ऋण सर्वसुलभ हुनुपर्छ
विगत १५ वर्षअघि (वि.सं २०६३) स्याङ्जा जिल्लाबाट ३० जनाको सानो समूहको लगानीमा मुक्तिनाथ विकास बैंक स्थापना भएको थियो। थोरै पुँजी, जनशक्ति, कार्यक्षेत्रबाट सुरु भएको बैंक अहिले राष्ट्रियस्तर बैंकमा अग्रपंक्तिमा पुग्न सफल भएको छ। विकास बैंक भए पनि लघुउद्यम क्षेत्रमा योगदान गरेबापत दुई पटकसम्म सम्मानित हुन पुगेको छ। ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा सम्मानित भएको छ। स्थापनाकालबाटै व्यवस्थापकीय पक्ष सम्हालेर जीवनको ऊर्जाशील समय मुक्तिनाथ विकास बैंकमा व्यतित गरेका बैंकका अध्यक्ष भरतराज ढकालसँग अन्नपूर्णकर्मी ममता थापाले गरेको कुराकानी।
बैंक सुरु भएको १५ वर्षमा कसरी सफलताको छलाङ मार्यो ?
१ करोड ३० लाख रुपैयाँ पुँजीबाट सुरु गरेको बैंकको चुक्ता पुँजी अहिले ५ अर्ब पुगेको छ। कोर क्यापिटल साढे ६ अर्ब रुपैयाँ पुगेको छ। १ सय ६५ ओटा शाखा कार्यालय छन्। काँकडभिट्टा, इलाम, दाङ, महेन्द्रनगर,धनगढीसम्म शाखा विस्तार गरेका छौं। दुई हजार कर्मचारी प्रत्यक्ष संलग्न छन्। १० लाख ग्राहक हाम्रो सेवाबाट लाभान्वित भएका छन्। निक्षेप एक खर्ब रुपैयाँ नाघिसकेको छ। ब्यालेन्स सिटको आकार ठूलो बन्दै गएको छ।
लामो समयसम्म कोभिडको प्रभाव समग्र व्यवसायले सामना गर्नु परे पनि बैंकले भने यसबीच व्यवसाय राम्रै गरेको देखियो। यो कसरी सम्भव भयो ?
यसको श्रेय बैंकप्रति आम ग्राहकको विश्वास हो। १२ वर्षसम्म बैंकको व्यवस्थापकीय अनुभव प्राप्त गरे। यो अनुभवले व्यवस्थापन बलियो बनाउन मद्दत मिल्यो। समग्र बैंकिङ इन्डस्ट्रीमै हेर्दा हामीले दिने कर्जाको आकार सानो छ। हामीले साना कर्जामा केन्द्रित गरेका छौं। यसैले धेरै ऋणी छन्। करिब डेढ लाखको हाराहारीमा ऋणी छन्। खराब कर्जाको अनुपात पनि असाध्यै कम छ।
हामीले ग्रामीण क्षेत्रलाई बढी प्राथमिकता दिएका छौं। धेरै ग्राहक सामु सेवा पुर्याउनुपर्छ भन्ने मान्यताले अगाडि बढेका छौं। हाम्रो नारा नै छ, जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ। हामीले कर्जा प्रवाह गर्दा खास उत्पादनमूलक क्षेत्रलाई लक्षित गरी लघुवित्त सेवामार्फत कर्जा प्रवाह गरेका छौं। बैंकको व्यवस्थापकीय क्षमता प्रभावकारी रहेकाले पनि व्यवसाय फैलाउन सम्भव भएको हो।
खराब ऋणी कम भन्नाले कतिसम्म छ ?
साना ऋणीहरूमा केन्द्रित भएका छौं। समग्र बैंक तथा वित्तीय संस्थाको कम खराब कर्जा (एनपीएल) रहेको हाम्रो बैंक हो। कुल कर्जाको ०.२ प्रतिशत मात्रै खराब ऋण छ।
खराब कर्जा धेरै कम भयो भने पनि अन्तर्राष्ट्रिय संस्थाहरूले आशंका गर्ने गर्छन् नि ?
