दैलेख अस्पतालमा शल्यक्रियाबाट प्रसुती
दैलेख : दैलेख जिल्ला अस्पतालमा एकैदिन दुई जना गर्भवती महिलाको जटिल शल्यक्रियाबाट प्रसुती गराईएको छ। स्वास्थ्य सेवा कार्यालय दैलेखअन्तरर्गत जिल्लाकै ठूलो अस्पतालमा आइतबार एकै दिन दुई जना गर्भवती महिलाको जटिल शल्यक्रिया मार्फतप्रसुती गराईएको अस्पतालका डा.जगत थापाले बताए।
नारायण नगरपालिकाका २६ बर्षीया डिलकुमारी दर्लामी र २१ बर्षीया मञ्जु बस्नेत गरी दुई जना गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको डा.थापाले बताए। ‘दुवै जना गर्भवती महिलाहरुको अवस्था गम्भिर थियो, शल्यक्रिया गरेर बच्चालाई जन्म दिनु बाहेक अरू विकल्प थिएन,’ डा. थापाले भने।
दैलेख अस्पतालमा जटिल प्रकारका गर्भवतीको शल्यक्रियामार्फत उपचार सेवा सिजरिएन सेक्सन (सिएस) सञ्चालन भएयता जिल्लाका गर्भवती महिलाहरुलाई राहत मिलेको छ। झण्डै तीन महिनादेखि बन्द रहेको सिएस सेवा गत जेठ देखि पुःन सुचारु भएको थियो। जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएपछि गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रिफर गर्नुपर्ने बाध्यता हटेको अस्पताल स्रोतले जनाएको छ। गत जेठ महिनादेखि हालसम्म ६० भन्दा बढी गर्भवती महिलाहरुको शल्यक्रियाबाट प्रसुती गराईएको अस्पतालका डा.जगत थापाले बताए।
सेवा बन्द रहँदा शल्यक्रियामार्फत प्रसुति गराउन परे सुर्खेतस्थित प्रदेश अस्पताल तथा नेपालगंज पठाउनु पर्ने बाध्यता थियो। दैलेख अस्पतालमै सेवा सञ्चालन भएयता जिल्लाका सर्वसाधारणहरु आकस्मिक प्रसुती शल्यक्रियाका लागि महँगो शुल्क तिरेर सुर्खेत तथा नेपालगंजसम्म पुग्नु बाध्यता हटेको अस्पतालले जनाएको छ।