‘प्रअलाई दुर्व्यवहार गर्ने सिके राउतका कार्यकर्ता होईनन्, विद्यार्थी हुन्’
जनकपुरधाम : सिके राउतका कार्यकर्ताले धनुषामा एक प्रधानाध्यापकलाई कालोमोसो दलेर चप्पलले पिटेको खबर झुठो भएको धनुषाका प्रहरी प्रमुख वसन्त रजौरेले बताएका छन्। धनुषाको सबैलाई नगरपालिका १२ रघुनाथपुरको फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई जनमतका कार्यकर्ताले नभइ विद्यार्थीले कालोमोसो दलेर चप्पल प्रहार गरेको प्रहरी उपरीक्षक रजौरेले बताए।
शुक्रबार बिहान करिब साढे ११ बजे प्रध्यानाध्यापक साहलाई केही व्यक्तिले कालोमोसो दलेर चप्पलले प्रहार गरेको भिडियो भाइरल बनेपछि सञ्चारमाध्यममा सिके राउतका कार्यकर्ताले दुर्व्यवहार गरेको समाचार प्रकाशन भएको थियो। ‘सिके राउतका कार्यकर्ताले चप्पल हानेको समाचारमा बिल्कुल सत्यता छैन, यो विद्यार्थी र प्रधानाध्यापक बीचको विवादलाई लिएर भएको घटना हो, प्रअ हाम्रो सम्पर्कमा आइसक्नु भएको छ। हामी अनुसन्धान गर्दैछौं तर सिके राउतको कार्यकर्ताले दुर्व्यवहार गरेको समाचार बिल्कुल गलत हो’, प्रहरी प्रमुख रजौरेले भने, ‘भिडियो र फोटोमा प्रष्ट रुपमा देख्न सक्नुहुन्छ कि विद्यार्थीको पोशाकमा रहेका व्यक्तिले मोटरसाइकलमा चढेका प्रधानाध्यापकलाई कालोमोसो दलेर लखेटेका छन्।’
यता सिके राउतका कार्यकर्ता संजय साहले सञ्चारकर्मीलाई फोन गरेर चन्द्रकान्त (सिके) राउतका कुनै कार्यकर्ताले कुनै प्रधानाध्यापकलाई दुर्व्यवहार नगरेको दावी गरे। उनले भने, ‘सञ्चारमाध्यममा कसरी समाचार आयो, हामी आफैँ आश्चर्यमा छौं तर प्रधानाध्यापक माथि सिके राउतका कार्यकर्ताले दुर्व्यवहार गरेका छैनन्, सञ्चार माध्यममा आएको समाचार बिल्कुल गलत हो।’