लोकदोहोरीमा संस्कृति कि विकृति ?
लोक साहित्यका विभिन्न विधामा लोकगीत पनि एउटा विधा हो। समाजमा मानिसका भोगाइका आँसु, हाँसो, पीडा, खुसी एवं स्थिति तथा परिस्थितिजन्य भावनाहरूलाई लयवद्ध ढंगमा मधुर स्वरद्वारा अभिव्यक्त गर्दै लोकजीवनलाई झुमाउने गीत हो, लोकगीत। हिमालबाट सिधै झरेका निश्चल झरनाहरू हुन्, लोकगीत।
परम्पराले दिएको अनुपम उपहार हो, लोकगीत। लोकगीत र लोकसँगीतको उत्पत्तिका सम्बन्धमा कसैले लोकगीतको जन्म मानव सभ्यताको आरम्भमा नै भएको उल्लेख गरेका छन्। कसैले लोकगीतभन्दा पहिले लोकसंगीतको जन्म भएको हो भन्ने गरेको पनि पाइन्छ। जे होस् सृष्टिको आदिमकालमा जनजीवनसँग सम्बन्धित सामाजिक चेतनासँगै लोकगीतको विकास भएको हो भन्ने मान्न सकिन्छ। त्यसैले परम्परागत लोकगीतमा सामूहिक भावनाहरू र सामूहिक सहभागिता रहेको पाइन्छ।
लोकगीत स्वभावैले लोकले गाउने र लोकको जीवनमा आधारित गीत हो। लोकगीत हुनलाई केही समय मौखिक परम्पराबाट गुज्रनुपर्छ। एउटा व्यक्ति, समूह, स्थान र समयबाट अर्कोमा हस्तान्तरण हुने मूलआधार भनेको त्यसको मौखिक परम्परा नै हो। समयसापेक्ष स्थिति र परिस्थिति अनुसार प्रस्तुतिका नयाँ नयाँ ढंग, शैलीहरू हुन्छन्। त्यहीभित्रको एउटा प्रस्तुत गर्ने शैली हो, लोकदोहोरी। यो नेपालको मौलिक गीत हो। लोकभाकामा गाउँ समाजका हर्षमय उल्लाहास, दुःख तथा पीडाका वेदना, प्रेमिल कथा, समाजिक रीतिथिति, वातावरण लगायतका सबै कुरालाई समेटेर गीत सृजना गरिएको हुन्छ। त्यही लोकभाकालाई कुनै विषयउपर जब सवाल–जवाफको रूपमा दुवै तर्फबाट गाइन्छ तब गीत दोहोरी बन्छ। अर्को अर्थमा कहीँकतै लिपिवद्ध नभइ मौखिक परम्पराबाट हस्तान्तरण हुँदै आएको लोकलयमा आधारित कुनै दुई पक्षबिचको गीतिसंवाद तथा सवाल–जवाफलाई लोकदोहोरी भन्न सकिन्छ। जहाँ विषयगत रूपमा गीतमै सवाल र जवाफ हुने हुँदा सर्जकले तत्काल सवाल र जवाफहरू रचना गर्दै प्रस्तुत गर्नुपर्छ।
पूजाको जाग्राम होस् या विवाहको खुसियाली। अथवा चाडबाड वा मेलापात, जहाँ घण्टौंसम्म सवाल जवाफ चलिरहन सक्छ। दोहोरीगीतका सर्जकहरू यसमा माहिर हुन्छन्। तत्काल रचना गरेर गीतिलयमा सुमधुर स्वरले सवाल–जवाफ गर्न सक्नु दोहोरीगीत गायकको प्रमुख विशेषता हो। यसैले दोहोरीगीत गायकहरू अन्य गायकभन्दा भिन्दै क्षमताका हुन्छन्। जुन अन्य सबै गायकमा नहुन सक्छ। नेपालका प्रायः सबै ठाउँमा दोहरीगीत गाएको सुन्न पाइन्छ। सामान्यतया स्थान र जातिविशेषका सबै भाषामा दोहोरी गाइन्छ। निर्धारित विषयमा आधारित रहेर पक्ष र विपक्षबिचको सवाल–जवाफमा अन्त्यानुप्रास मिलाएर टुक्काहरू तत्काल रचना गरिन्छ। यसरी रचना गरिएका टुक्कालाई लोकलयमा आधारित कुनै एउटा लोकभाकामा गाउने गरिन्छ। मेला, पाखा, रोदी, चौतारी, विवाह आदि उत्सवहरूमा युवायुवती मादल, बाँसुरी, सारंगी आदि बाजाको तालमा दोहोरीगीत गाउने गर्दछन्। तथापि दोहरीगीतको र कसकसका बिच गाइने भन्ने विषयवस्तुले निर्धारण गर्ने हुँदा जोकोही माझ पनि गाइन्छ।
