पहिरोले न परिवार न बस्ती

पहिरोले न परिवार न बस्ती

थलारा : पहिरोले परिवारसहित सर्वस्व लगेपछि कलकबहादुर सार्की दिनभर टोलाइरहन्छन्। आमा हर्कुदेवी, श्रीमती ३० वर्षकी ईश्वरी, छोराहरू १२ वर्षका सन्दीप, ६ वर्षका सरोज र छोरी एक वर्षकी सपना मात्रै आँखामा झलझली आइरन्छन्। 

‘सर्वस्व गुम्यो। दैवले यस्तो पीडा दिँदो रहेछ’, आँसु झार्दै कलकले भने, ‘भगवान् भेटिने भए सोध्ने मन थियो– दैव किन यस्तो गर्‍यौ ?’

बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो खस्दा कलकसहित दाजुभाइको परिवारका १८ र छिमेकी नरबहादुर पार्कीको परिवारका पाँच जना बेपत्ता भएका थिए। तीमध्ये सार्की परिवारका तीन र पार्की परिवारका एक जनाको शव भेटिएको छ। बाँकीको खोजी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन्। 

परिवारमा म मात्रै बाँचें। खाने, बस्ने केही बाँकी रहेन। सरकारले खाने, बस्ने व्यवस्था गरिदिनुपर्‍यो। 
-नरबहादुर पार्की, पीडित

हामी दुई जना चामल लिन जाँदै थियौं। ड्याम्म ठूलो आवाज आयो। अँध्यारो थियो। केही पत्तो पाइएन। सर्वस्व लगेछ।
-कलकबहादुर सार्की, पीडित

कात्तिक २ गते बिहान ४ बजेको थियो। दुई दिनदेखि झिमझिम वर्षा भइरहेको थियो। घरनजिकै पहिरो खस्न थालेपछि छिमेकी पार्की अँध्यारोमै परिवारका पाँच सदस्यलाई लिएर कलककहाँ आएका थिए। जसमा आमा उजलीदेवी, श्रीमती हासुदेवी, छोरा आयुस, छोरीहरू हिमा र सीमा थिए। 

‘नरबहादुर काकाले घरमा दुई–तीन कट्टा खाद्यान्न छ। त्यसलाई पनि सारौं। पानी त कति दिनसम्म पो पर्ने हो भन्नुभयो’, कलकले भने, ‘हामी दुई जना चामल लिन गइरहेका थियौं। नरबहादुर काकाको घर पुगेकै थिएनौं। ड्याम्म ठूलो आवाज आयो। अँध्यारो थियो, केही पत्तो पाइएन तर सर्वस्व लगेछ।’ 

उनको घर भएको स्थानमा माथिको ढोगदिने धार (डाँडाको नाम)बाट खसेको पूरै पहिरो पसेको छ। वर्षा रोकिएको पाँच दिनसम्म पनि दलदल नै छ। ६ दाजुभाइमध्ये कलक जेठा रहेछन्। तीन भाइको परिवारै पहिरोमा बेपत्ता भएको छ। दाजुभाइका ६ र पार्कीको एक गरी सात घरको नामनिशान छैन। 

कलकका काइलो भाइ राम दसैंको टीका थाप्न श्रीमतीसहित तल्कोटस्थित ससुराली गएका थिए। उनकी १० वर्षकी छोरी सरितासमेत उतै गएकाले काकाकाकीसहित तीन जना जोगिए। बुवा गगने र कान्छो भाइ सुरेश भारतमा छन्। २४ सदस्यीय परिवारमा तीन ससुराली, २ भारत र कलक खाद्यान्न सार्न घरबाट निस्केकाले बाँचे।

बझाङको थलारा गाउँपालिका–४ डिख्लास्थित पहिरोग्रस्त क्षेत्र । यो ठाउँमा कात्तिक २ गते पहिरोले सात घर पुरिँदा २३ जना बेपत्ता भएका थिए । तीमध्ये चार जना मृत भेटिएका छन् ।  तस्बिर : शिवराज भट्ट

बुवा र भाइ भारतमा बेहोस भइरहेका छन्। घर आउन पनि कसरी ? भारतमा रहेका आफन्तले बुवा र भाइलाई पुर्‍याइदिन्छु भन्नुभएको छ’, कलकले भने। 

कलकपछिका धनबिरे सार्की, उनकी श्रीमती सीता, छोरा ८ वर्षका प्रभात, छोरी ६ वर्षकी भूमिका, छोरा ३ वर्षका चिरिञ्जीवी पहिरोमा बगे। यीमध्ये सीताको शव पाइएको छ। त्यसपछिका सुरेश सार्की, उनकी श्रीमती कम्मा, छोराहरू ८ वर्षका सुवास, ६ वर्षका विकास र छोरी १ वर्षकी अनु पनि पहिरोमा बेपत्ता थिए। यीमध्ये विकासको शव भेटिएको थियो। अर्का भाइ मदनको पनि तीन जनाको परिवार बेपत्ता छ। मदन, उनकी श्रीमती कलु र छोरी २ वर्षकी एलिसा बेपत्ता छन्। 

कलकका बाजे भले सार्की थलारा–३ देउलाबाँजबाट डिख्लामा सरेका हुन्। ‘बाजेका पालादेखि नै हामी डिख्ला सरेका हौं। अहिलेसम्म पहिरो आएको थिएन। मेरो घरमा त पहिरो आउला भन्ने कल्पनासमेत गरेको थिइन्। तर, पूरै डाँडो नै भाँसिएर आयो’, कलकले भने।

