अ मेलोडी क्रिएटर
‘अहिलेका गीतका टुक्काहरूले यो समयलाई बोक्न मुस्किल हुन्छ। कसैलाई चाँडै उकास्ने र कसैलाई तत्कालै झराउने गलत प्रवृत्तिा बढिरहेको छ। अग्रजहरूप्रति सम्मानको भाव नै छैन।’
४०, ४५ वर्षअघिको समय। प्रेमजोडीहरू खुलेर भेट्ने, गफ गर्ने माहोल थिएन। लुकेर फोटो साट्ने जमाना थियो त्यो। अझ महिलाहरू घरबाहिर एक्लै निस्कने सम्भावनात शून्य नै भने पनि हुन्छ। संगीतकार शम्भुजित बाँस्कोटाको मिल्ने साथी गहिरो प्रेममा परे। साथीको प्रेमिकाले घरमा भन्न सकिनन्। सँगै बाँच्ने, मर्ने कसम खाएर अन्तै बिहे गरिन्। प्रेमिकाको बिहेको खबरले विचलित बनेका साथीलाई देखेर बाँस्कोटा भक्कानिए। फोटो हेरेर रोइरहने साथीको पीडा र छटपटी देख्दा उनले प्रेम बुझे। भन्छन्, ‘प्रेमको पीडा अथाह हुने रहेछ। बिछोडको घाउ भतभती पोल्ने।’ यसको गहिराइ महसुस गरे। अनि मध्यरातमा बसेर लेखे...
तिम्रो त्यो हँसिलो मुहारको, भझल्को जब आउँदा
बिछोडका कुरा कल्पिन थाल्छन्,
तिम्रो तस्बिरले चित्त बुझाउँदा...
सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले
परायालाई आफन्त ठानी मुटुमा राख्नाले।
यो गीतमा बाँस्कोटा आफैंले संगीत भरे। दीपक खरेलको स्वरमा रेकर्ड गराए। गीत जब रेडियो नेपालबाट बज्न थाल्यो। फर्माइसका अनेकौं चिठी आउन थाले। एकै दिनमा पटकपटक बज्न थाल्यो। गीत हिट भयो। जताततै चर्चा चल्यो। उनका अनेकौं चर्चित गीत लेखिनुमा अनगिन्ती यस्तै किस्सा छन्। कहिले मन दुखेर लेखे त कहिले अरूका मन दुखाएर पनि गीत लेखे। मन पर्ने मान्छेको बिहेबाट आएर रातभर मेलोडी बनाए त कहिले बेसुरा गाउँदै संगीतमा मिठास खोजिरहे। करिब आधा शताब्दीदेखि उनी नेपाली गीतसंगीतमा लागिरहेका छन्।
केही मिनेटमै शम्भुजीतको गीत पहिलो पटक रेडियोमा बज्यो। लजाउँदा लजाउँदै कतिबेला गीत सकियो पत्तौ पाएनन् उनले। उनी भन्छन्, हरेक युगमा आआफूले काम दिने हो। आफूलाई प्रमाणित गर्ने प्रयास गर्नुपर्छ। अहिले भीडको माहोल छ। रुमल्लिनु हुन्न, अल्झिन हुन्न।
सुगम संगीत र शम्भुजित
हुनत शम्भुजित बाँस्कोटा आफैंमा किस्सा किस्साले भरिएका छन्। उनी कुशल संगीतकार, गायक, गीतकार, रंगकर्मीसमेत हुन्। उनले रचना गरेका चेतना फैलाउने सामाजिक सन्देशहरू पनि उत्तिकै चर्चित छन्। विज्ञापनको क्षेत्रमा पनि शम्भुजित बाँस्कोटा अग्रणी नै मानिन्छन्। २०४१ सालबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा ३४ वर्षसम्म जागीरे जीवन बिताएका बाँस्कोटा जागिरकै सिलसिलामा चलचित्र विकास बोर्ड, नेपाल टेलिभिजनलगायतका संस्थामा महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका उनी अहिले पनि संगीत सिर्जनामै व्यस्त छन्। उनले नेपाली संगीत, नाट्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन्।
