बेनी-जोमसोम सडकमा यात्रुका सेवक इन्द्रसिङ
बेनी : चार वर्षदेखि स्तरोन्नतिको क्रममा रहेको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडक पहिरो, कटान र बाढीले दैनिकजसो अवरुद्ध हुने गर्छ। म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सम्मको खण्डमा मुस्ताङ जाने आउने तिर्थयात्री, पर्यटक र स्थानीयवासी आवतजावत गर्ने यो जोखिम, कष्ट र झञ्जटपूर्ण यात्रा गर्नुपर्छ।
साँघुरो सडकको बिचमा गाडी फसेर आवत जावत बन्द हुने समस्या पनि उत्तिकै छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकको हिउँदयामको यात्रा समेत सहज छैन।
सकसपुर्ण बेनी-जोमसोम सडकको यात्रालाई सहज बनाउन र अवरोध हटाउन रातदिन, झरी, वर्खा, धुलो, हिलोको प्रवाह नगरी खटिरहेका हुन्छन् ५० वर्षीय इन्द्रसिंह शेरचन। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर शेरचनको खटाइले संकटका सेवकको पहिचान बनाएका छन्।
‘मैले जागिरेको भावना राखेर रातदिन खटेर समन्वय नगर्ने हो भने एकै दिनमा तीन-चार ठाउँमा भएको अवरोध हटाएर यात्रुलाई गन्तब्यमा पुर्याउन सम्भव हुदैन,’ शेरचन भन्छन्, ‘काम गर्दा गर्दै कति दिन बाटोमै भोकै सुत्नुपरेको छ। आफै पर्खाल लगाउने, बेल्चाले पहिरो पन्छाउने, गाडी तान्ने गर्नुपर्छ।’
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा हुने दुर्घटना, अवरोध र विपद्का घटनाको प्राय सूचना पहिलोपटक शेरचनसँग पुग्छ। प्रहरी, प्रशासन, जनप्रतिनिधी, सञ्चारकर्मी, आयोजना र निर्माण व्यवसायीलाई सूचना दिने शेरचनलाई सम्बन्धित ठाउँमा नपुगी मनले मान्दैन्।
‘बाढी पहिरो तथा अन्य विपद्का घटना भए अग्रपंक्तिमा पुग्न इन्द्रसिङलाई कसैले पठाउन पर्दैन,’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले भने ‘समाजका जो कसैलाई पनि अप्ठेरो परको ठाउँमा पुग्नु उहाँको बिशेषता हो।’
इन्द्रसिंहको सक्रियता र समन्वयकारी भूमिकाले बेनी–जोमसोम सडकमा हुने अवरोध हटाउन, विपद् व्यवस्थापन र दुर्घटना न्युनीकरणमा सहयोग पुगेको पुनले बताए। गत वर्ष काभ्रेभिर र रुप्से खण्डमा पहिरो गएर फसेका तीन हजार जना भन्दा बढी यात्रुलाई पिठ्युमा बोकेर सडक पार गराएका शेरचनलाई संविधान दिवसमा बिभुषित गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले गृह मन्त्रालयमा सिफारिस गरेको थियो।
२०७७ को प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी म्याग्दीले प्रहरीलाई सहयोग गर्ने नागरिकको रुपमा सम्मान गरेको थियो। २०७६ माघ १६ गते अन्नपूर्ण गाउँपालिकाको खोपाराबाट नारच्याङ जाने क्रममा हराएका चार जना नेपाली पदयात्रीको खोजीका लागि शेरचनले स्थानीयवासीको नेतृत्व गरेका थिए। धवलागिरी आधार शिविरमा हराएका पर्यटक खोज्ने कामको पनि अगुवाई गरेका शेरचनले धवलागिरी र अन्नपूर्ण आधार शिविर जाने पर्यटक तथा उनिहरुको सामग्री पुर्याउन समन्वय गर्छन्।
बेनी-जोमसोम सडक अवरुद्ध हुँदा गत साउनमा शेरचनले पिठ्युमै बोकेर पहिरो पार गराएर कोरोना भाइरस विरुद्धको भ्याक्सिन मुस्ताङमा समयमै पुर्याउन सहयोग गरेका थिए। वि.स. २०७३ असोजमा काभ्रेभिरमा १४ जनाको ज्यान जाने गरि भएको जिप दुर्घटनाका घाइतेको उद्धार र मृतकको शव सडकसम्म ल्याउन शेरचनले सुरक्षाकर्मीहरुलाई सघाएका थिए।
मुस्ताङको थासाङ गाउँपालिका-२, नाउरीकोटमा जन्मिएका शेरचनको बसोबास हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा छ। बेनी-जोमसोम सडकको मार्ग खुलेपछि वि.स. २०६३ मा बेनीमा आएर २०७१ सम्म कालीपुलमा 'मुस्ताङ लेते होटल' सञ्चालन गरेका शेरचन २०७३ मा पोखराको लेकसाइडमा सरेका थिए।
वि.स. २०७४ देखि शेरचनका परिवारले दानामा होटल ब्यवसाय गरिरहेका छन्। उनले होटलमा काम गर्ने श्रमिकका पाँच जना बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाएका थिए। शेरचनकी श्रीमति सुनिताले चलाएको होटलमा आठ जनाले रोजगारी पाएका छन्।
'मुस्ताङ लेते होटल एण्ड रेष्टुरेन्ट' शेरचनको ब्राण्ड जस्तै छ। बिवाह गरिसकेका दुई जना छोरा र छोरी पोखरामा पर्यटन व्यवसाय गर्छन्। एउटी छोरी पोखरामा पढ्दैछिन्।