ताइवानलाई कारबाही गर्ने चीनको चेतावनी, युगान्डाका विद्यालय दुई वर्षपछि पुन: खुल्दै

ताइवानलाई कारबाही गर्ने चीनको चेतावनी, युगान्डाका विद्यालय दुई वर्षपछि पुन: खुल्दै

चीनले ताइवानलाई कारबाही गर्ने चेतावनी दिएको छ। ताइवानमा अमेरिकी सेनाको उपस्थिति देखाएको भन्दै चीनले कारबाही गर्ने चेतावनी दिएको हो। भारत प्रशासित कस्मिरका सडक तथा विद्यालयलगायतका भौतिक पूर्वाधारको नाम त्यहाँ ‘वीरगति’ पाएका सैनिक कर्मचारीको नामबाट राखिने समाचार अन्तर्राष्ट्रिय सञ्चारमाधयममा चर्चामा रह्यो। प्रस्तुत छ, शुक्रबारका केही प्रमुख विश्व समाचारहरू :


ताइवानलाई कारबाही गर्ने चीनको चेतावनी

बेइजिङ : ताइवान स्टे«टमा अमेरिकी सैन्य उपस्थिति देखाएको ताइवानलाई चीनले कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय ताइवान र अमेरिकी सम्बन्धलाई ध्यानमा राख्दै चीनले ताइवानलाई कारबाही गर्ने चेतावनी दिएको हो। 

ताइवानकी राष्ट्रपति साई इङ वेनले गएको बिहीबार सीएनएनसँगको अन्र्तवार्तामा आफ्ना सेनालाई प्रशिक्षण दिन ताइवानमा अमेरिकी सेनाको उपस्थिति रहेको र चीनविरुद्ध अमेरिकाले आफ्नो रक्षा गर्ने अभिव्यक्ति दिएकी थिइन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनविरुद्ध ताइवानको रक्षा गर्ने अभिव्यक्तिपछि राष्ट्रपति वेनले अमेरिकाले ताइवानको रक्षा गर्ने विश्वास व्यक्त गरेकी थिइन्। 

ताइवान र अमेरिकाका प्रमुख शीर्ष नेताको अभिव्यक्ति र दुई देशको पछिल्लो सम्बन्धपछि चीनले सो चेतावनी दिएको ग्लोबल टाइम्समा समाचार छ। 
०००

कस्मिरका विद्यालय र सडकहरुमा सैन्य कर्मचारीको नाम राखिने
श्रीनगर : जम्मु र कस्मिरका सडक र विद्यालयहरुमा ‘वीरगति’ प्राप्त गरेका सैन्य कर्मचारीहरुको नाम राखिने भएको छ। जम्मु–कस्मिरको लडाईँमा मृत्यु भएका सेनाका सदस्यहरुको नामबाट त्यहाँका सडक, विद्यालय लगायत पूर्वाधार संरचनाको नाम राखिने भएको हो।  

जम्मु–कस्मिर प्रशासनले शुक्रबार वीरगति प्राप्त गरेका सैन्य कर्मचारीको सम्मान स्वरुप उनीहरुको नामबाट त्यहाँका विद्यालय, सडक र अन्य पूर्वाधारको नामाकरण गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यममा समाचार छ। 

हिन्दुस्तान टाइम्सकाअनुसार जम्मु–कास्मिर प्रशासनले विद्यालय, सडक गरी विभिन्न पूर्वाधार संरचनाको नामाकरणका लागि १०८ सैन्य कर्मचारीको नाम छनोट गरेको छ। जम्मु–कस्मिरको लडाईँमा वीरगति प्राप्त गरेका अधिकांश नाम सैन्य कर्मचारीको नाम छनोटमा परेको बताइएको छ।
०००  

दोस्रो अमेरिकी क्याथोलिक राष्ट्रपति बाइडेनले पादरीलाई भेट्दै 
वासिङटन : अमेरिकाका दोस्रो क्याथोलिक राष्ट्रपतिले क्याथोलिक चर्चका पादरीसँग भेटवार्ता गर्ने भएका छन्। राष्ट्रपति जो बाइडेनले पादरी पोप फ्रान्सिसँग शुक्रबार (स्थानीय समय) भेटवार्ता गर्ने भएका हुन्। 

