पाकिस्तानमा सेना प्रमुखको राजीनामा माग गर्दा ५ वर्ष जेल, ताइवान चीनको हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ

पाकिस्तानमा सेना प्रमुखको राजीनामा माग गर्दा ५ वर्ष जेल, ताइवान चीनको हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ

पाकिस्तानमा सेना प्रमुखको राजीनामा माग गर्दा अदालतले एक व्यक्तिलाई पाँच वर्षको जेल सजाए सुनाएको छ। चीनले ताइवान आफ्नो हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको बताएको चीनले बताएको खबर चर्चामा रह्यो। यसैगरी अमेरिकामा पहिलोपटक अरबी मेयर चुन्न लागेको खबरले पनि चर्चा पाएको छ। प्रस्तुत छ, शनिबार चर्चामा रहेका केही विश्वका खबरहरू :


अमेरिकाले पहिलो अरबी मेयर चुन्दै

मिसिगन : अमेरिकाले पहिलो पटक अरबी मेयर चुन्ने भएको छ। अरब अमेरिकीको राजधानीको नामले चिनिने डेट्रोइट सहरको लागि अमेरिकाले पहिलो पटक अरब अमेरिकी मेयर चुन्ने भएको हो। 

डेट्रोइटको मेयरका लागि डियरबर्नमा मेयरको चुनावी दौड चलिरहेको छ। सो पदका लागि लेबनानी अमेरिकी नागरिक अब्दुल्लाह हमौद सहरको पहिलो अरब मुस्लिम मेयर बन्ने अपेक्षा गरिएको अलजजिरामा समाचार छ। 

चुनावी नतिजा आगामी मंगलबार सार्वजनिक गरिने बताइएको छ। यदि हमौदले मेयरको चुनाव जितेमा त्यो ऐतिहासिक बन्ने अरब अमेरिकी अगुवाले बताएका छन्।
००० 

पाकिस्तानमा सेना प्रमुखको राजीनामा माग गर्दा ५ वर्ष जेल
इस्लामावाद : सेना प्रमुखको राजीनामा माग गर्दा पाकिस्तानको सैनिक अदालतले एक व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाएको छ। सेना प्रमुख जनरल कमार जाभेद बाजवाको राजीनामा माग गर्दा अदालतले रिटायर्ड सेना प्रमुखका छोरालाई जेल सजाय सुनाएको हो। 

रिटायर्ड सेना प्रमुख जनरल जफर मेहदी अस्करीका छोरा हसन अस्करीलाई सैनिक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको बताइएको छ।  

आरोपित अस्करीले पत्रमार्फत गत वर्षको सेप्टेम्बरमा सेना प्रमुख बाजवाको कार्यकाल बढाएकोमा आलोचना गर्दै राजीनामा माग गरेको र सोही आरोपमा पक्राउ परेका उनलाई सैनिक अदालतले हालै जेल सजाय सुनाएको बीबीसी उर्दु सेवालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआइले शनिबार उल्लेख गरेको छ।
०००

जी २० सम्मेलनको मुख्य एजेन्डा जलवायु र कोभिड १९
रोम : जी २० शिखर सम्मेलनको मुख्य एजेन्डा जलवायु परिवर्तन र कोभिड १९ महामारी हुने भएको छ। संसारका धनी राष्ट्र प्रमुखबिच इटालीको रोममा आयोजित सो सम्मेलनको मुख्य एजेन्डा जलवायु परिवर्तन संकट सामना र कोभिड १९ को अन्त्य हुने भएको हो। 

विश्व कोरोना महामारीपछि जी २० का शीर्ष नेताविच पहिलो पटक प्रत्यक्ष बैठक हुने भएको छ। सो बैठकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङ भने भर्चुअल माध्यमबाट उपस्थित हुने बताइएको छ। 

सो सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने छ।
०००

भारत र इजरायलले रक्षा क्षेत्रमा १० वर्ष सँगै काम गर्ने
नयाँ दिल्ली : भारत र इजरायलले रक्षा क्षेत्रमा संयुक्त रुपमा काम गर्ने भएका छन्। दुवै मुलुकको संयुक्त कार्य समूह (जेडब्ल्यूजी) अन्र्तगत रक्षा क्षेत्रमा १० वर्षे रणनीतिमा सँगै काम गर्ने भएका हुन्। 

करिब एक दशक लामो रक्षा रणनीतिलाई व्यापक बनाउन दुई देशले संयुक्त रुपमा काम गर्न लागेको भारतको रक्षा मन्त्रालयले बताएको छ। मन्त्रालयले जेडब्ल्यूजीको १५ औं बैठकमा एक दशकको लागि संयुक्त सैन्य कार्य गर्ने निर्णय लिएको बताइएको छ।

विगत पाँच वर्षमा सैन्य हातहतियार वितरण गर्नेमा इजरायल भारतको तेस्रो ठूलो मुलुकमा पर्ने गरेको हिन्दुस्तान टाइम्समा खबर छ। स्टकहल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार भारतमा सबैभन्दा बढी रुसबाट ४९ प्रतिशत, फ्रान्सबाट १८ प्रतिशत र इजरायलबाट १३ प्रतिशत सैन्य हतियार आयात हुने गर्छ।
०००  

कोभिडको उत्पत्ति कहिल्यै पत्ता लगाउन नसकिने
वासिङटन : कोभिड १९ महामारीको उत्पत्ति कहिल्यै पनि पहिचान गर्न नसकिने अमेरिकी गुप्तचरहरुले बताएका छन्। अमेरिकाको राष्ट्रिय गुप्तचर निकाय ओडिएनआइका गुप्तचरहरुले एक रिपोर्ट सार्वजनिक गर्दै महामारीको वास्तविक उत्पत्ति कहिल्यै पनि पहिचान गर्न नसकिने बताएका हुन्। 

