद्ले मान्छेको भाषामा गहन अध्ययन गरेकाले मानवेतर भाषालाई भाषा नै नमानेको देखिन्छ। तथापि, संसारको अभ्यासका आधारमा मानिसले विज्ञान र प्रविधिमैत्री भाषाको विकास गरे। तर पनि पशुप्राणीको प्राकृतिक वा जन्मजात भाषिक गुणका आधारलाई नकार्न मिल्दैन। भाषा जीवन सञ्चालनका लागि हो र हरेक प्राणीले आफ्नो जीवन सञ्चालनार्थ आवश्यक पर्ने भाषालाई आफ्नै प्राकृतिक आधारमा अपनाइरहेका हुन्छन्। बरु त्यो गहिराइसम्म पुगेर मानिसले अध्ययन गर्न नसकेको मात्रै हो।

मानवेतर प्राणीमा सम्भोगको समयमा प्रयोग गर्ने भाषा तथा हाउभाउ र खाना खाँदा प्रयोग गर्ने भाषामा फरक हुनु, एकै थलामा बाँधिएका भैंसी र गाईका बीचमा समेत अन्तरत्र्रिmया हुनु, एकै हुलमा रहेका बाख्रा र भेडाका बीचमा गोठालो वा मालिकलाई छलेर बाली चोर्ने सल्लाह मिल्नुले पनि बिजातीय तर एकै वर्गका मानवेतर प्राणीबीच आपसमा विचार विनिमय भएको देखिन्छ। अझ एकै बगालमा रहेका फरक वर्गका बिजातीय मानवेतर प्राणीमा पनि भाषिक सञ्चरण अर्थात् विचार आदानप्रदान भएको देखिन्छ।

मानवेतर प्राणीले प्रयोग गर्ने भाषामा प्राकृतिक वा जैविक गुणको बाहुल्य रहन्छ। यिनको भाषा र मानिसको खण्डेतर ध्वनिमा समानता रहेको देखिन्छ। जस्तो सुर, तान, अनुतानमा उस्तो धेरै अन्तर रहेको देखिँदैन। मानिसको भाषामा आर्जन क्षमता बढी हुने हुँदा संज्ञान क्षमताको स्तर बढी भएको हो भन्नुपर्छ। मानिसले भाषा बनाउन र प्रयोग गर्न सक्छ त्यो मानिस हुनुको प्रकृति हो। मानवेतर प्राणीको प्रकृति अनुरूप अरूको भाषालाई जैविक गुणका आधारमा मात्र अपनाउन सक्ने देखिन्छ। तिनले आफ्ना लागि जीवन परिस्थितिलाई सञ्चालन गर्न आवश्यक पर्ने गरी भाषाको उपयोग गरेका हुन्छन्। गाईले आफ्ना बाच्छा–बाच्छीलाई प्रेमभाव व्यक्त गर्दा निकाल्ने आवाज र मालिकलाई देखेपछि उसले व्यक्त गरेको भावको आवाजमा अन्तर हुन्छ। यही परिस्थितिमा निस्कने बाख्राको आवाज आफ्नै हुन्छ। रानी मौरीको गन्ध संकेतद्वारा हुने आपसी सञ्चारलाई पनि खण्डेतर ध्वनिभित्र नै राख्न सकिएला कि ! यस मानेमा मानवेतर प्राणीले गन्ध, स्पर्श, ध्वनि संकेतादिबाट भाषिक सञ्चरण क्रियालाई सहजै उपयोग गरेका हुन्छन्। तिनको भाषा प्राकृतिक हुन्छ तर मानिसमा जस्तो एउटाको भाषा अर्कोले बुझ्ने प्रविधि मात्रै तिनीहरूमा नभएको हो अन्यथा तिनका भाषामा आफ्नै प्राकृतिक नियम हुन्छ जसलाई मान्छेले अपनाउन सक्दैन। उनीहरूले मानिसको भाषालाई अपनाउन सक्दैनन्। यसलाई ‘भाषागत प्राणीशास्त्रीय प्रकृतिको नियम’ मान्नुपर्छ।