रोमन क्याथोलिकका नेता जे.एफ. केनडीले भेटेको आधा शताब्दीपछि बाइडेनले क्याथोलिक चर्चका मुख्य पादरी पोपसँग भेटवार्ता गर्न लागेको बताइएको छ। दुवैले भ्याटिकन सिटीमा प्रत्यक्ष भेटवार्ता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेन र फ्रान्सिसबीच कोभिड महामारीको अन्त्य, जलवायु संकट समाधान, गरिबी उन्मुलनलगायत आधारभूत विषयमा छलफल हुनेछ। 
०००

चोरी भएका २५० मूर्ती अमेरिकाले भारतलाई गर्‍यो फिर्ता 
नयाँ दिल्ली : संयुक्त राज्य अमेरिकाले चोरी भएका करिब २५० वटा पुरातात्विक मूर्ती भारतलाई फिर्ता गरेको छ। लामो समयसम्मको अनुसन्धानपछि अमेरिकाले चोरी भएका ती मूर्ती फिर्ता गरेको हो। 

अमेरिकी अधिकारीले न्यूयोर्कस्थित ती मूर्ती भारतीय वाणिज्य राजदूतावासलाई हस्तान्तरण गरेको हो। 

१२ औं शताब्दीको काश्य शिव नटराजसहित करिब २५० वटा प्राचीन मूर्तीहरु भारतबाट चोरी भएका थिए। भारतको विभिन्न मन्दिरबाट चोरी भएका ती मूर्तीहरु अमेरिकाको संग्राहलयमा पुगेका थिए। 

ती मूर्तीका मूल्य करिब १५ मिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको छ। 
०००  

युगान्डाका विद्यालय दुई वर्षपछि पुन: सञ्चालन हुने
काम्पाला : युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले देशका विद्यालयहरु पुन: सञ्चालन हुने बताएका छन्। विश्व कोभिड महामारीसँगै बन्द भएका विद्यालय झन्डै दुई वर्षपछि पुन: सञ्चालन हुने बताएका हुन्।

युगान्डाका विद्यालय सन् २०२० मार्चदेखि बन्द भएका थिए। कोभिड महामारीका कारण बन्द भएका विद्यालय सन् २०२२ जनवरी पहिलो सातादेखि खुल्ने भएका हुन्। 

‘कोभिडविरुद्धको खोप लगाइसकेपछि विद्यालय खोल्ने निर्णय भएको छ’, राष्ट्रपति मुसेभेनीले भनेका छन्, ‘जनवरीसम्म देशभरका विद्यार्थी र अन्य जनता गरी ५० प्रतिशतलाई खोप उपब्ध गराउने लक्ष्य राखिएको छ।’

युगान्डाको जनसंख्या करिब ४ करोड ५० लाख रहेको छ। हाल देशभर करिब ४ लाख ७० हजार मानिसले कोभिडविरुद्धको खोप लगाइसकेको बताइएको छ। आगामी जनवरीसम्म करिब २ करोड ३० लाख मानिसलाई खोप लगाउने लक्ष्य राखेको बताइएको छ। 
०००

सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री चुनिने
खार्तुम : सुडान सेना प्रमुख अब्देल फताह अल बुर्हानले एक हप्ताभित्रै नयाँ प्रधानमन्त्री चुनिने बताएका छन्। सैन्य शासन लागू भएको केही दिनपछि सेना प्रमुख बुर्हानले सो बताएका हुन्। 

सुडान सेनाले गएको सोमबार प्रधानमन्त्रीसहितको सत्ता भंग गर्दै सैन्य ‘कू’ लागु गरेको थियो। सैन्य शासनको नेतृत्व गरिरहेका सेना प्रमुख बुर्हानले देशभर आपतकालिन घोषणा गरेका छन्। 

त्यसयता सुडानमा सैन्य शासन विरोधीहरुले दैनिक प्रदर्शन गरिरहेका छन्। सैन्य ‘कू’ लागू भएपछि त्यहाँको अवस्था तनावपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
०००

