खानेपानीका हाकिमलाई कालोमोसो दलेर नगर घुमाइयो, प्रहरी मूकदर्शक
जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु आन्दोलनको नाममा अराजक बनेका छन् । पार्टीका कार्यकर्ताहरुले आन्दोलनको नाममा नेपाल खानेपानी तथा संस्थान जनकपुरका निमित्त प्रमुखलाई कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर कालोमोसो दल्दै नगर परिक्रमा गराएका छन् ।
लगातार परेको भारी वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको हो ।
दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले लाठी, फराठासहित गुण्डागर्दी शैलीमा खानेपानी प्रमुखलाई जबरजस्ती सडकमा घिसार्दै, लछार्दै–पछार्दै नगरपरिक्रमा गराएका छन् ।
जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गरेको थियो । उनीहरुले निमित्त प्रमुख कुश्वाहाले लगाएको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए । निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर गुण्डाशैलीमा कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मूकदर्शक थियो ।
यसअघिको आन्दोलनमा समेत सिके राउतका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै जनकपुरधाम उप–महानगरपालिकामा तोडफोड गरेको थियो । कार्यालयको ढोकासहित अन्य स्थानमा लाठीसहितका सामग्रीले तोडफोड मच्चाउनुका साथै कर्मचारीले समेत हातपात गरेको थियो ।