व्याख्येय र अव्याख्येय भाषा
इन्डियन ओसियन अर्थात् हिन्द महासागरको वे अफ बंगालमा रहेको ‘नर्थ सेन्टिनल आइल्यान्ड’ मा हजारौँ वर्षदेखि बसेका आदिवासीको भाषा आफ्नै प्रकृतिको रहेको विज्ञहरूले बताउँछन्। तिनले २१औं शताब्दीको परिवर्तित वैज्ञानिक संसारको गन्धसमेत थाहा नपाएको अध्ययनमा बताइएको छ। हामी अन्य मानिसले तिनको भाषा र संस्कृतिका बारेमा जान्न र बुझ्न नपाएको देखिन्छ। यसको अर्थ भाषालाई प्राकृतिक परिवेश र आवश्यकताले आफैं चलायमान तुल्याएको हुन्छ।

भाषाविद्ले मान्छेको भाषामा गहन अध्ययन गरेकाले मानवेतर भाषालाई भाषा नै नमानेको देखिन्छ। तथापि, संसारको अभ्यासका आधारमा मानिसले विज्ञान र प्रविधिमैत्री भाषाको विकास गरे।

भाषा र मानिसको जीवनसँग समाज सञ्चालनको अकाट्य सम्बन्ध छ। मानिसको विकासक्रममा चेतनाको विकाससँगै भाषिक पक्षको विकास भएको बोध हुन्छ। आदिम सभ्यतामा मान्छेले विकास र उन्नतितिर लम्कने क्रममा जति भौतिक विकासतर्पm आपूmलाई मोड्यो त्यति धेरै भाषिक विकासको महत्तालाई पनि परिष्कार गर्‍यो। चम्स्कीको विचारलाई सापटी लिँदा मानिसमा आर्जन क्षमता भएकैले यो पक्ष सम्भव भयो अर्थात् मानिसमा भाषा सिक्ने भाषिक संयन्त्र एकाइ (ल्याङ्वेज एक्युसन डिभाइस) भएकाले उसले धेरै भाषा सिक्न सक्छ।

अर्कोतिर, प्राणी वा मानिसका भाषालाई धेरै हदसम्म बोध गर्दै जाँदा आर्जित गुणका आधारमा पशुप्राणी पनि सबल हुन्छन् भन्न सकिन्छ। आफ्नो मालिक वा परिचित सदस्यले रिसाएर, खुसी भएर, माया गरेर बोलेका भाषालाई कुकुर, सुगा, गाईजस्ता घरपालुवा जीवले सहजै बोध गरेको पाइन्छ तर मानिसले उनीहरूको सबै अवस्थाको भाषालाई त्यसरी बुझ्न सकेको देखिँदैन। यसरी भावनात्मक बोधगम्यताका कोणबाट हेर्दा मानिस मानवेतर प्राणीभन्दा कमजोर पनि त छ। मानव र मानवेतर प्राणीको भाषालाई खण्डीय र खण्डेतर वर्णगत आधारमा हेर्दा व्याख्येय र अव्याख्येय भन्नु सान्दर्भिक हुन्छ। मानिसले पशुप्राणीको भाषामा पनि सार्वभौमिक विशेषताबिचको साम्यता रहन्छ। मानिसले बनाएको प्रयोगशालाले पशुको भाषालाई व्याख्या नगरुन्जेलसम्म मानवेतर भाषा अव्याख्येय भाषा बनेको हो। यो अव्याख्येय हुनुको अर्थ पनि केवल मानिससँग मात्रै सम्बन्धित छ। मानवेतर प्राणीका लागि ‘भाषागत प्राणीशास्त्रीय प्रकृतिको नियम’ नै सबैभन्दा बढी प्रायोगिक धार हो। हरेक प्राणीले आपूmलाई चाहिने भाषालाई प्राकृतिक रूपमा प्राप्त गरेको हुन्छ। त्यो भाषा मोटरबाइकको हरन जस्तै हो किनभने त्यो एउटा सङ्केत हो। मानिसको भाषा पनि एउटा संकेत नै हो र यो मानिसका लागि व्याख्येय भाषा हो, मानवेतर प्राणीका लागि होइन।

