महिलाको घाँटी रेटेर फरार 'भुट्टाचोर' पक्राउ
जनकपुरधाम : महिलाको घाँटी रेटेर फरार ‘भुट्टाचोर’ पक्राउ परेका छन्। धनुषामा घाँस काट्न गएकी महिलाको मंगलसुत्र र चाँदीको गहना (काडा) लुट्न घाँटी रेटेर हत्या प्रयास गर्ने भुट्टाचोर भनिने रामभजन महतो सुडी महोत्तरीबाट पक्राउ परेका हुन्।
धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने २५ वर्षीय भुट्टाचोरलाई महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट गए राति पक्राउ गरेको तीन कौरिया प्रहरी चौकीले जनाएको छ। उनले गहना लुट्न शुक्रबार बिहान ११ बजेको समयमा स्थानीय रामबहादुर मण्डलकी ५५ की श्रीमती जमुनी देवी मण्डल केवटको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए। फरार भएर ससुरालीमा बसिरहेका भुट्टाचोरलाई प्रहरी चौकी तिनकोरियाका सई शारदा शंकर साहको कमाण्डमा खटिएको प्रहरी पक्राउ गर्न सफल भएको हो।
घाँटी रेटिएकी जमुनी देवीको घाँटीमा ९ वटा टाँका लगाइएको छ। उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचारपछि घर फर्किएकी छन्। स्थानीयका अनुसार भुट्टाचोर वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा पनि चोरीचपाटी गर्दै आएका थिए। उनी गाउँमा भुट्टाचोरको नामले प्रख्यात छ। गाउँमा पनि चोरीको धन्धा गर्ने गरेको स्थानीय बताउँछन्।
जमुनी देवी घास लिन गएको बेला उनले खुट्टामा लगाएको चाँदीको काँरा, गालाको मँगलसुत्र खोस्न छुराले घाँटी रेट्ने प्रयास गरेका थिए। हल्ला भएपछि उनी जमुनदेवीको मंगलसुत्र खोसेर भागेका थिए।