तालिबानले कामदारलाई तलबको सट्टा गहुँ दिने, टी–२० विश्वकपमा पाकिस्तानको जित हुँदा खुसी मनाउने कस्मिरी विद्यार्थीमाथि आतंकवादी मुद्दा

तालिबानले कामदारलाई तलबको सट्टा गहुँ दिने, टी–२० विश्वकपमा पाकिस्तानको जित हुँदा खुसी मनाउने कस्मिरी विद्यार्थीमाथि आतंकवादी मुद्दा

मंगलबार तालिबानले कामदारलाई तलबको सट्टा गहुँ दिने निर्णय गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चासोका साथ प्रकाशित भयो । सुडानमा सैन्य ‘कू’ विरोधी आन्दोलन उग्र बन्दै गएको खबर प्रमुख बन्यो । त्यस्तै पाकिस्तानले भारतमाथि टी–२० विश्वकपमा जित निकालेको खुसी मनाउने कस्मिरी विद्यार्थीलाई आतंकवादी मुद्दा लगाइएको समाचार निकै चर्चामा रह्यो । प्रस्तुत छ, मंगलबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


टी–२० विश्वकपमा पाकिस्तानको जितको खुसी मनाउने कस्मिरका विद्यार्थीमाथि आतंकवादी मुद्दा

श्रीनगर : पाकिस्तानको जितमा खुसीयाली मनाउने कस्मिरका विद्यार्थीमाथि आतंकवादी मुद्दा दायर भएको छ। आतइबार भएको टी–२० विश्वकप क्रिकेटमा भारतविरुद्ध पाकिस्तानले जित निकाल्दा खुसीयाली मनाउने कस्मिरका विद्यार्थीमाथि सो मुद्दा दायर भएको हो।

युएईमा आइतबार राति पाकिस्तान र भारतबीच भएको खेलमा पाकिस्तान १० विकेटल विजयी भएको थियो। भारतको हारमा रमाएको भन्दै पाकिस्तानको जितमा खुसीयाली मनाउने मेडिकल साइन्सका विद्यार्थीमाथि आतंकवादविरुद्धको मुद्दा दायर भएको प्रहरीले जनाएको छ।

सरकारी मेडिकल कलेज र शेर ई कस्मिर इन्स्टिच्युट अफ मेडिकल साइन्सका दर्जनौँ विद्यार्थीमाथि अवैध गतिविधि गरेको र राष्ट्रिय भावनामा चोट पु¥याएको भन्दै दुई वटा मुद्दा दायर भएको अलजजिराले जनाएको छ।
०००

सुडानमा सैन्य ‘कू’ विरोधी आन्दोलन उग्र
खार्तुम : सुडानमा सैन्य ‘कू’ विरोधी आन्दोलन उग्र बनेको छ। सैन्य ‘कू’ लागू भएको भोलिपल्ट लोकतन्त्र समर्थकहरुले गरेको आन्दोलन उग्र बनेको हो।

मंगलबार सैन्य ‘कू’ विरोधीहरुले सुडानको राजधानी खार्तुमलगायत क्षेत्रमा सडक अवरोध गरेका छन्। आन्दोलन उग्र बन्दा करिब ७ जनाको ज्यान गएको छ भने दर्जनौँ सर्वसाधारण घाइते भएका छन्।

सोमबार आर्मी जनरल अब्देल फताह अल बुरहानले देशभर आपत्कालिन घोषणा गरेका थिए। सुडान सेनाले प्रधानमन्त्री अब्दल्लाह हमडोकसहित सरकारी नेताहरुलाई पक्राउ गरेका थिए। पक्राउपछि सेनाले प्रधानमन्त्री र मन्त्रालयका सदस्यहरुलाई अज्ञात स्थानमा राखेको बताइएको छ।

सुडान सेनाको सो घोषणापछि १० हजारभन्दा बढी लोकतन्त्र समर्थकहरुले सैन्य शासनविरुद्ध प्रदर्शन गरेका थिए।

