अमेरिकाले ताइवानलाई साथ दिने अभिव्यक्तिपछि उत्तर कोरिया आक्रोशित, सिरियाको जंगलमा डढेलो लगाउने २४ जनालाई फाँसी

अमेरिकाले ताइवानलाई साथ दिने अभिव्यक्तिपछि उत्तर कोरिया आक्रोशित, सिरियाको जंगलमा डढेलो लगाउने २४ जनालाई फाँसी

चीनले ताइवानमाथि हमला गरे अमेरिकाले ताइवानलाई रक्षा गर्ने अभिव्यक्ति दिएपछि उत्तर कोरिया आक्रोशित भएको छ । अमेरिकाको त्यस किसिमको गतिविधिले समग्र एसिया क्षेत्रमै शान्तिमा खलल पुग्ने कोरियाले बताएको हो । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याथोलिक चर्चका पोप फ्रान्सिसलाई भेट्ने खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुखताका साथ प्रकाशित भयो । यसैगरी गत वर्ष सिरियाको जंगलमा डढेलो लगाउने २४ जनालाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको खबर पनि चर्चामा रह्यो । प्रस्तुत छ, शनिबार चर्चामा रहेको केही विश्वका प्रमुख खबरहरू :


अमेरिकाले ताइवानलाई समर्थन गर्दा चिढियो उत्तर कोरिया 

सिओल : अमेरिकाले ताइवानको समर्थन गर्दा उत्तर कोरिया चिढिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनविरुद्ध ताइवानको रक्षा गर्ने बताएपछि उत्तर कोरिया चिढिएको हो।  

अमेरिकी राष्ट्रपतिको सो अभिव्यक्तिपछि चिढिएको उत्तर कोरियाले शनिबार बाइडेन प्रशासनले चिनियाँ सेनासँग तनाव बढाउने आरोप समेत लगाएको छ। 

शनिबार स्थानीय मिडियासँग प्रतिक्रिया जनाउँदै उत्तर कोरियाका उप विदेशमन्त्री पाक म्योङ हुले अमेरिकाको चर्को आलोचना गरेका छन्। ‘अमेरिकाले ताइवान स्ट्रेटमार्फत युद्धपोत पठाउनुका साथै ताइवानलाई विकसित हतियार प्रणाली र सैन्य तालिम उपलब्ध गराइरहेको छ’, उनले भनेका छन्, ‘अमेरिकाको ताइवान रक्षा र उपस्थितिले चिनियाँ सेनासँग मात्र नभई समग्र कोरियाली प्रायद्धिप क्षेत्रमा द्वन्द्व बढाउने खतरा छ।’

अमेरिकाको आलोचनापछि म्योङले उत्तर कोरियाले चीनको समर्थन गर्ने बताएका छन्। ‘यदि अमेरिकाले बर्चस्व कायम गर्दै दुवै समाजवादी मुलुक उत्तर कोरिया र चीनलाई दबाउन खोज्छ भने हामीले पनि चीनको साथ दिने छौँ।’

शुक्रबार अमेरिकी जो बाइडेनले यदि चीनले ताइवानमाथि हमला गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए। 
०००

रुस र चीनले गरे प्रशान्त क्षेत्रमा पहिलो पटक संयुक्त सैन्य गस्ती
मस्को : रुसी र चिनियाँ सेनाले प्रसान्त महासागर क्षेत्रमा पहिलो पटक संयुक्त सैन्य गस्ती गरेका छन्। दुवै देशका युद्धपोतले अक्टोबर १७ देखि २३ सम्म पहिलो पटक प्रशान्त महासागर क्षेत्रमा संयुक्त सैन्य गस्ती गरेका हुन्। 

रुसको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै चीन र रुसले जापानको सुगारु स्टे«ट हुँदै संयुक्त सैन्य गस्ती गरेको बताएको छ। ‘सैन्य गस्तीअन्र्तगत पहिलो पटक दुवै देशका युद्धपोतहरु सुगारु स्ट्रेट हुँदै गएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ। 

एसिया प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न सो गस्तीमा रुस र चीनको झन्डा फहराइएको समेत मन्त्रालयले स्पष्ट पारेको छ।

यसअघि अक्टोबर पहिलो साता रुस र चीनले जापानको समुद्री क्षेत्रमा संयुक्त रुपमा सैन्य अभ्यास गरेका थिए। केही दिनअघि जापानको रक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै रुस र चीनले बिना जानकारी सुगारु स्ट्रेट हुँदै युद्धपोत चलाएको भन्दै आपत्ति जनाएको थियो।
०००

अफगानिस्तानमा सैन्य कारबाही गर्न अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्ने 
काबुल : संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा पुन: सैन्य कारबाहीका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्ने सम्झौता भएको खुलेको छ। अफगानिस्तानबाट सेना निकासी गर्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सो सम्झौता गरेको एक रिपोर्टले खुलासा गरेको हो। 

