अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सार्वजनिक गर्दै, दक्षिण कोरियाले स्वदेशमै बनेको पहिलो रकेट गर्‍यो प्रक्ष्येपण

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सार्वजनिक गर्दै, दक्षिण कोरियाले स्वदेशमै बनेको पहिलो रकेट गर्‍यो प्रक्ष्येपण

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सार्वजनिक गर्न लागेका छन्। फेसबुकर ट्वीटरले उनलाई प्रतिबन्ध गरेपछि आफ्नै सामाजिक सञ्जाल ल्याउन लागेका हुन्। यसैगरी दक्षिण कोरियाले स्वदेशमै बनेको पहिलो रकेट प्रक्ष्येपण गरेको समाचार बिहीबार चर्चामा रह्यो। प्रस्तुत छ, बिहीबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित केही प्रमुख खबरहरू :


दक्षिण कोरियाले स्वदेशमै बनेको पहिलो रकेट गर्‍यो प्रक्ष्येपण

सिओल : दक्षिण कोरियाले स्वदेशमै बनाएको पहिलो रकेट प्रक्ष्येपण गरेको छ। अन्तरिक्ष अन्वेषणको दौडमा सामेल हुन कोरियाले आफैँले बनाएको पहिलो रकेट प्रक्ष्येपण गरेको हो। 

नुरी नाम दिइएको सो रकेट कोरियाले बिहीबार सिओलदेखि ५ सय किलोमिटर दुरीमा रहेको गोहेउङबाट प्रक्ष्येपण गरेको थियो। सो रकेट प्रक्ष्येपणलाई कोरियन स्याटेलाईट लन्च भेइकल सेकेन्ड नाम दिइएको छ। 

सो प्रक्ष्येपणसँगै अन्तरिक्षमा सफलतापूर्वक रकेट पठाउने दक्षिण कोरिया संसारको सातौँ मुलुक बनेको छ। यद्यपि, दक्षिण कोरियाको सो प्रक्ष्येपणलाई विश्लेषकहरुले सैन्य दौडको रुपमा विश्लेषण गरेका छन्। 

नुरी रकेट निर्माणको जम्मा लागत करिब १.६ बिलियन डलर रहेको छ। सो रकेटको तौल २ सय टन र ४७.२ मिटर लामो रहेको छ। 

सन् २०२७ सम्ममा दक्षिण कोरियाले नुरी रकेटको अझै चारवटा प्रक्ष्येपण गर्ने योजना बनाएको कोरिया एरोस्पेस रिसर्च इन्स्टिच्युटले जनाएको छ।
००० 

चीन र भारतले पुन: सीमा वार्ता गर्ने 
नयाँ दिल्ली : चीन र भारत सीमा सम्बन्धमा पुन वार्ता गर्न सहमत भएका छन्। दुई पक्षबीच सीमा सम्बन्धमा बसेको शीर्ष सैन्य कमान्डरस्तरीय १३औं पटकको वार्ता निष्कर्षविहीन भएसँगै दुवै देश पुनः वार्ता गर्न सहमत भएका हुन्।

भारत–चीन सम्झौताअन्र्तगत दुई देशको सीमा सम्बन्धसम्बन्धी परामर्श र समन्वय कार्यतन्त्र डब्लूएमसीसीको बैठक बस्न दुवै पक्ष तयार भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। यद्यपि बैठकको मिति भने हालसम्म नतोकिएको बताइएको छ। 

हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै भारत र चीनबीच सचिवालयस्तरीय डब्ल्यूएमसीसीको बैठक बस्ने उल्लेख गरेको छ। सो बैठक पूर्वी लद्दाखमा रहेको कोङका पास, गोग्रा, गलवान आदि क्षेत्रको विवाद समाधान गर्नमा केन्द्रित हुने बताइएको छ। 

विवादित सीमा सम्बन्धमा दुई पक्षबीच अक्टोबर १० मा भएको १३औं पटकको वरिष्ठ सैन्य कमान्डरस्तरीय बैठकबिना निष्कर्ष टुङ्गिएको थियो।

पछिल्लो समय विवादित सीमामा चिनियाँ सेनाले गस्ती बढाएको भन्दै भारत चिन्तित बनेको थियो।
००० 

कस्मिरमाथिको ‘भारतीय उपनिवेश’ हटाउन पाकिस्तानको आह्वान 
इस्लामावाद : भारतले जम्मु कस्मिरमाथि गरेको उपनिवेश हटाउन पाकिस्तानले आह्वान गरेको छ। सो उपनिवेशन हटाउन पाकिस्तानले संयुक्त राष्ट्रसंघको डिकोलोनाइजेसन समिति र सुरक्षा परिषद्सँग आह्वान गरेको हो। 

