धैर्यता सिकाउँदै राडुकानु
लन्डन :अमेरिकी (यूएस) ओपन टेनिसको उपाधि विजेता बेलायती नम्बर एक टेनिस स्टार इम्मा राडुकानुले धैर्यले मानिसलाई सफलताको बाटोमा हिंडाउने बताएकी छन्। यसै साता सुरु हुने ट्रान्सिलभेनिया ओपन टेनिसका लागि प्रशिक्षकबिनै तयारी गरिरहेकी राडुकानुले धैर्य गर्नसक्ने मानिस नै सफल हुने बताएकी हुन्।
१८ वर्षीया राडुकानुले डब्लूटीए प्रतियोगितामा वाइल्ड कार्डमार्फत प्रवेश गरेर गत महिना यूएस ओपनको उपाधि नै जितेकी थिइन्। यूएस ओपनलगत्तै इन्डियन एन्ड वेल्स प्रतियोगितामा प्रतिस्पर्धा गरेकी उनले नमिठो हार बेहोरेकी थिइन्। त्यही हारलाई बिर्साउने गरी मंगलबारबाट सुरु हुने ट्रान्सिलभेनिया ओपनमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य उनको छ।
‘म टेनिसमा आफ्नो स्थान खोजिरहेको छु। यसका लागि मलाई मात्रै केही समय चाहिन्छ’, राडुकानुले भनेकी छन्, ‘मलाई लाग्दैन कि ट्रान्सिलभेनिया ओपनमा ममाथि दबाब छ। मेरो बारेमा हतारमा होइन, केही धैर्य राखेर मात्रै प्रतिक्रिया जनाउन अनुरोध गर्दछु। म आफ्नो खेलमा रमाइरहेकी छु। लामो समयसम्म एउटै फर्ममा बस्न पक्कै पनि सहज छैन। पछिल्ला केही साता मैले आफ्नो बारेमा धेरै कुरा सिक्ने मौका पाएको छु।’
ट्रान्सिलभेनिया ओपनमा तेस्रो वरीयता पाएकी राडुकानुले मंगलबार स्लोभेनियाकी १२४औं वरीयताकी पोलोना हर्कोगसँग प्रतिस्पर्धा गर्ने छिन्। राडुकानु अहिले प्रशिक्षकबिनै तयारी गरिरहेकी छन्। यूएस ओपनको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका एन्ड्रयु रिचर्डसनसँग उनी अलग भएकी थिइन्।
१८ वर्षीया किशोरी राडुकानुले महिला एकल टेनिसको ग्रान्डस्लाम जित्ने बेलायतको ४४ वर्षको प्रतिक्षा समाप्त पार्दैै यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन्। सन् १९७७ मा भर्जिनिया वेडले विम्बल्डन जितेपछि बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्डस्लामको उपाधि जित्न नसकेको अवस्थामा राडुकानुले ४४ वर्षपछि उपाधि दिलाएकी थिइन्।
वाइल्ड कार्डका रुपमा यूएस ओपनमा प्रवेश पाएकी राडुकानु ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी समेत बनिन्। सन् २००४ पछि ग्रान्डस्लाम जित्ने राडुकानु सबैभन्दा कान्छी खेलाडी पनि हुन्। सन् २००४ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले विम्बल्डन जित्दै ग्रान्डस्लाम जित्ने सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाएकी थिइन्। यसैगरी राडुकानुले कुनै पनि सेट नगुमाई यूएस ओपनको उपाधि जितेकी हुन्। सन् २०१४ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले एउटै सेट नगुमाई उपाधि उचालेकी थिइन्। यूएस ओपनको उपाधि जितेसँगै राडुकानु बेलायतको नम्बर एक खेलाडी बन्न सफल भइन्।
राडुकानुको जन्म पनि क्यानडामै भएको हो। उनको परिवार रोमानियाको बुकारेष्टबाट क्यानडा पुगेको थियो। उनी दुई वर्षको मात्रै हुँदा उनको परिवार बेलायत बसाइँ सरेको थियो। उनीसँग अहिले पनि क्यानडा र बेलायतको नागरिकता छ। राडुकानु रोमानियाकै पूर्व विश्व नम्बर एक सिमोना हालेपको खेलबाट प्रभावित भएर टेनिसमा होमिएकी हुन्। उनले पाँच वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी हुन्।