शम्भुजित भन्छन्, ‘सिर्जना गर्ने मानिस चुप लागेर बस्न नसक्ने रैछ। म आफूलाई सष्टा, सर्जकको रूपमा चिन्छु। सिर्जना गर्न मन पर्छ। सिर्जनाको विषय र माध्यम फरक हुन सक्छ तर म जेमा लागिपरें। केही न केही सिर्जना गरिरहेकै छु। कुनै क्षेत्रमा मैले काम नगरेको छ भने मनमा किन गरिनँ होला भन्ने प्रश्न उठिरहन्छ। संगीतको शम्भु हुँ म। मेलोडी बनाउने संगीतकार। मेरो संगीत सुनेर मानिसहरूले दिने प्रतिक्रियाले मलाई खुसी बनाउँछ।’
नक्सालमा रहेको एक क्याफेमा उनका विगत, वर्तमान र भावी योजना खोतल्ने प्रयासमा छु। सकभर पुरानै दृश्य भनिदिए हुन्थ्यो भन्ने मेरो अपेक्षा। कोरोना महामारीकै बीच भेटेर कुराकानी गर्ने तय गरेका थियौं। कालो चस्मा, नीलो सर्ट र खैरो पेन्टमा सजिएका उनी आकर्षक देखिन्थे। उत्तिकै बोल्ड र स्मार्ट पनि। कुनै प्रश्न भुइँमा खस्न नपाउँदै उनी पूर्वतयारी जस्तो लम्बेतान किस्सा सुनाइहाल्थे। एउटै प्रश्नमा उनले आधा घण्टा जवाफ छाड्थे। कुराकानीकै क्रममा उनी ४८ वर्षअघि फर्किए। २०३० सालको सम्झना। १७ वर्षे ठिटोझैँ मुस्कुराउँदै हल्का लजाए। कान्छीको सम्झनाले हुरुक्कै बनायो सायद। उनले गुनगुनाए...
कुन सहरमा छौ मायालु
यो कान्छी छोडेर जान्छे म जस्तो सोझालाई
जिन्दगीभर रुन पर्ला सम्झेर...
यो गीत रेडियोबाट बजेको शम्भुजितको पहिलो गीत हो। जसमा उनकै स्वर, संगीत र शब्द छ। गीत रेकर्ड गरेर उनी रेडियो नेपालबाट पानीपोखरी गइरहेका थिएँ। साँझ ७ बजेको समाचारपछि उनको गीत बज्छ भनिएको थियो। गीत सुन्न घरै पुग्छु भनेर उनी दौडदै गइरहेका थिए। तर भारतीय दूतावास नजिकै पुग्दा ७ बजेको समाचार बज्यो। त्यहाँ भारतीय लाहुरेहरू पेन्सन लिन आउँथे। एक जना लाहुरेले निकै ठूलो स्वरमा रेडियो बजाएका रहेछन्। बाँस्कोटा टक्क त्यहीं अडिए। विस्तारै लाहुरेको नजिक गए।
शम्भूजीतले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी पनि सम्हाले। चलचित्र विकास बोर्डका पहिलो कार्यकारी अध्यक्ष, नेपाल टेलिभिजनको महाप्रबन्धक भए। उनकै पालामा घण्टाघण्टामा समाचार आउन थाल्यो। तीतोसत्य जस्ता टेलिसिरियललाई टेलिभिजनमा भित्र्याए।
