निरु विक हत्या प्रकरण : अझै पत्ता लागेनन् दोषि
दैलेख : कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहा गाउँकी १६ वर्षीया बालिका निरु विक हत्याको घटनाका दोषि अझै पत्ता लाग्न सकेको छैन। बालिकामाथि बलात्कारपछि हत्या भएको आशंका गरिएपनि घटनाको दुई महिना बढी भइसक्दा समेत घटना अझै रहस्यमै छ।
दुई महिना अघि घर नजिकै मकैबारीमा उनको विभत्स शव भेटिएको थियो। भदौ ४ गतेदेखि बेपत्ता भएकी निरुको चारदिनपछि मकैबारीमा शव भेटिएको थियो। बालिका निरु विकको हत्यारा सार्वजनिक माग गर्दै बिहीबार कालिकोटको सदरमुकाम मान्ममा प्रदर्शन गरिएको छ। दलित अधिकारकर्मी सरु सुनार नेतृत्वमा स्थलगत अनुगमनका लागि कालीकोट पुगेको दलित अधिकारकर्मीसहित स्थानीयले मान्म बजारमा प्रदर्शन गरेका हुन्। सुनारको नेतृत्वमा दलित महिला संगठन लगायत स्थानीयको टोली घटनास्थल दाहा गाउँ पुगेको थियो।
प्रदर्शनमा सहभागीले ‘निरु विकको हत्यारालाई सार्वजनिक गरी कारबाही गर, बलात्कारीलाई फाँसी दे, दलित माथिको विभेद अन्त्य गर, निरुका परिवारलाई न्याय दे जस्ता नारा लगाउँदै ब्यानर, प्ले कार्डसहित बजार परिक्रमा गरी प्रतिमा चोकमा विरोध सभा गरेका थिए। दलित समुदायकी बालिकाको बलात्कारपछि हत्या गरिएको जनाउँदै कालीकोटका अधिकारवादी संघसंस्था र अधिकारकर्मीले चरणबद्ध आन्दोलन गर्ने घोषणा समेत गरेका छन्।
घटनास्थलमा पुगेर फर्किएकी अधिकारकर्मी सरु सुनारले निरु विकका हत्याराहरु खुलेयाम गाउँ वरिपरी घुमिरहेको दाबी गरिन्। उनले प्रहरी प्रशासनले तत्तपरता नदेखाउँदा निरु विकको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा समेत दोषि पत्ता लाग्न नसकेको बताइन्। ‘निरु विकको बलात्कारपछि हत्या भएको २ महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी प्रशासन गम्भीर हुनुपर्छ,’सुनारले भनिन्। उनले गाउँमा पुग्दा बालिका निरुको परिवारलाई केही उपल्लो जातका भनिएका व्यक्तिबाट धम्की दिइएको जानकारी दिइन्।
प्रहरी प्रशासनले घटनाको अनुसन्धान राम्रोसँग नगरेको गुनासो पोख्दै उच्चस्तरीय छानबिन टोली बनाउनुपर्ने दलित अधिकारकर्मीहरुले माग गरेका छन्। निरु दलित समुदायकी बालिका भएकोले राज्यले अपराधीलाई उन्मुक्ति दिएको अधिकारकर्मीहरु बताउँछन्। बालिकाका बुवा रत्ने नेपालीले छोरीको बलात्कारपछि हत्या गरेको दाबी गरे। उनले घटनाको निष्पक्ष अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाई दोषिमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।
कालिकोटका प्रहरी नायब उपरिक्षक (डीएसपी) चक्रबहादुर शाहले घटनाको अनुसन्धान भइरहेको बताए। उनले उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले घटनास्थल वरपरका ५० भन्दा बढीलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरेको बताए। डीएसपी शाहका अनुसार घटनाको गाउँमा पनि प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार बालिका निरुको शरीरको तल्लो भाग स्यालले खाइसकेको अवस्थामा शव भेटिएको थियो।