सरकारले पीडितलाई सुरक्षित स्थानमा सार्नुपर्ने माग उनले गरे। ‘यहाँ सबै पहिरोले लगेर गयो। २३ जना एकै चिहान भएको ठाउँमा बस्नु पनि कसरी ?’ स्थानीयवासी अमृता सार्कीले बस्ती स्थानान्तरणको विकल्प नभएको बताइन्। 

‘अहिले पनि पहिरो आइरहेको छ’, उनले भनिन्। बेपत्तालाई मृतक घोषणा गरी बाँचेकाहरूको व्यवस्थापन सरकारले गर्नुपर्ने उनको भनाइ छ। ‘पूरै ढोगदिने डाँडो खसेको छ। तल नदी छ। घर भएको ठाउँको नाम निसान छैन। अब शव पनि के पाइएलान्’, उनले भनिन्, ‘त्यसैले मृतक घोषणा गरेर सरकारले राहत र क्षतिपूर्ति दिनुपर्छ।’ पीडित पार्कीले बेपत्तालाई मृत घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने माग गरे। ‘परिवारमा म मात्रै बाँचें। खाने, बस्ने केही बाँकी रहेन’, 

उनले भने, ‘सरकारले मलाई खाने, बस्ने व्यवस्था गरिदिनुपर्‍यो।’ उनको परिवारका सदस्यमध्ये आयुस मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङले दिएको तथ्यांकअनुसार कात्तिके झरीका कारण १ सय १३ घर पूर्ण क्षति भएको छ। ४५ घरमा सामान्य क्षति पुगेको छ। ८ सय ८६ परिवार विस्थापित भएका छन्। थलारा, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ।

गाउँ पस्यो सेती नदी 
डोटीका आदर्श र जोरायल गाउँपालिकामा पनि बाढीपहिरोले क्षति गरेको छ। आदर्श–६ बबिनामा २५ स्थानीयवासीका घर सेती नदीले बगाएको छ। ‘शरीरमा लगाएको लुगाबाहेक केही बचेन। सबै सेतीले लग्यो’, हीरादेवी बोहराले भनिन्, ‘किन्न जानका लागि सेतीमा भएको झोलुंगे पुल पनि बगायो।’ उनले मुनितिर सेती र घरमाथिको खहरेले गर्दा कतै जान नसकेको बताइन्। ‘हेर्दाहेर्दै घर ढल्यो। हामी भागेर बच्यौं’ उनले भनिन्, ‘सरकारले कतै बासको व्यवस्था गरिदेओस्।’

बैतडीको ढुंगाड क्षेत्रमा पनि सेती नदी गाउँ पसेपछि १ सय ५० घरपरिवार जोखिममा छन्। बस्ती टापुजस्तै भएको छ। ‘पश्चिम सेती बन्छ भनेर कुनै पनि विकास नभएको ठाउँ हो यो। अब यो गाउँको पुनर्निर्माण गरिएन भने सबै जोखिमा छन्’, स्थानीयवासी विष्णु चन्दले भने, ‘स्थानान्तरण गर्नुको विकल्प छैन।’ डोटी र बैतडी जोड्ने झोलुंगे पुल बगेको छ। उनीहरूलाई खाद्यान्न लिन बजार जान नसक्ने अवस्था छ। ‘अहिलेसम्म सेतीमा यति धेरै बाढी आएको थिएन। ज्येष्ठ नागरिकले पनि सेतीमा पहिलो पटक यति ठूलो बाढी देखे’, स्थानीय शिक्षक राजेन्द्र चन्दले भने, ‘बस्ती टापु भए पनि भगवानले जोगायो।’

ढुंगाड क्षेत्र कात्तिक २ गते सेतीले डुबाएको थियो। महिला, बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिए पनि उद्धारमा खटिएका ६० युवा बस्तीमै फसेका थिए। हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि मौसम खराबीका कारण सम्भव भएको थिएन। ‘अर्को दिन त सेती घटिहाल्यो। तर, २ गतेका दिन र रात यसरी बित्यो कि भन्नै सकिँदैन’ स्थानीयवासी विष्णु चन्दले भने, ‘अन्तिम रात हो भन्ने लागेको थियो। बिहानसम्म सेती घटेछ।’ सरकारले पश्चिम सेतीका नाममा ढुंगाडको विकास रोकेको आरोप उनले लगाए।

ढुंगाड क्षेत्र पश्चिम सेतीको मुख्य ड्याम क्षेत्र हो। त्यसको ५ किलोमिटरमा पश्चिम सेतीको बाँधको सर्भे गरिएको छ। पश्चिम सेती बने पूरै बस्ती उठाउनुपर्ने भएकाले सरकारले त्यहाँ पूर्वाधार निर्माण, तटबन्ध निर्माणमा लगानी गरेको छैन। स्थानीयवासीले सकेसम्म बस्ती स्थानान्तरण गरिनुपर्ने र नत्र जनताको तटबन्धजस्तो छुट्टै कार्यालय खोलेर बलियो तटबन्ध बनाई दिनुपर्ने माग गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आइतबार बझाङका थलारा र खप्तडछान्ना, डोटीको आदर्श गाउँपालिका र बैतडीको ढुंगाड क्षेत्रका पीडितलाई राहत वितरण गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तात्कालिक राहत मात्रै वितरण गरेको बताएका थिए। उनले क्षतिको पुनर्निर्माणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने बताए। ‘अहिले तात्कालिक राहत हो। यसपछि हामीले भत्किएका संरचना निर्माण, स्थानीयवासीलाई स्थानान्तरणलगायत योजना बनाउने छौं’, उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.