'कम्युनिस्टले संविधान जोगाउन नसकेपछि कांग्रेस सत्तामा आयो'
दार्चुला : नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु आफ्नो गृह जिल्ला दार्चुला सदरमुकाम पुगेका छन्। मन्त्री बडुले कम्युनिस्टले नेपाली जनताले दिएको जनमतको कदर गर्न नसक्दा कांग्रेस सरकारमा आएको बताएका छन्।
मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका बडुले नेपाली कांग्रेस दार्चुलाले बिहीबार आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको संविधान नै खतरामा पर्ने भएपछि कांग्रेस सत्तामा गएको बताए।
वर्तमान सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै बडुले विकास निर्माणदेखि निर्वाचन गराउने र जनताका अपेक्षालाई सम्बोधन गर्नेजस्ता महत्वपूर्ण जिम्मेवारी सरकारको काँधमा रहेको बताए। जनताले कम्युनिस्टहरुलाई पाँच वर्षसम्म मुलुक संचालन गर्ने जिम्मा दिएको तर, उनीहरु आपसमै झगडा गरेर बसेको बेला प्रतिपक्षको भूमिकामा बसेको कांग्रेस जनादेशको सम्मान गर्दै सत्तामा आएको उनले बताए।