केही मिनेटमै उनको गीत पहिलो पटक रेडियोमा बज्यो। पहिलो पटक आफ्नो गीत रेडियोमा सुने उनलाई निकै लाज लाग्यो। लजाउँदा लजाउँदै कतिबेला गीत सकियो पत्तै पाएनन् उनले। भन्छन्, केटाकेटी आवाजको रहेछ। खुब लाज लाग्यो। मैले मेरो साथीले गाएको हो भनेर सुनाए। लाहुरेले भन्यो, ‘कान्छीको गीत राम्रो रहेछ। कान्छीलाई सम्झेर गाएको रहेछ। फेरि फेरि बज्छ होला नि। केटोले राम्रै गाउने रहेछ। गीत रेकर्ड भएपछि तीन पटकसम्म रेडियोले बजाउँथ्यो। फेरि बज्नलाई फर्माइस आउनु पर्थ्यो। निकै चल्यो यो गीत दिनमा तीन पटकसम्म बज्यो। ‘कुन सहरमा छौ मायालु मलाई सम्झेर पत्र लेख’ बोलको गीत पनि निकै हिट भयो।
बालुवाटार पानीपोखरीका रैथाने बाँस्कोटा आफूलाई साथीहरूको वाहवाहीले अगाडि बढाएको मानिस भन्न चाहन्छन्। भन्छन्, सानो सफलतामा पाइने सहयोगभन्दा वाहवाही बढी संवेदनशील हुने रहेछ। सफलता हरेक पटक हुनै पर्छ भन्ने छैन। तर वाहवाही नै पाएपछि त्योभन्दा बढी हौसलाको चाहना हुन्छ। जुन चाहनाले निदाउन दिँदैन। वाहवाही बाध्यकारी छ जीवनमा। यही वाहवाहीको रहरले उनलाई सयौं गीतमा संगीत सिर्जना गर्ने उत्प्रेरणा थप्यो। उनी मीठो गीत लेख्छन्, गाउँछन् र मेलोडी बनाउँछन्। संगीत सिर्जनामा उनको विशेष दक्खल छ।
सांगीतिक माहोलमा हुर्किएका बाँस्कोटाले २०२८ सालमै रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरे। उनकै शब्द, स्वर र संगीतमा रहेको ‘बोलौं भने उनी त’ बोलको लोकलयमा सिर्जना गरेको गीत गाएका थिए।’ उनको घरमा कहिलेकाहीँ सांगीतिक भेटघाट र रमाइलो हुने गथ्र्यो। उनले यही परिवेशबाट नै संगीतको संगत गरेका हुन्। निरन्तरको प्रयासपछि गितार बजाउन सिके। केही कट्स र लय मिलाउन त्यो बेलाको पपुलर गिटारिस्ट सीबी कार्कीसँग संगत गरे। उनलाई संगीतको सारेगम सिकाउने गुरु जितेन्द्र जोशी र रागको गुरु नवराज ढकाल हुन्। बाँस्कोटालाई यो गर्नुपर्छ भन्ने लाग्यो भने जसरी पनि गरिछाड्ने बानी थियो। काम गरिरहने, नचाहिने काम सोच्दै नसोच्ने बानी थियो। भन्छन्, ‘आफूले गर्ने हरेक काममा नयाँपन दिनुपर्छ र सफलता पाउनैपर्छ भन्ने मान्यता थियो ममा।’
सुगम संगीतबाट सांगीतिक यात्रा सुरु गरेका बाँस्कोटा रेडियो नेपाल गइरहन्थे। अधिकांश गीतमा उनले माया पिरतीलाई पोखेका छन्। त्यो बेला संगीत कर्ममा लाग्नेहरूको मन्दिर थियो रेडियो नेपाल। पुगे पनि आशीर्वाद मिल्छ भन्ने लाथ्यो उनलाई। उनी रेडियो नेपालसँगको संगत सम्झँदै भन्छन्, ‘निकै सांगीतिक माहोल थियो त्यहाँ। गीत रेकर्ड गर्न शब्द पास हुनु पर्थ्यो। रेकर्ड गर्दा सुर बेसुरको ख्याल गरिन्थ्यो। निकै कडा नियम थिए। हाइजेनिक गीत उत्पादन हुन्थ्यो। प्रतिस्पर्धा पनि हुन्थ्यो। गीत रेकर्ड गर्ने मितिका लागि रेडियो नेपाल गइरहन्थ्यौं। कलाकार नै बढी हुन्थे। त्यहाँ पुगेर नै संगीतको लगाव, मेहनत र प्रभाव बुझेको हुँ।’