सो सम्झौता पश्चात अमेरिकाले आतंकवादविरुद्ध पुन: अफगानिस्तानमा सैन्य कारबाही गर्ने रिपोर्टमा उल्लेख गरिएको सीएनएन न्यूजमा समाचार छ। 

 ‘अफगानिस्तानमा सक्रिय आतंकवादविरुद्ध सैन्य कारबाही गर्न पाकिस्तानले सम्झौता पत्र (एमओयु)मा अमेरिकासँग हस्ताक्षर गर्न चाहेको छ। सो सम्झौतापछि अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्नेछ’, सीएनएनले रिपोर्ट स्रोतलाई उद्धृत गर्दै भनेको छ। तर सो सम्झौता अनिश्चित रहेको समेत सीएनएनले जनाएको छ। 

पछिल्लो समय अमेरिकी अधिकारी र पाकिस्तानी विदेशमन्त्रीबीच भएको भेटवार्तामा सो सम्झौताबारे छलफल भएको बताइएको छ। 
०००

चीनद्वारा विद्यार्थीलाई गृहकार्यको ‘दोब्बर बोझ कम गर्ने’ कानुन पारित 
बेइजिङ : चीन सरकारले गृहकार्यको दोब्बर दबाब कम गर्न नयाँ कानुन पारित गरेको छ। विद्यालयका बालबालिकाले झेल्नुपर्ने गृहकार्यको दोब्बर भार कम गर्न चीनको शिक्षा मन्त्रालयले नयाँ कानुन पारित गरेको हो। 

सिन्ह्वामा शनिबार प्रकाशित समाचारकाअनुसार चीन सरकारले विद्यालयस्तरका बालबालिकाले झेल्ने गृहकार्यको दबाब कम गर्न सो कानुन बनाएको हो। 

विद्यालयले दिने गृहकार्यको दोब्बर भार कम गर्न बनेको नयाँ कानुनअनुसार बालबालिकाका अभिभावकले आफ्ना सन्तानको उचित हेरचाह र अभ्यास गराउनुपर्ने छ। बालबालिकालाई इन्टरनेटको कम प्रयोग गर्नसमेत अभिभावकले प्रभावकारी भूमिका निभाउनुपर्ने नयाँ कानुनमा उल्लेख छ। 

केही महिनाअघि चीनको शिक्षा मन्त्रालयले बालबालिकाको इन्टरनेट बानी कम गर्न हप्तामा तीन दिनमात्र अनलाइन गेम खेल्न अनुमति दिएको थियो।
०००

पाकिस्तानको प्रदर्शनमा ३ प्रहरीको मृत्यु, लाहोरमा इन्टरनेट सेवा बन्द 
लाहोर : पाकिस्तानको पूर्वी सहर लाहोरमा दुई समूहबीच भएको प्रदर्शनमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ। प्रहरी अधिकारीको मृत्युपछि लाहोरमा शनिबार इन्टरनेट र यातायात सेवा बन्द गरिएको छ।

तहरिक ए लब्बैक पाकिस्तान (टिएलपी) का कार्यकर्ता र प्रहरीबीच शुक्रबार लाहोरमा प्रदर्शनको क्रममा झडप भएको थियो। झडपमा प्रदर्शनकारीले गरेको आक्रमणबाट तीन प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय मिडिया डनमा खबर छ। डनका अनुसार प्रदर्शनकारीले प्रहरी अधिकारीमाथि पेट्रोल बम फ्याकेका थिए। 

सो घटनापश्चात त्यहाँको प्रशासनले लाहोर क्षेत्रमा इन्टरनेट सेवा बन्द गराएको बताइएको छ। टिएलपीका हजारौँ कार्यकर्ताले आफ्ना पार्टीका नेता रिहा गर्न सरकारसमक्ष माग गर्दै प्रदर्शन गरेको बताइएको छ।
०००

नाइजेरियामा कैदीलाई रिहा गर्न बन्दुकधारीले चलाए गोली
ओयो : दक्षिणपश्चिम नाइजेरियामा कैदीलाई रिहा गर्न बन्दुकधारीले गोली चलाएका छन्। दक्षिणपश्चिम क्षेत्रमा अवस्थित ओयो राज्यमा बन्दुकधारीले जेलमा गोली चलाएका हुन्। 

ओयो राज्यका प्रवक्ता ओलान्रेवाजु अन्जोरिनले शनिबार समाचार एजेन्सी एपीसँग बताएअनुसार बन्दुकधारीहरुले शुक्रबार राति जेलमा आक्रमण गरेका थिए। बन्दुकधारीको आक्रमणपछि सयौँ कैदीहरु जेलबाट भागेका थिए। भागेकामध्ये दर्जनौँ कैदीलाई प्रहरीले पुन: पक्राउ गरेको अलजजिरामा खबर छ।