सुडानमा सैन्य शासन लागू भएपछि अमेरिकाले सुडान सहायताअन्र्तगतको ७ सय बिलियन अमेरिकी डलरसमेत रोक्का गर्ने घोषणा गरेको छ।
०००

तालिबानले कामदारलाई तलबको सट्टा गहुँ दिने
काबुल : तालिबानको अन्तरिम सरकारले कामदारलाई तलबको सट्टा गहुँ दिने निर्णय गरेको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी र आर्थिक संकट आउने चेतावनी दिएपछि तालिबान सरकारले सो निर्णय गरेको हो।

तालिबान सरकारले सो निर्णयअन्र्तगत हजारौँ कामदारलाई तलब भत्ताको सट्टा गहुँ उपलब्ध गराउने कार्यक्रम लागू गरेको बताइएको छ।

तालिबानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा बताएअनुसार अफगानिस्तानका मुख्य सहर र केन्द्रहरुमा काम गर्ने कामदारलाई सरकारले तलबको सट्टा गहुँ वितरण गर्नेछ। भोकमरीसँग सामना गर्न सरकारले भोकमरीको चपेटामा परेका कामदारलाई तलबको सट्टा गहुँ वितरण गर्ने निर्णय गरेको हो।

अफगानिस्तानको राजधानी काबुलमा मात्र करिब ४० हजार पुरुष कामदार रहेको बताइएको छ। अफगानिस्तानका करिब २ करोड जनता चाँडै खाद्य संकटको चपेटामा पर्ने संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ।
०००

म्यानमारबिना आसियानको शिखर सम्मेलन सुरु
जाकार्ता : दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका शीर्ष नेताहरुले आफ्नो वार्षिक शिखर सम्मेलन मंगलबारदेखि सुरु गरेका छन्। उनीहरुले सदस्य मुलुक म्यानमारका प्रतिनिधिको उपस्थितिबिना सो शिखर सम्मेलन सुरु गरेका हुन्।

म्यानमार सेनाले देशमा सैन्य ‘कू’ लागू गरेको र क्षेत्रीय शान्ति सम्झौताको पालना गर्न असफल भएको भन्दै आसियानले सेना प्रमुखलाई शिखर सम्मेलनमा प्रतिबन्ध लगाएको थियो। आसियानले म्यानमार प्रतिनिधिलाई शिखर सम्मेलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

ब्रुनेईको अध्यक्षतामा आसियानको शिखर सम्मेलन भर्चुअल माध्यमबाट सुरु भएको हो। सम्मेलन बिहीबारसम्म चल्ने बताइएको छ। १० सदस्यीय मुलुक रहेको आसियानको शिखर सम्मेलनमा म्यानमारको अनुपस्थितिपछि ब्रुनेई, कम्बोडिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनामले भाग लिएका छन्।
०००

जापानी राजकुमारीले शाही पदवी त्याग्दै गरिन् प्रेमीसँग बिहे
टोक्यो : जापानी राजकुमारी माको कोमुरोले शाही पदवी त्याग्दै आफ्ना प्रेमीसँग बिहे गरेकी छन्। उनले मंगलबार सर्वसाधारण नागरिक एवम् आफ्ना प्रेमी केई कोमुरोसँग विवाह गरेकी हुन्।

जापानमा लामो समयसम्म विवादित बनेको सो जोडीले मंगलबार नै विवाह र विहे दर्ता गरेको क्योडो न्यूजमा समाचार छ। सर्वसाधारसँग विहे गरेसँगै राजकुमारी माको शाही हैसियत गुमेको बताइएको छ।

३० वर्षीय नवदम्पतीले मंगलबार दिउँसो टोकियोस्थित पत्रकार सम्मेलन आयोजना गरेको इमपेरियल हाउसले बताएको छ। विहेपछि नवदम्पतीले अमेरिका पलायन हुने  योजना बनाएको बताइएको छ।

सो जाडीको भेट पहिलो पटक सन् २०१२ मा टोकियोस्थित इन्टरनेसनल क्रिश्चियन युनिभर्सिटीमा भएको थियो। उनीहरुले सन् २०१७ मा अनौपचारिक रुपमा इन्गेजमेन्ट गरेका थिए।
०००