‘मुड हेरेर काम गर्न सक्छु। अहिले भर्खर तपाईंलाई हेरेर गीत लेख्न सक्छु, संगीत र मेलोडी बनाउन सक्छु’, उनले सुनाए। मुड कतिबेला चल्छ भन्न सकिन्न। राति मध्यरातमा कयौं गीतहरू बनाए। कहिलेकाहीँ काम गर्नकै लागि मुड निकालेर बस्छन्। जबर्जस्ती लेखिनु र मुड चलेर लेख्दा लेखिने चिज पनि फरक पर्ने गर्छ।
अभिनयमा शम्भुजित
विद्यालय पढ्ने समयमै हो। बालमन्दिरमा आफ्टर स्कुल कार्यक्रमअन्तर्गत गीत गाउन, नाटकमा अभिनय गर्न, संगीत गर्न सिकाइन्थ्यो। उनी पनि स्कुल सकिएपछि बालमन्दिर पुग्ने गर्थे। त्यहाँ उनले अभिनय सिके। २०२८ सालमा उनले भक्त प्रल्हाददमा चक्रवर्तीको भूमिकामा अभिनय गर्ने मौका पाए। यो नाटक राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको थियो। यो नाटकमा उनले पहिलो स्थान हासिल गर्दै राजा महेन्द्रबाट गोल्ड मेडल प्राप्त गरे। अनि अभिनयमा समेत आफूलाई निर्खार्दै गए। उनले नाटक, म्युजिक भिडियो, विज्ञापन र फिल्ममा समेत अभिनय गरेका छन्। अडियोमा रहेका गीतलाई लिपसिङ सहितको भिडियो बनाउने सुरुआतको श्रेय पनि उनलाई जान्छ।
उनले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी पनि सम्हाले। चलचित्र विकास बोर्डका पहिलो कार्यकारी अध्यक्ष, नेपाल टेलिभिजनको महाप्रबन्धक भए। उनकै पालामा घण्टाघण्टामा समाचार आउन थाल्यो। तीतोसत्य जस्तो टेलिसिरियललाई टेलिभिजनमा भित्र्याए। टेलिभिजनको लोगो, धुन र समाचार धुन उनले नै सिर्जना गरेका हुन्। एकेडेमीमा रहँदा नै नेपालमा ओपन थिएटरको अवधारणा आएको थियो। उनले लाइभ गीत गाउने, अभिनय गर्ने जस्ता कार्यक्रम सुरु गरे। यसैको अवधारणामा प्रज्ञाको डबलीमा प्रतिभाको डबली भन्ने कार्यक्रम सुरु गरियो। जुन नेपालकै पहिलो रियालिटी सो हो।
चलचित्र संगीतमा शम्भुजित
प्रज्ञा प्रतिष्ठानको जागिरे भएपछि उनकोे चलचित्रको अध्याय सुरु भएको हो। एकेडेमीमा जागिर खाएकै बेला २०४१ सालमा ‘के घर के डेरा’ नामक फिल्ममा पहिलो पटक काम गरे उनले। यसपछि चलचित्र संगीतमा लागेको उनको संगीत यात्रा आजसम्म पनि जारी छ। यसका साथै उनले ‘हात्ती बलियो कि हात्तीछाप, अरेअरे रारा, जीवनजल अमृतजल, दोस्रो बच्चा कहिले स्कुल जान्छ जहिले’ लगायतका चर्चित जिंगलहरू लेखेका छन्। जुन आजसम्म पनि मानिसको मुखमा झुन्डिएको छ।