बन्दुकधारीको आक्रमणपछि गएको जुलाईमा मात्र करिब ४ हजार ३०७ कैदी नाइजेरियाको जेलबाट भागेको स्थानीय पत्रिका दी केबलले जनाएको छ। सेप्टेम्बरमा मात्र २ हजार कैदी जेल तोडेर रिहा भएको बताइएको छ।

नाइजेरियाको जेलमा करिब ७० हजार कैदी राखिएको त्यहाँको सरकारी तथ्यांकले देखाएको मानवअधिकार समूहको भनाइ छ। 
०००

मोदीले पादरी पोप फ्रान्सिसलाई भेट्दै 
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याथोलिक चर्चका पादरी पोप फ्रान्सिसलाई भेट्ने भएका छन्। उनले रोममा आयोजित दुई दिने जी–२० सम्मेलनअघि पोपलाई भेट्ने भएका हुन्।

जी–२० सम्मेलनका लागि रोम भ्रमणको यात्रा तय गरेका प्रधानमन्त्री मोदीले रोम पुग्नुअघि भ्याटिकन सिटीस्थित ८४ वर्षीय चर्चका पादरी पोपलाई भेट्ने योजना बनाएको हिन्दुस्तान टाइम्समा खबर छ। 

जी–२० सम्मेलन यही अक्टोबर ३० र ३१ मा आयोजना गरिएको छ। उनले अक्टोबर २९ मा पोप फ्रान्सिसलाई भेट्ने योजना बनाएको बताइएको छ। जी–२० सम्मेलन तालिवान शासन रहेको अफगानिस्तानमा शान्ति र स्थायित्व कायम गर्नेबारे केन्द्रित रहने बताइएको छ।
०००

सिरियाको जंगलमा डढेलो लगाउने २४ जनालाई फाँसी
बेरुत : सिरियाको जंगलमा डढेलो लगाउने २४ जनालाई सरकारले फाँसीको सजाय दिएकोे बताएको छ। सिरियाको सरकारले सन् २०२० मा जंगलमा डढेलो लगाउने २४ जनालाई फाँसी दिएको बताएको हो। 

सिरियाको न्याय मन्त्रालयले हालै जारी गरेको विज्ञप्तीमा सरकारले गत वर्ष जंगलमा डढेलो लगाउने २४ जनालाई अपराधी ठहर गर्दै फाँसीको सजाय दिएको बताएको छ। डढेलो लगाउन मद्दत गर्ने अन्य ११ लाई जन्म कैदको सजाय सुनाएको र बाँकी ५ जनालाई १० देखि १२ वर्षसम्मको जेल सजाय सुनाएको मन्त्रालयले जनाएको छ। 

सिरियाको उत्तरपश्चिम क्षेत्रको जंगलमा गत वर्ष सेप्टेम्बर र अक्टोबरमा विनाशकारी डढेलो लागेको थियो। डढेलोबाट ३ मानिसको मृत्यु भएको थियो भने निस्केको तातो वायुको असर वर्षभर परेको थियो। डढेलोपछि त्यहाँको जमिनमा हालसम्म खडेरी देखा परेको बताइएको छ। 
०००

यमनमा ९२  हुथी मारिए, १६ भन्दा बढी सैन्य गाडी नष्ट
जिहाद : यमनमा जारी साउदी नेतृत्वको लडाईँमा कम्तीमा ९२ हुथी विद्रोहीका लडाकु मारिएका छन्। मारिब नजिकै दुईवटा जिल्लामा भएको हवाई हमलामा ९२ हुथी विद्रोही मारिएका हुन्। 

पछिल्लो २४ घण्टामा भएको हवाई हमलामा परी कम्तीमा ९२ हुथी विद्रोही मारिएको र १६ भन्दा बढी सैन्य गाडी नष्ट भएको समाचार एजेन्सी साउदी प्रेसमा समाचार छ। साउदी प्रेसका अनुसार मारिब क्षेत्रमा विगत दुई हप्तादेखि दैनिक हवाई हमला भइरहेको छ। 

हुथी विद्रोहीले फेबु्रअरीमा मारिब क्षेत्र आफ्नो कब्जामा लिएका थिए। त्यसयता सो क्षेत्रमा दोहोरो युद्ध चर्किरहेको बताइएको छ। 

संयुक्त राष्ट्रसंघका अनुसार गत महिना मात्र मारिब क्षेत्रबाट करिब १० हजार मानिस विस्थापित भएका थिए। सो क्षेत्रमा भोकमरी र अन्य संकटसमेत बढेको संघले बताएको छ। 

– संयोजन : अस्मिता खड्का 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.