कोभिड भाइरस जनावरबाट मानिसमा तथा ल्याबहरुबाट मानिसमा सरेको हुन सक्ने बताउँदै यसको वास्तविक पहिचान हुन नसक्ने ओडिएनआइको भनाइ छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले करिब ९० दिन लामो समय लगाएर सार्वजनिक गरेको रिपोर्टमा गुप्तचरहरुले सो निष्कर्ष निकालेका हुन्। अमेरिकी गुप्तचरहरुले सार्वजनिक गरेको सो रिपोर्टको चीनले आलोचना गरेको छ। 

यद्यपि, कोभिड भाइरस पहिलो पटक सन् २०१९ मा चीनको वुहानमा देखिएको थियो। वैज्ञानिकहरुले कोभिड उत्पत्तिबारे अझै अध्ययन गरिरहेको बताइएको छ।
००० 

ताइवान चीनको हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ 
बेइजिङ : ताइवानले चीनको हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीले बताएका छन्। चीनका वरिष्ठ कुटनीतिज्ञसमेत रहेका विदेश मन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ र अमेरिकालाई जवाफ दिँदै सो बताएका हुन्।

जी २० को शिखर सम्मेलनमा शुक्रबार अमेरिकाले ताइवानलाई संयुक्त राष्ट्रमा अर्थपूर्ण सहभागिता जनाउन आह्वान गरेको थियो। अमेरिकाको आह्वानप्रति आपत्ति जनाउँदै विदेशमन्त्री यीले सो बताएका हुन्। 

‘चीनको ५० वर्ष पुरानो एक चीन सिद्धान्त अमेरिका लगायत अन्य मुलुकहरुले हालसम्म रोक्न सकेका छैनन्। चीनको सो सिद्धान्तलाई ती मुलुकहरुले २१ औं शताब्दीमा समेत रोक्न सक्दैनन्’, चिनियाँ सञ्चारमाध्यमसँग यीले भनेका छन्, ‘ताइवानसँगको विषयमा अमेरिका र अन्य मुलुकहरुले एक चीन सिद्धान्तसँग जोडिएको आफ्नो राजनैतिक प्रतिबद्धता तोड्न खोजिरहेका छन्। जुन चीनले कहिल्यै तोड्न दिने छैन। त्यसैले ताइवान चीनसँग पुनर्मिलन गर्नेबाहेक अन्य विकल्प छैन।’
०००

पाकिस्तानमा अफगानिस्तानका राजदूत र कुटनीतिज्ञ नियुक्त 
काबुल : पाकिस्तानले अफगानिस्तानका राजदूत र अन्य कुटनीतिज्ञ नियुक्ति लागि अनुमति दिएको छ। तालिबान नेतृत्वको सरकारमा अफगान राजदूतको लागि पाकिस्तानले सो अनुमति दिएको हो। 

सरदार मुहम्मद शोकाइवले अफगानिस्तान राजदूतको जिम्मेवारी लिएको शनिबार डन न्यूजमा प्रकाशित समाचारमा उल्लेख छ। उनीसहित हफिज मोहिबुल्लाह, मुल्लाह घुलम रसुल र मुल्ला मोहम्मद अब्बासले कुटनीतिज्ञको रुपमा पेशावर, क्वेटा र कराचीमा नियुक्त गरिएको बताइएको छ।

तालिबान सरकारमा पाकिस्तानको इस्लामावादस्थित अफगान राजदूतको रुपमा जिम्मेवारी पाउने उनीहरु पहिलो व्यक्ति रहेको बताइएको छ।
००० 

सुडानका जनताले देशव्यापी हडताल गर्ने 
खार्तुम : सैन्य शासनको विरोधमा सुडानका जनताले देशव्यापी हडताल गर्ने योजना बनाएका छन्। जनताले सैन्य शासनको विरोधमा राजधानी खार्तुमबाहेक देशभरका विभिन्न स्थानमा बन्द, हड्ताल र आन्दोलन कार्यक्रम गर्ने योजना बनाएका हुन्। 

सुडान सेना प्रमुख अब्देल फताह बुर्हानले गएको सोमबार सत्तारुढ प्रधानमन्त्री अब्दल्ला हमडोकलगायतलाई पक्राउ गरी सैन्य ‘कू’ लागू गरेका थिए। लोकतन्त्र पुनर्बहालीको माग र सैन्य ‘कू’को विरोधमा हजारौँ सुडानी जनताहरु सोमबारदेखि सडकमा उत्रिएका छन्। 

सैन्य ‘कू’ विरोधी प्रदर्शनमा हालसम्म ११ सुडानी जनताले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्। सुडानमा गृह युद्ध हुन नदिन आफूले सैन्य शासन लागू गरेको सेनाले बताएको छ।
००० 

टोङ्गामा पहिलो पटक कोरोना संक्रमण फेला 
नुकुआलोफा : टापुमा पर्ने मुलुक टोङ्गामा पहिलो पटक कोरोना संक्रमण फेला परेको छ। विश्व महामारी कोभिड १९ फेला परेको करिब २ वर्षपछि टोङ्गामा शुक्रबार पहिलो पटक एक संक्रमित  फेला परेको बताइएको छ। 

न्यूजिल्याण्डबाट टोङ्गा पुगेका एकमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। न्यूजिल्याण्डको उत्तरपूर्वी क्षेत्रमा अवस्थित टोङ्गामा हालसम्म कोरोना संक्रमण पुष्टि भएको थिएन। 

टोङ्गाको कुल जनसंख्या १ लाख ६ हजार रहेको छ। त्यहाँका ३१ प्रतिशत मानिसमा कोभिडविरुद्ध पूर्ण खोप लगाएको बताइएको छ।

– संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.