जीविका चलाउन भनेर जबर्जस्ती लेख्ने कि लेखिरहेपछि जीविका चल्छ भन्ने दोधारमै छन् उनी। यद्यपि उनले संगीत कर्मबाट करोडौं रुपैयाँ आर्जन गरेका छन्। गीतसंगीतबाट आर्थिक उपार्जन गर्ने सर्जकको पहिलो लाइनमै पर्छन् उनी। उनी भन्छन्, ‘लेख्दालेख्दै सर्जक भए। एउटा गीत गाएको २० रुपैयाँ दिन्थ्यो रेडियो नेपालले।
नेपाली संगीतलाई धनी बनाउँछु भनेरै रिस्क लिएर काम गरेको हो। विस्तारै प्रोफेसनल भए। एकेडेमीमा जागिरे हुँदाहुँदै दुई वर्षका लागि चलचित्र विकास बोर्डमा पठाएको थियो। त्यहाँ गएर काम गर्ने मौका पाए। फिल्म क्षेत्रको विकास गर्न उनलाई जिम्मेवारी दिइयो। बोर्डको भवनको जग आफ्नै पालामा हालेको उनको भनाइ छ।
पहिलो म्युजिक भिडियो निर्देशन गरेको पनि उनको दाबी छ। २०४१ बाट सुरु गरी २०४६ सम्म प्यारोडी गीत र सामाजिक व्यंग्य गीतको सुरुआत आदि पनि गरेको उनी बताउँछन्। गाईजात्रे गीत कार्यक्रम पनि करिब ६ वर्ष सञ्चालन गरे उनले। उनले १२ वटा फिल्मको कथासमेत लेखेका छन्। भन्छन्, ‘सधैं केही न केही नयाँ दौडधुपमा लागियो। अब किताब लेख्न बाँकी छ। प्रशासन चलाएँ र प्यारोडी गाएँ। कम्पोजर, गायक, गीतकार, क्रिएटर, फस्ट म्युजिक भिडियो डिरेक्टर, प्यारोडी गायक, प्रशासक सबै भए उनी। उनीसँगको सहकार्यमा भारतका धेरै गायकगायिकाले नेपाली संगीतमा काम गरे। नेपालमा बच्चु कैेलाश, नारायण गोपालदेखि लिएर रचना रिमाल, निशान भट्टराईसमेत पाँच पुस्तासम्म उनले काम गरे।
अहिलेको गीतमा लगाव भेटिन्न
पछिल्लो समयमा बजारमा चल्ने गीतको गुणस्तरको विषयमा भने बाँस्कोटाले चिन्ता व्यक्त गरे। भन्छन्, ‘अहिलेका गीतका टुक्काहरूले यो समयलाई बोक्न मुस्किल हुन्छ। कसैलाई चाँडै उकास्ने र कसैलाई तत्कालै झराउने गलत प्रवृत्ति बढिरहेको छ। अग्रजहरूप्रति सम्मानको भाव नै छैन।’
भारतीय टेलिभिजन इतिहास भारतमै उत्पादन भएको ब्ल्याक एन्ड ह्वाइट टीभीबाट सुरु भएको हो नेपालमा हरेक चिज आयातीत हुने हुँदा छिटो र सर्टकर्ट माध्यमबाट विकसित हुने उनी बताउँछन्। भन्छन्, नेपालमा सुरुमै कलर टेलिभिजन आयो। यहाँका मानिस कमर्सियल भए। पैसाका लागि जे पनि गर्ने भए। पैसा आउँछ भन्दैमा सुरमा गाउनेले पनि बेसुरा गाउने भए। यो क्षेत्रमा राज्यको लगानी छैन।’ थप्छन्, ‘टाठाबाठा बढे। गीतमा लाग्नेहरू र जिन्दगी सोच्नेहरू पलायन भए। अहिलेको पुस्ताले गाएको गीत र संगीतले यो समयलाई बोक्दैन। हुन त अहिले पढेर, सिकेर आउनेहरू पनि छन्। बजारमा दुई थरी व्यक्ति छन्। एउटा पैसाका लागि जे पनि गर्ने र अर्को संगीत सिक्न र गुणस्तरका लागि जे पनि।’