हो, एक समय हामीलाई नेपाल राष्ट्र बैंकले पनि शंका गरेको थियो। दुईतीन वर्षअगाडि वार्षिक साधारणसभाको स्वीकृति लिन राष्ट्र बैंक पुग्दा यत्ति कम खराब कर्जा कसरी हुन्छ, यसमा केही हुन सक्छ भनेर सुपरिवेक्षण पनि गरेको थियो। तर केही पाएनन्। अन्तर्राष्ट्रिय वित्त निगम (आईएमएफ) जस्ता संस्थाहरूले एनपीएल कम देख्नासाथ बैंकभित्र केही हुन सक्ने आशंका गर्छन्। तथापि हामीले राष्ट्र बैंकको प्रावधानअन्तर्गत रहेर कर्जा दिएका छौं। सुरुदेखि नै खराब कर्जाको सबैभन्दा कम अंश हुनेमा हामी पर्छौं।
कस्ता क्षेत्रमा बढी कर्जा प्रवाह भएको छ ?
सबैभन्दा बढी विपन्न वर्ग, उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरेका छौं। यसमा कुल कर्जाको ४० प्रतिशत छ। यो पनि अरू बैंकको तुलनामा बढी हुन सक्छ। नेपाल कृषि प्रधान देश भएका कारणले नेपालको कृषिमा लगानी बढाउनु पर्छ। यसका लागि पुँजी मात्रै दिएर हुँदैन। यससँगै किसानलाई चाहिने कृषिका सामग्री, उत्पादनका सामान पनि दिनुपर्छ र उत्पादनको ग्यारेन्टी गर्नुपर्छ भनेर बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनी स्थापना भएको छ। यो हुनुअघि पनि कृषिमै लगानी बढी थियो। कम्पनी स्थापना भएको तीन वर्ष भयो। सुरुका दुई वर्ष अनुसन्धानमै लाग्यौं। कृषि क्षेत्र कसरी अघि बढिरहेको छ। वर्तमान अवस्था के छ, यसमा राज्यले कस्ता नीति अपनाएको छ। राष्ट्र बैंकले कृषि क्षेत्रमा अनिवार्य १० प्रतिशत लगानीको व्यवस्था गर्यो। तर हामीले दबाबमा मात्र नभई स्वतःस्फूर्त रूपमा कृषिमा लगानी बढायौं। अर्थतन्त्रमा कृषिको योगदान बढाउन यसले भूमिका खेल्ने विश्वास लिएका छौं।
यस अवधिमा राम्रै फड्को मार्नुभयो। सहायक कम्पनी पनि विस्तार गर्न कसरी सफल हुनुभयो ?
बैंकले मुक्तिनाथ क्यापिटलमा ५५ प्रतिशतको सेयर छ। मुक्तिनाथ कृषि कम्पनीमा २५ प्रतिशत लगानी छ। भोलि अरू पनि हुन सक्ला। हामीले छुट्टै लघुवित्त नखोले पनि यसको थुप्रै काम गरेका छौंं। हामीले लघुवित्त दर्ता गर्यौं तर लाइसेन्स लिएनौं।
लघुवित्तमै काम गर्ने संस्थाले अवार्ड नपाएर मुक्तिनाथ बैंकले ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड– २०२०’ कसरी प्राप्त गर्न सक्यो ?