संसारमा भाषाको अस्तित्व जीवन सञ्चालनार्थ सुरु भएर मानिस विश्वव्यापीकृत परिवेशमा खुम्चँदा भाषाको अस्तित्व पनि थोरै भाषामा गएर टुंगिन सक्छ। संसारमा प्रविधि र विकासले भाषाको विविधतालाई भण्डारण गर्नेसम्मको काम हुन सक्छ तथापि प्रयोग क्षेत्र कमजोर बन्दै जाने निश्चित छ। कालान्तरमा पशुप्राणीको भाषा जीवन सञ्चालनको प्राकृतिक आधार बने जसरी नै मानिसका लागि पनि भाषाको प्रयोग जीवन सञ्चालनको आधार मात्रै बन्न सक्छ। मानिसका लागि बहुभाषिकताले चलाएको समाज हराउने भय छ। यो पहिचान र भाषिक गरिमा विलुप्त हुने खतराका बारेमा मानिसले प्रभावकारी नीति र योजना तय गरेर अघि बढ्न सक्छ आधार रहन्छ किनभने मानिसको भाषा व्याख्येय भाषा हो। मानवेतर भाषामा विश्वव्यापीकरणको प्रभाव कमै मात्र रहन्छ।

 वस्तुतः संसारका भाषामा ‘व्याख्येय (व्याख्या गरिएका र गर्न सम्भव भएका) र अव्याख्येय (व्याख्या गर्न नसकिएका)’ गरी दुई भेद रहेको निष्कर्षमा पुग्न सकिन्छ। यसर्थ भाषा सञ्चारको माध्यम भएकाले पशुप्राणीको भाषा पनि उत्तिकै महत्त्व बोक्ने उनीहरूका लागि पूर्ण हुने भाषा नै हो। निष्कर्षतः मान्छेको भाषाचाहिँ भाषा हुने तर तिनको नहुने भन्ने हुँदैन। खण्डेतर वर्णका आधारका निकट स्थानमा मानवेतर भाषा होलान् तर पूर्ण रूपमा अव्याख्येय होइनन्। निश्चित सूचक र मापदण्डमा ती भाषा पनि व्याख्येय बन्न सक्लान् नै। तथापि, भाषाविज्ञानको घेरामा राखेर हेर्दा मानवेतर भाषामैत्री यान्त्रिक आविष्कारको अभावले मात्रै तिनका भाषा अव्याख्येय भएका हुन सक्छन्।

मानिसले जसरी नै अन्य प्राणीले पनि भाषालाई आफ्नै तरिकाले प्रयोग गर्छन्। भाषावैज्ञानिक मतका आधारबाट मानिसको भाषालाई मात्र वास्तविक रूपमा भाषाको तहमा राखेर व्याख्या गरिएको पाइन्छ। मानिसले प्रयोग गर्ने भाषाभित्रका मात्रा, बलाघात, अनुनासिकता, सुर–तान र अनुतान, श्वसन, संहिताजस्ता खण्डेतर ध्वनिलाई भाषा मानिँदैन। स्पर्श, सङ्केत, हाउभाउ, चेष्टा, अंग सञ्चालन, भाषेतर आवाज आदिलाई माध्यम बनाएर पनि मानिसले आफ्ना कुरालाई बुझाउन सक्छ तर यस्ता क्रियालाई भाषाविज्ञानको परिभाषा अनुरूप भाषाका स्थानमा समेट्न सकिँदैन। फलतः भाषाविज्ञानले खण्डेतर ध्वनिलाई वैज्ञानिक आधारमा खण्डीय (स्वर र व्यञ्जन) वर्णलाई जसरी व्याख्या गर्न सकेको छैन। यसको अर्थ स्फोटवादमा भनिएजस्तो अक्षरलाई शब्दब्रह्म मान्ने तहसम्म गएर मानवेतर भाषालाई ठोस रूपमा विश्लेषण गर्न सकेको देखिँदैन। त्यसैले संसारमा मानिसका खण्डेर वर्ण र मानवेतर भाषालाई अव्याख्येय भाषाका स्थानमा राख्नु औचित्यपूर्ण हुने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.