स्पेसल पोलिटिकल एन्ड डिकोलोनाइजेसन समितिको साधारण सभामा बोल्दै पाकिस्तानी राजदूत मुनिर आक्रमले जम्मु कस्मिरमाथि भारत सरकारले गरेको नियन्त्रणलाई ‘खराब उपनिवेश’ भनेका छन्। 

कस्मिरमाथिको उपनिवेशवाद हटाउन आह्वान गर्दै आक्रमले भनेका छन्, ‘भारतले कस्मीर क्षेत्रमाथि गरेको उपनिवेश आधुनिक समाजको खराब उपनिवेशवाद हो। उपनिवेशवाद उन्मूलन संयुक्त राष्ट्रसंघीय एजेन्डाको अधुरो हिस्सा भएपनि त्यसको उन्मूलनमा राष्ट्रसंघले लाग्नुपर्छ।’ 

जम्मु कस्मीरका जनताले लामो समयदेखि अलग राज्यको माग गरिरहेका छन्।
०००   

जापानका पूर्व कानुनमन्त्रीद्वारा ३ वर्षे जेल सजाय स्वीकार
टोकियो : जापानका पूर्व कानुनमन्त्री कासुयुकी कवाईले बिहीबार तीन वर्षे जेल सजाय स्वीकार गरेका छन्। उनले आफ्नो श्रीमतीको लागि भोट किनेको आरोपमा सुनाइएको तीन वर्षे जेल सजाय स्वीकारेका हुन्। 

पूर्वमन्त्री कवाईले सन् २०१९ को चुनावमा आफ्नी श्रीमती एन्रि कवाईका लागि भोट किनेको आरोप लागेको थियो। उनलाई गत जुनमा टोकियो जिल्ला अदालतले करिब २८.७ मिलियन जापानी मुद्रामा स्थानीय सभाको चुनावमा भोट किनेको आरोपमा दोषी ठहर गरेको थियो। जुन महिनामा अदालतले सो आरोपमा ११ हजार २ सय डलर जरिवाना समेत सुनाए पनि जेल सजायको निर्णय भने लिएको थिएन। 

सन् २०१९ को सो चुनाव जितेकी श्रीमती एन्रिलाई यस वर्षको जनवरीमा अदालतले १६ महिनाको लागि जेल र पाँच वर्षको लागि निलम्बनको सजाय सुनाएको थियो। 

सोही आरोपमा पूर्व मन्त्री कवाईले आफ्नो तीन वर्षे जेल सजाय स्वीकारेको क्योडो न्यूजमा समाचार छ। 
०००

कोभिडविरुद्ध भारतले लगायो १ अर्ब खोप 
नयाँ दिल्ली : कोरोना महामारी (कोभिड १९) विरुद्ध भारतले १ अर्ब खोप लगाउन सफल भएको छ। देशभर १ अर्ब खोप लगाएसँगै भारतले बिहीबार कोभिड विरुद्धको खोप अभियानको आफ्नो लक्ष्य पुरा गरेको छ।

कोभिड १९ विरुद्धको खोपको लक्ष्य पुरा गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपचार र खोप अभियानमा खटिने सबै स्वास्थ्यकर्मीलाई बधाई दिएका छन्। १ अर्ब खोप लगाएको उपलक्ष्यमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुद्धको लडाईँमा नयाँ इतिहास रचेको र महामारीलाई चाँडै समाप्त गर्ने बताएका छन्। 

भारतमा कोभिड १९ विरुद्ध खोपको अभियान २०२१ जनवरीदेखि सुरु भएको थियो। सरकारले चरणबद्ध तरिकाले विभिन्न राज्यमा खोप अभियान थालेको थियो। यस महिना दैनिक ५० लाख खोप लगाएसँगै भारतले आफ्नो लक्ष्य हासिल गरेको र हाल भारतसँग करिब १० करोड ८५ लाख कोरोनाविरुद्धको खोप बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भारतमा कोभिडका कारण ४ लाख ५२ हजारले ज्यान गुमाएका छन्। भारतले १८ वर्षभन्दा कम उमेर समूहका मानिसलाई भने खोप वितरण गरेको छैन। 
०००