विद्युतीय चुरोट प्रिस्क्राइब गर्ने बेलायत संसारको पहिलो मुलुक 
लन्डन : विद्युतीय चुरोटलाई प्रिस्क्राइब गर्ने बेलायत संसारको पहिलो मुलुक बन्ने भएको छ। धुमपान रोक्नका लागि सहयोग पुर्‍याउने भन्दै विद्युतीय चुरोट प्रिस्क्राइब गर्ने बेलायत पहिलो मुलुक बन्ने भएको हो। 

बेलायतको स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै धुमपानको लत छुटाउन डाक्टरहरुले सो चुरोट प्रिस्क्राइब गर्ने बताएको छ। त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागका अनुसार विगतको तुलनामा बेलायतमा धुमपान दर ह्वात्तै घटेपनि सन् २०१९ मा करिब ६४ हजार मानिसको धुमपानका कारण मृत्यु भएको थियो। 

विद्युतीय चुरोट स्वास्थ्यको लागि कम हानिकारक भएकोले चुरोट छुटाउन विद्युतीय चुरोट प्रिस्क्राइब गरिने मन्त्रालयले जनाएको छ। 
०००

अष्ट्रेलियामा विनाशकारी हुरी, लाखौँ घर अन्धकारमा
मेलबर्न : अष्ट्रेलियामा विनाशकारी हुरी चलेको छ। हुरीका कारण देशका भिक्टोरिया, मेलबर्नलगायत मुख्य सहरहरुमा विद्युत र इन्टरनेट सेवा अबरुद्ध बनेको बताइएको छ। 

अष्ट्रेलियाको मौसम विभागले शुक्रबार बताएअनुसार अष्टे«लियाका विभिन्न क्षेत्रमा बिहीबार रातीदेखि चर्को हुरी चलेको छ। प्रतिघण्टा ११७ देखि १६५ किलोमिटरको वेगमा आएको हुरी अझै केही दिनसम्म रहनेछ। 

हुरीका कारण ४ लाख ५० हजार घरहरुमा विद्युत अबरुद्ध बनेको छ भने करिब १ लाख ५० हजार भन्दा बढी घरहरुमा इन्टरनेट सेवा अबरुद्ध बनेको विभागले जनाएको छ।

हुरीका कारण मेलबर्न, भिक्टोरिया, ताजमानिया, रेड हिल आीद क्षेत्र सबैभन्दा प्रभावित बनेको बताइएको छ। प्रभावित क्षेत्रका मानिसलाई यात्रा नगर्न विभागले सूचना जारी गरेको छ। 

इन्टरनेट र टेलिफोन सेवा अबरुद्ध हुँदा भौतिक र मानवीय क्षतिको विवरण भने प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ।
०००

अफगान पत्रकारविरुद्ध दुई महिनामा ३० हिंसा 
काबुल : तालिबानको अन्तरिम सरकार रहेको अफगानिस्तानमा पत्रकारविरुद्धका घटना बढेका छन्। तालिबान सरकारले सत्ता कब्जामा लिएपछि पत्रकारविरुद्धका घटना बढेका हुन्। 

अफगानिस्तानको मिडिया वाचडगका अनुसार पछिल्लो दुई महिनामा मात्र अफगानिस्तानमा पत्रकारविरुद्ध ३० भन्दा बढी हिंसाका घटना भएका छन्। जसमध्ये ९० प्रतिशत हिंसामा तालिबानको प्रत्यक्ष भूमिका रहेको छ। 

तालिबानको सत्ता कब्जापछि मात्र पत्रकारविरुद्ध ८० प्रतिशतभन्दा बढी हिंसाका घटना भएको अफगानिस्तानको राष्ट्रिय पत्रकार महासंघ (एएनजेयु)ले जनाएको छ। जसमध्ये ४० प्रतिशत शारिरीक यातना र ४० प्रतिशतभन्दा बढी मानसिक यातनाका हिंसा भएको छ।

एएनजेयुका अनुसार सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी हिंसाका घटना भएका छन्। जसमध्ये ३० वटा हिंसाका घटना राजधानी काबुलमा भएका छन् भने काबुलबाहिर ६ वटा घटना भएको तथ्यांक छ। 
– संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.