ज्येष्ठ वृद्धा बाटुलीलाई घर
नुवाकोट : संसारकै सबैभन्दा ज्येष्ठ भएको दाबी गरिएकी नुवाकोटको पूर्वी गाउँ छापगाउँकी बाटुली लामिछानेलाई सरकारले घर निर्माण गरिदिएको छ। विदुरदेखि ४५ किलोमिटर पूर्वमा पर्ने ककनी गाउँपालिका-८ छापथोककी १ सय १९ वर्षीया बाटुली लामिछानेका लागि घर निर्माण गरिएको हो।
लामिछानेको बसोबासका लागि गाउँमा बनाइएको आधुनिक घरको उद्घाटन गरिएको छ। १० लाख रुपैयाँको लागतमा वृद्धाको घर निर्माण गरिएको हो। नवनिर्मित भवनको वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नुवाकोटका उपाध्यक्ष बद्री मैनालीले उद्घाटन गर्दै ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई सरकारले अन्य सहयोग पनि गर्नुपर्ने बताए। उनले भवन निर्माणको लागि गत वर्षको आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत प्राप्त हुने प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत १० लाख रुपैयाँ विनियोजन गरिएको र मासिक रूपमा पाँच हजार रुपैयाँसमेत प्रदान गरिरहेको बताए। सोही अवसरमा वृद्धा लामिछानेको बाला भवन तथा नि:शुल्क स्वास्थ्य शिविर पनि गरिएको छ।
वृद्धा लामिछाने स्वास्थ्यले साथ नदिएपछि केही महिनादेखि बिरामी छिन्। उनले जनातिसमेत देखेकी छन्। लामिछाने बुढ्यौलीका कारण प्रष्टसँग बोल्न सक्दिनन्। १९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकको साबिक बाँसबारी, गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखबाट जन्मिएकी बाटुली नुवाकोटको थानसिङ छापथोकमा छविलाल लामिछानेसँग विवाह गरेर आएकी हुन्।