अहिले दोहोरीगीतहरू रेकर्ड गरेर बजारमा ल्याउने र आउने प्रचलन बढेको छ। अहिले त्यसरी आएका गीतहरूले बजार पनि पाइरहेका छन्। यसरी आएका गीतहरूमा गीतकार, गायक र संगीतकारको मेहनतले सुन्दा मिठा र कर्णप्रिय भए पनि प्रत्यक्ष खेलिने दोहोरीको मजा र विशेषता यसरी रेकर्डेड दोहोरीगीतमा हुँदैन। प्रत्यक्ष दोहोरीका क्रममा जुनसुकै विषयमा शालिन ढंगले व्यंग्य र हुन्छ। दोहोरी मनभित्र रहेको कुरा खुलेर प्रस्तुत गर्ने माध्यम पनि हो। दोहोरीगीतले खुशी, उल्लास, व्यंग्य, पीडा सबै बोकेको हुन्छ। दोहोरीगीत सवाल–जवाफमा आधारित हुने तथा एउटा कथा र मर्मभित्र बुनिएको हुनुपर्छ। अहिले बनिरहेका अधिकांश लोक तथा दोहोरीगीतमा भने त्यो नभेटिने र कसरी आर्थिक कमाइ बढी गर्न सकिन्छ, कसरी भारइरल बन्न सकिन्छ भन्ने विचारले व्यावसायिकताको विन्दु पछ्याउँदै रेकर्डिङ गरेर बजारमा पठाइन्छ। जुन दुःखको कुरा हो।
तथापि लोकदोहोरीगीत तथा लोकसंस्कृति संरक्षण र सम्वद्र्धनमा विभिन्न व्यक्ति एवं संघसंस्था लागिरहेका छन्। लोकदोहोरीबिनाका सांगीतिक महोत्सवहरू हुनै छाडिसके भन्दा अत्युक्ति नहोला। विभिन्न लोकदोहोरी प्रतियोगिता सञ्चालनमा छन्। हालसालै पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले नेपाल टेलिभिजनबाट लोकदोहोरी च्याम्पियन कार्यक्रम प्रसारण गरिरहेको छ। यस्ता प्रतियोगिताले लोकसंस्कृतिको संरक्षण र सम्वद्र्धन मात्र होइन, लोकदोहोरीका प्रतिभावान् कलाकारहरूलाई थप उर्जासमेत प्रदान गरेको छ। कलाकारहरूलाई अवसरका बाटोहरू देखाइदिएको छ। देशविदेशमा हुने कन्सर्ट मात्र होइनन्, विभिन्न रेष्टुरेन्ट तथा दोहोरी साँझहरूमा उपलब्ध रोजगार लगायत यूट्युबजस्ता प्रविधिका माध्यमबाट समेत आयआर्जन गरिरहेका छन्। आजभोलि लोकगीतका नाममा व्यक्तिविशेषले कोठामा बसेर सृजना गर्ने परम्परा विकसित हुन थालेको छ। यसरी तयार पारिएका भाकाहरूमा मादल र सारंगी बाँसुरीका धुनहरू मात्र हुन्छन्। लोकगीतको परम्परा भनेको त्यो गीत केही समय मौखिक परम्पराबाट गुज्रिएको हुनपर्छ।
पछिल्लो समय लोकगीतमा केही अपाच्य शब्दको प्रयोग हुन थालेको छ। लोकगीतमा समावेश गरिएका शब्द, थेगो, हाउभाउ आदिले लोकसंगीतमा विकृति, विसंगति बढ्दै गएको आभास हुन थालेको छ। अझ लोकगीतअन्तर्गत अचेलका तीजगीतहरूमा प्रशस्त विकृति आएको पाइन्छ। अहिले चलेका गीतहरूका स्थायी, अन्तराका शब्दहरू तथा भावहरू के छन् ? कोही कसैलाई खोट लाउनु र चोट पुर्याउनु पंक्तिकारको मनसाय होइन। त्यसमा केही भन्नु पनि छैन। तर, त्यस्ता गीतको उद्देश्य के हो, के सन्देश छ ? समाजमा के असर पारिरहेको छ भन्नेमा सरोकारी वर्ग सतर्क हुनुपर्छ। उच्छृंखलता र अनावश्यक भड्किलोपनले सांस्कृतिक पहिचान र यसको सौन्दर्य एवं विशिष्टतालाई दखल पारिनु भएन। लोक तथा दोहोरीगीत संरक्षणमा लागि परेका विभिन्न संघसंस्था एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लगायतका सरोकारी वर्गसमेत यसमा सजग र सचेत हुनु जरुरी छ।