हामीले दूरदराजका ग्राहकलाई वित्तीय सेवा दियौं। बैंकभित्रै लघुवित्तको काम गर्ने कर्मचारी पनि छन्। कार्ययोजना बनाएर डेढ लाखभन्दा बढी महिला सदस्यलाई सेवा दिएका छौं। यो अन्य लघुवित्तभन्दा ठूलो छ।
बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम् र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन गरी ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड– २०२०’ अवार्ड प्रदान गरिएको छ। यसमा ३७ राष्ट्रबाट ७० वटा संस्था सहभागी थिए। पुरस्कारबापत मुक्तिनाथले एक लाख युरो प्राप्त गरेको थियो।
यो मात्रै होइन भर्खरै साना तथा लघुवित्त क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई ‘एसएमई फाइनान्सर अफ द ईएर एसिया’ विधामा सम्मानित भएको छ। सम्मानले बैंकलाई साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नका लागि उत्साहित बनाएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरेको र जी २० एस ग्लोबल पाटरनसिप फर फाइनान्सियल इन्सुलेसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेकोले बैंकलाई सम्मान गरिएको बताइएको छ।
गत आर्थिक वर्षमा विकास बैंकमध्ये नाफा गर्नेमा पनि अगाडि नै हुनुहुन्छ। १ अर्ब १५ करोड ९ लाखको हाराहारीमा नाफा कमाउन सक्नुको कारण के हो ?
बैंकले ग्राहकको विश्वास जित्दै गयो। यसले कारोबार बढ्दै गयो। निक्षेप पनि संकलन भयो। बैंकको प्रधान कार्यालय काठमाडौंमा भएपछि राम्रा, दक्ष कर्मचारी राख्यौं। हाम्रो खराब कर्जाको अंश पनि कम भएका कारण स्वतः नाफा सम्भव भयो।
नाफा बढे पनि रिटर्न अन इक्विटी (आरओई) घटेको देखिन्छ नि ?
आरओई घट्नुको कारण हामीले लघुवित्तमा बढी लगानी गरेका छौं। यसमा काम गर्दा खर्च धेरै हुन्छ। उनीहरूलाई कम लोनमा पनि सेवा दिनुपर्छ। यसमा कर्मचारी खर्च बढी हुन्छ। यसबारे पटकपटक राष्ट्र बैंकलाई सुनाएका छौं। त्यही काम लघुवित्त संस्थाले गर्दा राष्ट्र बैंकबाट सुविधा पाएका छन् तर हामीले बैंकमार्फत गर्दा चाहिँ कुनै पनि सुविधा दिएको छैन। यसकारण आरओई कम भएको हो। यो कम छ भनेर हामीले दिइरहेको सेवालाई छोड्नु भएन। यो ग्राहकको विश्वासलाई कायम राख्नु पर्यो। तथापि बैंकले नाफा माात्र हेर्नु हुँदैन। समाजको आर्थिक क्षेत्रलाई स्थापना गर्न, सामाजिक प्रभाव पर्ने काम पनि गर्नुपर्छ।
लघुवित्तको अधिकतम ब्याजको सिमा १५ प्रतिशत तोकिएको छ। तपाईंहरूले लघुवित्तको सुविधा दिँदा कति लिनु भएको छ त ?
हामीले त्योभन्दा पनि कम लिएका छौं। अधिकतम १२–१३ प्रतिशतसम्म ब्याजदर कायम गरेका छौं। हामीले लगानी गर्न स्रोतको जोहो पनि गर्छौं। नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको ब्याजदर (स्प्रेड दर) ४.४ प्रतिशत तोकिदिएको छ। यसकारण ऋणी सदस्यलाई लघुवित्त कम्पनीमध्येकै सबैभन्दा कम ब्याज दिएका छौं।
निक्षेपको ब्याजदर पनि १० प्रतिशतकै हाराहारीमा छ। अधिकांश वाणिज्य बैंकमा तरलता अभावको स्थिति छ। तपाईंहरूको स्थिति के छ ?
