प्रवासीले भित्र्याए साढे दुई करोड सहयोग

प्रवासीले भित्र्याए साढे दुई करोड सहयोग

बेनी : प्रवासी म्याग्देलीहरुबाट सामाजिक कार्यका लागि दुई करोड ६० लाख रुपैयाँभन्दा बढी सहयोग भित्रिएको छ। रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा  बिदेशीएकाहरुले म्याग्दी प्रवासी नेपाली संघ (मोना) मार्फत पछिल्लो दुई वर्षको अवधिमा सहयोग जन्मथलोमा भित्र्याएका हुन्। मोनाका निवर्तमान अध्यक्ष ओमनारायण जुग्जालीले सन २०१९ देखि २०२१ को हालसम्म रु. दुई करोड ६० लाखभन्दा बढी नगद तथा जिन्सी सहयोग भित्रिएको जानकारी दिए।  

‘२८ वटा देशमा पुगेका म्याग्देलीहरुले पहिरो पीडितको घर पुननिर्माण, कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री र उपकरण खरिद गरेर उपलब्ध गराएका छौं,’ उनले भने ‘प्रवासमा समस्यामा परेका म्याग्देलीहरुको उद्धारका साथै आपतकालिन कोष स्थापना गरेका छौं।’ 

मोनाले दुई करोड रुपैयाँ जुटाएर वि.स. २०७७ को वर्खामा पहिरोले भत्काएका ४० वटा घर पुननिर्माण गरेर गत असारमा सम्बन्धित पालिकामार्फत पीडितलाई हस्तान्तरण गरेको थियो। धवलागिरीमा १४, मालिकामा १०, अन्नपूर्ण, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा चार/चार वटा तीन कोठे, शौचालय र खानेपानी सुविधासहितको घर बनाइदिएका हुन्। 

तत्कालीन अवस्थामा पहिरो प्रभावितहरुलाई २० बोरा चामल, १५०/१५० थान पाल र कम्बल वितरण गरेको थियो। २० लाख २९ हजार ५११ रुपैयाँ जुटाएर मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेलाई साउदीको जेलमुक्त बनाई जहाज भाडाको समेत व्यवस्था गरी घर पठाएको मोनाले बिदेशमा समस्यामा परेका म्याग्देलीलाई सघाउन स्थापना गरेको 'आपतकालिन राहत कोष'मा हालसम्म रु. १६ लाख ६६ हजार २०८ संकलन भएको छ। 

कतारमा निधन भएका मालिका-२ रुमका निरप्रसाद कामी, मङगल दर्जी र नेदरल्याण्डमा दिवंगत भएकी लक्ष्मी भट्टचनका परिवारलाई ५०/५० हजार रुपैयाँका दरले सहयोग गरेको छ। दक्षिण कोरियामा ज्यान गुमाएका तीन म्याग्देलीको दाहसंस्कारका लागि पचास हजार खर्च र साउदीमा रोजगारी गुमाएर समस्यामा परेका पुर्णचन्द्र जुग्जालीलाई ५६ हजार ३०४ रुपैयाँ सहयोग गरेको छ। 

कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुका लागि ७० थान थर्मल गन र एक हजार थान के.एफ ९४ मास्क बितरण गरेको मोनाले १४ लाख ७९ हजार २७० जुटाएर कोरोना संक्रमितको उपचारमा प्रयोग हुने २२ थान अक्सिजन कन्टनट्रेटर उपलब्ध गराएको थियो। 

हिंसा प्रभावित महिला तथा बालबालिकालाई सघाउन एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। बेनी नगरपालिका र म्याग्दी उद्योग बाणिज्य संघको लागत साझेदारीमा ८० लाख लगानीमा बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग बनाएका र ४० वटा शैक्षिक संस्थामा बिद्युतीय पुस्तकालय स्थापना गरेका थिए। 

म्याग्दीका पर्यटकीय स्थलमा होटल, जलबिद्युत आयोजना, फलफुल र जडिबुटी खेती तथा पशुपालन ब्यवसायमा प्रवासीको लगानी भित्र्याउन ‘मोना इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्ने तयारी भएको मोनाका नवनिर्वाचित अध्यक्ष अमर छन्त्यालले बताए।

प्रवासी म्याग्देलीहरुको अगुवाइमा मालिका गाउँपाकिलामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलबिद्युत आयोजना निर्माणाधिन छ। रघुगंगा गाउँपालिकाको चिमखोलामा ५ मेगावाट क्षमताको मोना बगरखोला जलबिद्युत आयोजनाको बिद्युत खरिद बिक्री सम्झौताको प्रक्रियामा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.