दीपावलीमा भारतमै बनेका सामग्री खरिद गर्न प्रधानमन्त्री मोदीको निर्देशन, चीनले हमला गरे अमेरिकाले ताइवानको रक्षा गर्ने

दीपावलीमा भारतमै बनेका सामग्री खरिद गर्न प्रधानमन्त्री मोदीको निर्देशन, चीनले हमला गरे अमेरिकाले ताइवानको रक्षा गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीमा स्वदेशमै बनेका सामग्री खरिद गर्न निर्देशन दिएका छन्। यो खबर भारतीय सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशित गरेका छन्। यसैगरी चीनले ताइवानमाथि हमला गरे ताइवानको रक्षा अमेरिकाले गर्ने राष्ट्रपति जो बाइडेनले बताएको समाचार शुक्रबार प्रमुख रह्यो। बंगलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आक्रमणमा ७ जनाको ज्यान गएको खबर पनि चर्चामा रह्यो। प्रस्तुत छ, शुक्रबार चर्चामा रहेका केही विश्वका प्रमुख खबरहरू :


चीनले हमला गरे अमेरिकाले ताइवानको रक्षा गर्ने
वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले चीनविरुद्ध ताइवानको रक्षा गर्ने बताएका छन्। बाइडेनले यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका हुन्। 

अमेरिकाको अस्पष्ट रणनीतिबारे सीएनएनले गरेको प्रश्नको जवाफमा उनले ताइवानको बचाउ गर्ने टिप्पणी दिएका हुन्। ताइवानको सम्बन्धमा अमेरिकी नीति नबदलिएको बताउँदै ह्वाइट हाउसका प्रवत्ताले पत्रकारहरुसँग बाइडेनले भनेका छन्, ‘ताइवान सम्बन्ध ऐनमातहत अमेरिकाले ताइवानको रक्षा गर्न पाउने व्यवस्था छ। त्यसैले हामीले ताइवानको आत्मरक्षाको विषयलाई निरन्तर सहयोग गर्नेछौँ। साथै यदि चीनले ताइवानमाथि हमला गर्‍यो भने अमेरिकाले ताइवानको रक्षा गर्नेछ।’

यसअघि अगष्टमा राष्ट्रपति बाइडेन प्रशासनले ताइवानमाथि अमेरिकी नीति परिवर्तन नभएको बताएका थिए। साथै उनले ताइवानसम्बन्धमा अमेरिका र चीनबीच सम्झौता भइसकेको बताएका थिए। 

चीनले पछिल्लो समय स्वतन्त्र ताइवानमाथि विभिन्नखाले दबाब दिँदै आएको छ। चीनले अक्टोबर १ देखि लगातार तीन दिनसम्म ताइवानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाएपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको थियो। चीनको सो गतिविधिपछि चिनियाँ सेना र ताइवान सेनाको सम्बन्ध ४० वर्षयताकै खराब भएको प्रतिक्रिया ताइवानले दिएको थियो। 
०००

बंगलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा आक्रमण, सातको मृत्यु  
ढाका : बंगलादेशस्थित मुस्लिम रोहिङ्ग्या शरणार्थी क्याम्पमा आक्रमण भएको छ। बंगलादेश–म्यानमार सीमानजिकै भएको आक्रमणमा परी ७ शरणार्थीको मृत्यु भएको बंगलादेश प्रहरीले जनाएको छ। 

प्रहरीले शुक्रबार समाचार एजेन्सी एएफपीलाई बताएअनुसार आक्रमणकारीहरुले बन्दुक र चक्कु हानेर रोहिङ्ग्या शरणार्थीको हत्या गरेका छन्। घाइते भएकाहरुको संख्या भने प्रहरीले उल्लेख नगरेको बताइएको छ। 

घटनापश्चात ६ राउन्ड बन्दुक र एक चक्कुसहित एक आक्रमणकारीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी प्रमुख शिहाव केशर खानले बताएका छन्। 

करिब तीन हप्ताअघि रोहिङ्ग्या शरणार्थीका अन्तर्राष्ट्रिय प्रतिनिधि मोहिबुल्लाको बंगलादेशस्थित क्याम्पमै हत्या भएको थियो। मोहिबुल्लाको हत्यापछि रोहिङ्ग्या समुदाय र अन्य अधिकारकर्मी आक्रोशित बनेका थिए। 

गत डिसेम्बरमा करिब १० लाख रोहिङ्ग्यालाई बंगलादेशको भाषन चार टापुमा सार्ने बताएको थियो। तर पछिल्लो समय संयुक्त राष्ट्रसंघसँग भएको सहमतिअनुसार ८० हजार रोहिङ्ग्या शरणार्थी सो क्षेत्रमा सार्ने बताइएको छ। 
०००

अस्पताल भर्ना भएकी बेलायती महारानी डिस्चार्ज
लण्डन : प्राथमिक स्वास्थ्य जाँचको लागि ८ वर्षपछि अस्पताल भएकी बेलायती महारानी एलिजावेथ डिस्चार्ज भएकी छन्। बुधबार अस्पताल भर्ना भएकी उनी बिहीबार अस्पतालबाट डिस्चार्ज भएकी हुन्। 

डिस्चार्जपछि उनी आफ्नो निवास विन्डसोर क्यासल फिर्ता भएको बकिङहम प्यालेसले जनाएको छ। 