पछिल्लो पटक यस क्षेत्रमा आउने सर्जकको संख्या ह्वात्तै बढेको बताउँदै उनी अहिलेका नयाँ कलाकारले सामाजिक जिम्मेवारी लिन नसक्ने तथा फ्यानले दिएको माया अपनाउन नजान्ने तर्क गर्छन्। भन्छन्, गीतसंगीत छान्न चाल्नो भएन। अग्रज र जुनियरबीचको सम्बन्धमा ग्याप बन्यो। गीतको क्वालिटी छुट्टयाउन सरकारी पहल हुन जरुरी छ। संगीतमा पनि सेन्सरसिप आवश्यक छ।’
गीत सुन्ने च्यानलमा पनि सेन्सर गर्नुपर्छ। सिस्टम बनाउन जरुरी छ। भल्गर फिल्म बनाउने, अश्लील गीत गाउनेहरू सहजै सबै दर्शक, श्रोताको एक्सेसमा पुग्न भएन नि। गीतमा अश्लीलता बढ्यो भनेर सेन्सरसीप खोज्नेले अब सबै किसिमका दर्शकको माग पनि त पूरा गर्न पर्यो नि। गीतसंगीत र फिल्मको वर्गीकरण हुन पर्यो। उनको बुझाइ हो यो।
भारतीय कलाकारसँगको सम्बन्ध
२०४१ सालमा ‘के घर के डेरा’ चलचित्र बन्ने भयो। यसमा संगीत गर्ने मौका मिल्यो। यसका लागि पहिलो पटक कलकत्ता जाने मौका मिल्यो। चलचित्रमा काम गर्न थालेपछि उनी मुम्बई जान थाले। धेरै नेपाली चलचित्र भारतमा नै रेकर्ड हुन्थ्यो। त्यहाँ संगीतकार, उपयुक्त वातावरण, अनुशासन निकै राम्रो थियो। उनले त्यो माहोल नेपालमा ल्याउन चाहन्थे। मुम्बईमा कहिले दुई त कहिले तीन महिना बस्थे।
यसरी सात वर्षभन्दा बढी समय त्यहाँ बसे। दुई सय भन्दाबढी चलचित्रका गीत मुम्बईमा रेकर्ड गरे। शम्भुजित दा भन्ने छाप बनाए उनले। आशा भोसले, कुमार सानु, दीपनारायण, सुनिधि चौहान, कविता कृष्णमूर्ति, आर्डी बर्मा लगायतसँग काम गरे। भारतमा मुम्बईमा सिकेको सीपलाई उनले नेपालमा प्रयोग गर्न चाहन्थे। यहाँ आएर सुरु गरेको हो रातो टीका निधारमा, अब चोटहरूले पिरोल्दैन मलाई। सुन सुन सनम, रातो टीकाजस्ता गीत निस्किएपछि नेपाली भोजभतेर तथा पाटीमा डान्सिङ सङ नेपाली नै बज्न थालेको थियो।
त्यसपछि भारतमा गएर रेकर्ड गराउने क्रम विस्तारै कम भयो। अब गीतसंगीतलाई वर्गीकरण गर्न र विकृति घटाउन पनि संगीत बोर्ड गठन हुन जरुरी छ। यसको एउटा निश्चित नियम, कानुन र मापदण्ड बनेर अघि बढ्नुपर्छ भन्ने हो। थप्छन्, हरेक युगमा आआफूले काम दिने हो। हामीले राम्रो कुरा ल्याएर आफूलाई प्रमाणित गर्ने प्रयास गर्नुपर्छ।
अहिले भीडको माहोल छ। रुमल्लिनु हुन्न, अल्झिन हुन्न भन्ने नै हो। मैले केका लागि यो संघर्ष गरिरहेको छु भन्ने कुरामा सबैले ध्यान दिन सक्नुपर्छ। तपाईं हामी सबैको प्रयासले यस क्षेत्रको विकृति हटेर उत्कृष्ट, कालखण्डलाई बोक्ने गीतहरू पक्कै बन्नेछन्।