कर्जा रोक्नुपर्ने अवस्था छैन। हामीसँग तरलता प्रशस्त छ पनि भन्न मिलेन। पछिल्लो समय आयात एकदमै बढेको छ। बैंकको प्रमुख स्रोत रेमिट्यान्स भए पनि पछिल्लो समयमा घटेको छ। वैदेशिक रोजगारबाट फर्किएका युवा सबै नगएका र नयाँ युवा नगएका अवस्थामा रेमिट्यान्स घट्नु स्वाभाविक हो। आर्थिक वर्ष परिवर्तन हुँदा सरकारको नेतृत्व पनि फेरियो।
सरकारले बजेट पनि समयमा खर्च गर्न सकेन। यसकारण पनि तरलताको चाप बढेको छ। यसैबीच राष्ट्र बैंकले ८५ प्रतिशतको कर्जा, पुँजी निक्षेप (सीसीडी) अनुपात खारेज गरेर कर्जा निक्षेप अनुपात (सीडीरेसियो) ९० प्रतिशत बनाइदियो। यसले ठूलाठूला, पुराना बैंकलाई पनि असर गर्यो। तरलताको चाप विकास बैंकलाई पनि देखिन सक्छ। मुक्तिनाथको सीडी ८५ प्रतिशतको हाराहारीमा भएकाले अहिलेसम्म सहज छ। यससँगै पुँजी कोष, सीआरआर, एसएलआर, सीडी रेसियोको न्यूनतम सीमाभित्रै सबै परिसूचक छन् ।
अहिले मुख्य कर्जा केकेमा गएको छ ?
अहिले धेरै व्यापार तथा व्यवसायहरूले कर्जा लगेका छन्। घरजग्गा (रियल स्टेट) कर्जाको माग पनि बढेको छ। कृषि, साना तथा मझौला व्यवसायमा कर्जाको माग छ। न्यूनतम १० हजार, २० हजारदेखि ५० लाख रुपैयाँसम्मको कर्जा दिने गरेका छौं।
सर्वसाधारणले मुक्तिनाथ नै किन रोज्ने ?
यसका सेवा गाउँदेखि सहरसम्म, गरिबदेखि धनीसम्म सबैलाई दिएको छ। १५ वर्षको अवधिसम्म विश्वसनीय कारोबार गरेको छ। वित्तीय क्षेत्रमा राम्रो काम गर्छ भन्ने विश्वास बढेर गएको छ। वाणिज्य बैंकसँग तुलना गर्दा प्रायः सबै काम विकास बैंकले गर्न पाउँछन्। यद्यपि एलसी (प्रतीतपत्र)मा प्रत्यक्ष कर्जा दिन नपाए पनि वाणिज्य बैंकहरूसँग सहकार्य गरेका छौं।
डिजिटल कारोबारलाई कत्तिको प्राथमिकता दिनुभएको छ ?
अबको कारोबारलाई प्रविधिसँग जोड्नुपर्छ। क्विक रेस्पोन्स (क्यूआर) कोडमा अगाडि नै छौं। यसलाई राष्ट्र बैंकले फोकस गरेको छ।
वित्तीय पहुँच तथा साक्षरतामा कत्तिको योगदान पुर्याउनु भएको छ ?
यो दुवैमा मुक्तिनाथ बैंक अगाडि छ। वित्तीय पहुँचमा ऋणीलाई जोड्नु पर्छ। वित्तीय पहुँचमा बचतकर्ता मात्र होइन ऋणीको संख्या पनि बढ्नुपर्छ। ऋणीलाई जोड्नु निक्षेप बैंकमा राख्न सजिलो हुन्छ तर कर्जाको निश्चित हुँदैन। वित्तीय संस्थाबाट व्यवसाय गर्न इच्छुक सबैलाई कर्जा दिने ग्यारेन्टी छ कि छैन। यसलाई वित्तीय पहुँचमा जोड्नु पर्छ। हामीसँग १० लाख निक्षेपकर्ता हुँदा १ लाख ५० हजार ऋणी पुगेका छन्।
त्यसो भए सहुलियतपूर्ण कर्जा प्रवाहमा कत्तिको सहजीकरण गर्नु भएको छ त ?
सरकारले लोकप्रियताका लागि यस्ता कार्यक्रम ल्याउँछ। यसलाई राष्ट्र बैंकले कार्यान्वयन गर्न सहजीकरण गर्छ। बैंकमा जम्मा भएको कर्जा जनताको हो। हामीले कृषिमा कर्जा दिन कम्पनी नै स्थापना गरेर काम गरेका छौं। नेपालमा कुल जीडीपिको २५ प्रतिशत कृषिको योगदान छ।