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिको निधन
सिओल : दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह ताई वुको निधन भएको छ। सेनाका जनरलबाट राजनीतिज्ञ बनेका उनको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका पूर्व राष्ट्रपति वुको उपचारका क्रममा निधन भएको दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ।

वुले सन् १९८८ देखि १९९३ मा दक्षिण कोरियाको राष्ट्रपतिको भूमिका निभाएका थिए। आफ्नो कार्यकालमा रहँदा उनले उत्तर कोरियाली शीतयुद्धका सहयोगी चीन र सोभियत युनियनसम्म पुग्ने कुटनीति ‘नर्डपोलिटिक’को सुरु गरेका थिए।
०००

चीनमा पुन: लकडाउन
बेइजिङ : चीन सरकारले पुन: नयाँ लकडाउन लगाउने भएको छ। देशभर कोभिड १९ का बिरामी बढ्दै गएपछि सरकारले पुन: लकडाउन लगाउने भएको हो।

गत हप्तादेखि चीनका विभिन्न प्रान्तमा कोभिड १९ का नयाँ संक्रमण फैलिएका छन्। करिब ११ वटा प्रान्तमा मात्र १ सयभन्दा बढी नयाँ संक्रमण भेटिएकोले चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले अक्टोबर १७ देखि पुन: लकडाउन गर्ने निर्णय गरेको सीएनएन न्यूजमा समाचार छ।

राष्ट्रिय स्वास्थ्य परिषद्का प्रवक्ता मी फेङका अनुसार विभिन्न प्रान्तमा संक्रमण फैलिएकाले यसको जोखिम उच्च छ। सो जोखिम नियन्त्रण तथा रोकथामका लागि जोखिमयुक्त क्षेत्रमा पुन: लकडाउन गर्ने निर्णय गरिएको हो।

वार्षिक विदापछि कोरोना संक्रमण बढ्ने डरले चीन सरकार चिन्तित बनेको प्रवक्ता मीको भनाइ छ। चीनको भित्री मङ्गोलिया, गान्सु, निङसिया, गुइजाउ र बेइजिङलगायतका प्रान्तमा पछिल्लो समय कोरोना संक्रमण दर उच्च रहेको बताइएको छ। चीनको लानजाउँ प्रान्तमा भने मंगलबारदेखि सरकारले कडा लकडाउन घोषणा गरेको बताइएको छ।

चीनले अक्टोबर ३१ मा तय गरिएको म्याराथुन दौड पनि तत्कालका लागि रद्द गरेको छ।
०००

सन् २०२० मा एसिया इतिहासकै तातो वर्ष
एसिया महादेश सन् २०२० मा इतिहासकै तातो वर्षको रुपमा रेकर्ड भएको छ। सन् २०२० सबैभन्दा तातो वर्ष रहेको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको हो।

संघको विश्व मौसम संगठन (डब्ल्युएमओ) ले मंगलबार एसिया महादेशको जलवायु सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२० मा एसिया महादेश सबैभन्दा बढी तातेको देखाएको हो।  

‘एसियाको लागि सन् २०२० अहिलेसम्मकै तातो वर्ष बनेको छ। कठिन मौसम र जलवायु परिवर्तनले एसियाभर ठूलो असर पु¥याएको छ। जसकारण हजारौँ मानिसको ज्यान गुमेको छ भने लाखौँ मानिस विस्थापित भएका छन्। करोडौँ डलरको क्षति पुगेको छ। यसको असर दिगो विकासमा पनि परेको छ’ डब्ल्युएमओले भनेको छ।

सोही कारण सबैभन्दा बढी क्षति चीनमा २३८ बिलियन डलर, भारतमा ८७ बिलियन डलर, जापानमा ८३ बिलियन डलर र दक्षिण कोरियामा २४ बिलियन डलरको क्षति भएको रिपोर्टमा उल्लेख छ।
 

–संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.