बेनी–जोमसोम सडकमा यात्रुको बिजोग

बेनी–जोमसोम सडकमा यात्रुको बिजोग

बेनी : परिवारसँगै मुस्ताङ भ्रमणमा गएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो। सामान्य अवस्थामा ७६ किलोमिटर दुरीको यो सडक पार गर्न चारदेखि पाँच घण्टा लाग्दथ्यो। 

मंगलबार बिहान जोमसोमदेखि हिंडेका अधिकारीको टोली बुधबार राती बेनी आएको थियो। ‘मुस्ताङ घुम्दा जति रमाइलो सडकमा पाएको पीडा र सास्तीले बिर्सायो’, उनले भने, ‘लगातारको वर्षात र जीर्ण सडक अवस्थाले मुस्ताङ यात्रा दुखदायी बन्यो।’ 

पहिरोग्रस्त रुप्सेछहरा, काभ्रे, बाँदरजुँगभीर र राहुघाट क्षेत्रमा सवारी जाम हुँदा हजारौं यात्रुले दैनिकजसो सास्ती पाएका छन्। साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दुईतर्फी गाडी आवत जावत हुन सक्दैनन्। मुस्ताङ भ्रमणबाट फर्किएका नुवाकोटका अच्युत ढकालले राहुघाटको पहिरोमा ११ घण्टा जाममा फसेर सास्ती पाएको दुखेसो पोखे। 

‘जोखिमयुक्त ठाउँमा नियमित मर्मत र सवारी आवत जावतको व्यवस्थापन नमिलाउँदा मुस्ताङ जाने आउने पर्यटकको बिगोज भएको छ’, ललितपुरका दिपक बिष्टले भने, ‘फसेको गाडी तान्न एक हजार रुपैयाँ तिर्नुपर्‍यो। होटल ब्यवसायीले अप्ठ्यारो अवस्थाको मौका छोपेर महँगोमा खाजा, खाना बेचेका छन्।’ 

दसैंलगत्तै म्याग्दी र मुस्ताङको प्राकृतिक सौन्दर्यमा रमाउन आएका पर्यटकले बेनी–जोमसोममा पाएको दुखले म्याग्दीको बारेमा नकारात्मक सन्देश प्रवाह गराएको छ। बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो। 

दसैंलगत्तै मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो। ‘दसैंको बिदामा रमाइलो गर्न आएको कहिल्यै नपाएको दुख पाइयो’, पोखराका तिलक पौडेलले भने, ‘राहुघाट र काभ्रेको जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने बिर्सने रहेछ।’

‘मनसुन सफा नभइ मुस्ताङ आउने हतारो नगरौं’, बिराटनगरका हरि शर्माले भने, ‘बेनी–जोमसोम सडकको यात्रा कष्टकर मात्र होइन, जोखिम पनि उस्तै छ।’ बेनी–घाँसा खण्डको राहुघाट, चमेरे, महभीर, गुइठे, काभ्रे र बाँदरजुँगभीरमा सडक हिलाम्मे छ। सडक विस्तार गर्ने क्रममा भित्ता डोजरले खनेर छोडेकोले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको हो। रुप्से र बेगखोलामा बाढी आउँदा सवारी साधन वात जावत गर्न सक्दैनन्। 

एकतर्फी यातायात सञ्चालन हुने पहिरोग्रस्त र जोखिमयुक्त ठाउँको सडकमा ठूला बस फसेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए। सीमित प्रहरी र स्थानीयले मात्र जाम खुलाउन समस्या भएको उनले बताए।  

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डलाई ४ वटा प्याकेज बनाइ नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न  २ अर्ब ४९ करोड रुपैयाँको लागतमा सडक विस्तारको काम गरिरहेको छ। वि.स. २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ। 

आयोजनाका ठेकेदार शर्मा–युनाइटेड, ओमकार्यश्वर र शर्मा–गजुरमुखीले स्काभेटर तयारी अवस्थामा राखेर सडकमा नियमित यातायात सञ्चालनको पहल गरे पनि निरन्तरको वर्षात, प्रतिकुल भूगोल र सवारी साधनको अत्याधिक चापले समस्या भएको जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.