अफगान–पाकिस्तान सीमामा बम विस्फोट, ५ सुरक्षाकर्मीको मृत्यु 
बजौर : अफगान–पाकिस्तान सीमानजिकै बम विस्फोट हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ। सीमानजिक पाकिस्तानको पर्वतीय क्षेत्र खाइबर पाखतुङख्वा भेगमा भएको छुट्टाछुट्टै विस्फोटमा परी पाँच पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु भएको हो। 

बजौरका डीपीओ अब्दुल समद खानले डन न्यूजलाई बताएअनुसार सुरक्षा बल र प्रहरीबीच जारी संयुक्त खोजी अभियानको क्रममा बम विस्फोट हुँदा पाँच सुरक्षाकर्मीको ज्यान गएको हो। विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन्। 

विस्फोटको जिम्मा हालसम्म कसैले पनि नलिएको र प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ।
००० 

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल सार्वजनिक गर्दै 
वासिङटन : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ सामाजिक सञ्जाल सार्वजनिक गर्ने घोषणा गरेका छन्। उनले आफूले बनाएको सामाजिक सञ्जाल चाँडै सार्वजनिक गर्ने घोषणा गरेका हुन्। 

समाचार एजेन्सी एफपीका अनुसार ट्रम्पले आगामी महिना सामाजिक सञ्जाल सार्वजनिक गर्ने योजना बनाएका छन्। 

सो सञ्जाल ट्रम्प मिडिया एण्ड टेक्नोलोजी गु्रप (टीएमटीजी)को स्वामित्वमा सञ्चालन हुनेछ। ‘ट्रुथ सोसल’ नाम दिइएको ट्रम्पको सामाजिक सञ्जाल बेटा भर्सनमा लन्च गरिने टिएमटीजीले जनाएको छ।

‘मैले ट्रुथ सोसल र टिएमटिजी चाँडै सार्वजनिक गर्नेछु। जुन सत्य र तथ्य सन्दर्भसामग्रीको साथमा रहनेछ’,  बनाएपनि टिएमटिजीद्वारा हालै जारी विज्ञप्तीमा भनिएको छ।
०००

इरानले गर्‍यो देशव्यापी वायु सेना अभ्यास 
तेहरान : इरानले देशव्यापी वायु सेना अभ्यास गरेको छ। वार्षिक वायु सेना अभ्यासको कार्यक्रमअन्तर्गत इरानले बिहीबार देशव्यापी रुपमा सो अभ्यास गरेको हो। 

वायु रक्षा कार्यक्रम अन्तर्गत विशाल वायु सेना अभ्यास गरेको एक हप्तापछि बिहीबार देशव्यापी सैन्य अभ्यास गरेको स्थानीय मिडियाले बताएका छन्। 

अरब न्यूजमा प्रकाशित समाचार अनुसार इरानले वायु सेना अभ्यासमा बमवर्षक, लडाकु सैन्य विमान, सर्भिलेन्स ड्रोन आदि प्रयोग गरेको थियो। 

बढ्दो परमाणु कार्यक्रमलाई लिएर इरान किनारा लागेको बताइन्छ। सन् २०१५ को परमाणु कार्यक्रमलाई पुनः सञ्चालन गर्न इरानले समय नतोकेको बताइएको छ। 
०००

इजिप्टमा पहिलो पटक एकैपटक १ सय महिला बने न्यायाधीस 
कायरो : इजिप्टमा पहिलो पटक एकैपटक करिब एक सय महिला न्यायाधीस बनेका छन्। इजिप्टको मुख्य न्यायिक निकायमध्ये स्टेट काउन्सिलमा पहिलो पटक एकैपटक सो संख्यामा महिला न्यायाधीस बनेका हुन्। 

देशको न्यायपालिका क्षेत्रमा महिलालाई सशक्त बनाउने योजनाअन्तर्गत इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल सीसीले गत मार्चमा स्टेट काउन्सिलसमक्ष महिला न्यायाधीसलाई नियुक्त गर्न निर्देशन दिएका थिए। सो निर्देशनअनुसार हालै करिब १ सय महिला न्यायाधीसलाई नियुक्त गरिएको बताइएको छ। 

समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्टेट काउन्सिलको पहिलो ब्याचमा ४८  महिला सदस्यलाई न्यायाधीसको रुपमा नियुक्त गरिएको छ भने उप परामर्शदाताको रुपमा ५० न्यायाधीसलाई समावेश गराइएको छ। 

सन् १९४६ मा स्थापना भएको स्टेट काउन्सील इजिप्टको एक स्वतन्त्र न्यायिक निकाय हो। 

– संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.