स्वास्थ्य जाँचका लागि उनी बुधबार लण्डनस्थित राजा एडवार्ड पाँचौँको निजी अस्पतालमा भर्ना भएकी थिइन्। उपचारमा संलग्न डाक्टरले उनलाई थप आराम गर्न निर्देशन दिएपछि महारानी एलिजावेथले बुधबार आयरल्याण्डको भ्रमण रद्द गरेकी थिइन्। 

९५ वर्षीया महारानी एलिजावेथ पछिल्लो समय विभिन्न कार्यक्रममा व्यस्त रहेको बताइएको छ। 
०००

अमेरिकी फिल्म अभिनेताले चलाएको नक्कली बन्दुकमार्फत निर्देशक र फोटोग्राफरको मृत्यु 
न्यूयोर्क : अमेरिकी फिल्म अभिनेताले सुटिङको क्रममा चलाएको बन्दुकले सिनेमाटोग्राफरको मृत्यु भएको छ भने फिल्म निर्देशक घाइते भएका छन्। अभिनेता एलेक बाल्डविनले फिल्म सुटिङको क्रममा चलाएको प्रप गन (नक्कली बन्दुक)मार्फत सिनेम्याटोग्राफर हल्यान हुचिन्सको मृत्यु भएको हो भने निर्देशक जोयल सौजा घाइते भएका हुन्।  

नक्कली बन्दुकबाट फिल्म निर्देशक जोयल सौजा घाइते भएको र फोटोग्राफीका निर्देशक हल्यान हुचिन्सको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। प्रहरीकाअनुसार सो घटना इन्डिपेन्डेन्ट फिचर फिल्म ‘रस्ट’ सुटिङको क्रममा बिहीबार भएको थियो। फिल्म निर्माण भइरहेको स्थान न्यू मेक्सिको राज्यको राजधानी स्यान्टामा सो घटना भएको थियो। 

‘नक्कली बन्दुकमार्फत फिल्मको सेटमा दुई व्यक्ति घाइते भएका छन् भने अभिनेताको मृत्यु भएको छ’, प्रहरीले विज्ञप्तीमार्फत भनेको छ। घटनाबारे हालसम्म उजुरी नपरेपनि अनुसन्धान तीब्र पारिएको प्रहरीले जनाएको छ। 

६८ वर्षीय बाल्डविन निर्माता र अभिनेता हुन्। उनीमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ। 
०००

रुसमा विस्फोटक प्लान्टमा आगलागी हुँदा ७ को मृत्यु, ९ घाइते 
मस्को : रुसको राजधानी मस्कोदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको औद्योगिक विस्फोटकमा शुक्रबार आगलागी भएको छ। आगलागीबाट ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। 

रुसको आपत्कालिन मन्त्रालयकाअनुसार घटना भएको स्थानमा सैन्य सामग्री र नागरिकका लागि प्लाष्टिकजन्य सामग्री उत्पादन हुने गरेको थियो। सो प्लान्टमा आगलागी हुँदा ७ को मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। 

सो क्षेत्रबाट करिब १७० मानिसको उद्धार गरिएको स्थानिय मिडियाले जनाएका छन्। 
०००

पाकिस्तानले अफगानिस्तानसँगको व्यापार र यात्रा खुकुलो बनायो
इस्लामावाद : पाकिस्तानले अफगानिस्तानसँगको व्यापार र यात्रा खुकुलो बनाएको छ। शुक्रबार अफगानिस्तानलाई आर्थिक सहयोग गर्ने घोषणा गर्दै अफगानिस्तासँगको यात्रा खुकुलो बनाएको हो। 

पकिस्तानले मानवीय सहायता स्वरुप तत्काल २८ मिलियन अमेरिकी डलर अफगानिस्तानलाई उपलब्ध गराउने घोषणा गरेको छ। सो घोषणासँगै अफगानिस्तानसँगको सीमा नाका खोल्ने र व्यापार र यात्रालाई खुकुलो बनाउने बताएको छ। 

पकिस्तानले पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेसी र तालिवान सरकारसँगको भेटपछि सो निर्णय गरेको हो। कुरेसी बिहीबार तालिबानका शीर्ष नेतासँग वार्ता गर्न तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक काबुल पुगेका थिए। 
०००

दिपावलीमा भारतमै बनेका सामग्री खरिद गर्न मोदीको निर्देशन
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नजिकिदै गरेको दिपावलीमा भारतमै बनेका सामग्री खरिद गर्न निर्देशन दिएका छन्। मोदीले बिहीबार स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्न आफ्ना नागरिकलाई सो निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री मोदीले तिहारको समयमा मेड इन इन्डिया (भारतमै बनेका) सामग्री खरिद गर्न जोड दिएको भारतीय सञ्चारमाध्यममा खबर छ। 

‘हामीले स्वदेशमा बनेका सानादेखि ठुला वस्तुलाई प्राथमिकतामा राख्नुपर्छ। किनकी स्वदेशी वस्तु बनाउनमा हाम्रै नागरिकका पसिना चुहिएका छन्। त्यसैले स्वदेशी वस्तुलाई प्राथमिकतामा राख्नुपर्छ’, प्रधानमन्त्री मोदीले भनेका छन्। 

– संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.