यसरी बन्यो जलवायु मुद्दा

यसरी बन्यो जलवायु मुद्दा

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आइतबार सुरु हुँदैछ । विश्वभरका विकसितदेखि विकासोन्मुख र अल्पविकसित राष्ट्रका शीर्ष नेतृत्व र प्रतिनिधिले यो सम्मेलनमा सहभागिता जनाउँदै छन् । उनीहरूले जलवायु परिवर्तनका विविध आयाममा छलफल गर्नेछन् । जोखिम न्यूनीकरण गर्ने उपाय खोज्नेछन् । 

जलवायु परिवर्तनलाई मानव जातिले सामना गर्ने सबैभन्दा ठूलो समस्याका रूपमा लिइएको छ। यसले हावापानी र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तन गर्छ। मानव गतिविधिले हाम्रो ग्रहको मौसम परिवर्तन गर्न सक्छ भन्ने वैज्ञानिकको दाबीमा एक शताब्दीकोअनुसन्धानपछि मात्र विश्वस्त हुन थालेको पाइन्छ। 

यससम्बन्धी वैज्ञानिक खोजको इतिहास १९औं शताब्दीको सुरु तिरको हो। सन् १८२० मा फ्रान्सेली वैज्ञानिक जोसेफ फोरियरले सूर्यबाट पृथ्वीको दूरीलाई ध्यानमा राख्दै पृथ्वी जति न्यानो छ त्यति हुनुहुँदैन भन्ने निष्कर्ष निकाले। उनले यस ग्रहलाई न्यानो राख्न सौर्य विकिरणबाहेक अन्य केही तत्वले भूमिका खेलेको हुनुपर्ने भन्ने दाबी गरे। वायुमण्डलले यसमा महत्वपूर्ण भूमिका निभाएको पत्ता लगाए। फोरियरले मानव गतिविधिले जलवायु परिवर्तनलाई प्रभाव पार्न सक्ने शंका गरे। यसलाई प्रायः ‘हरितगृह प्रभाव’ भनेर चिनिने पछिल्ला अनुसन्धानको आधार मानिन्छ। 

आइरिस भौतिकशास्त्री जोन टिन्डलले सन् १८२० देखि सन् १८९५ सम्मको अवधिमा विभिन्न ग्यासले विभिन्न मात्रामा ताप छाड्ने विषयमा अध्ययन गरे। उनले वायुमण्डलको संरचनामा भएको भिन्नता जलवायु परिवर्तनमा जिम्मेवार हुन सक्ने बताए। टिन्डलले कार्बनडाइअक्साइडले पनि तापलाई सोस्न सक्ने पत्ता लगाए। 

स्विडेनका वैज्ञानिक भान्ते एरेनियसलाई वायुमण्डलमा कार्बनडाइअक्साइड थुप्रदा यसले विश्वव्यापी तापमानमा कसरी प्रभाव पार्न सक्छ भन्ने सिद्धान्त प्रकाशन गर्ने पहिलो व्यक्ति मानिन्छ। उनको गणनाअनुसार कार्बनडाइअक्साइडलाई आधा घटाउँदा बरफ युग सुरु हुन्छ भने दोब्बर बनाउँदा यसले पृथ्वीको तापमानलाई ५ देखि ६ डिग्री सेल्सियससम्म बढाउँछ।

एरेनियसले सन् १८९६ मा पृथ्वीको तापमानमा हावामा रहेका कार्बनिक एसिडको प्रभाव विषय लेख प्रकाशित गरे। बलिरहेको कोइला र अन्य औद्योगिक स्रोतबाट हुने उत्सर्जनले अन्ततः न्यानोपन निम्त्याउँछ भनेर स्विडेनी अग्रगामीले लेखमार्फत बुझे।  

सन् १९३० को दशकमा एक वैज्ञानिकले कार्बन उत्सर्जनले पहिले नै पृथ्वी न्यानो हुन थालिसकेको बताए। बेलायती इन्जिनियर स्टिवर्ट क्यालेन्डरले संयुक्त राज्य अमेरिका र उत्तरी एट्लान्टिक क्षेत्र औद्योगिक क्रान्तिको समयमा उल्लेखनीय रूपमा न्यानो भएको बताए। वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा दोब्बर हुँदा यसले २ डिग्री सेन्टिग्रेट (३.६ डिग्री फरेनहाइट)सम्म न्यानो पार्न सक्ने उनले भनाइ थियो। उनले सन् १९६० को दशकमा पृथ्वीको हरितगृह प्रभावले तापमान उच्च राख्ने काम गरिरहेको  दाबी गरे। उनका दाबीहरूलाई शंकाका दृष्टिकोणले हेरिए पनि तापमान वृद्धिको सम्भावनाप्रति ध्यानाकर्षण गर्न सफल भए। यसले जलवायु र कार्बनडाइअक्साइडको स्तरलाई अझ नजिकबाट अनुगमन गर्न केही सरकारी अनुदान प्राप्त परियोजना  जुटाउन भूमिका खेल्यो। जलवायु परिवर्तन र यसको राजनीतिक तथा आर्थिक प्रभावमाथि वैज्ञानिक दृष्टिकोण प्रदान गर्न सन् १९८९ मा संयुक्त राष्ट्रअन्तर्गत जलवायु परिवर्तनमा अन्तरसरकारी प्यानल (आईपीसीसी)को स्थापना गरियो। विश्वका नेताहरूले हरितगृह ग्यास उत्सर्जन घटाउन र भविष्यवाणी गरिएका डरलाग्दा परिणाम रोक्न छलफल थाले। हरितगृह ग्यास घटाउने पहिलो विश्वव्यापी सम्झौता क्योटो प्रोटोकल १९९७ मा लागू गरियो। राष्ट्रपति बिल क्लिन्टनले हस्ताक्षर गरेका उक्त प्रोटोकलले सन् २००८ देखि २०१२ को लक्ष्य अवधिमा ४१ देश र युरोपेली संघमा ६ वटा हरितगृह ग्यासको उत्सर्जन सन् १९९० को स्तरभन्दा ५.२ प्रतिशतले घटाउन आह्वान गरेको थियो। 

राष्ट्रपति जर्ज डब्लू बुसले पदभार ग्रहणलगत्तै २००१ मार्चमा अर्थतन्त्रलाई चोट पुर्‍याउँछ भन्दै अमेरिकामा क्योटो प्रोटोकल लागू नगर्ने बताए। सोही वर्ष आईपीसीसीले तेस्रो प्रतिवेदन जारी गर्‍यो र  अत्यधिक हानिकारक प्रभावसहित तापमान वृद्धिको सम्भावना औंल्यायो। तापमान वृद्धि हुने विषयमा शंका गर्नेमध्ये डोनाल्ड ट्रम्प पनि थिए। उनले नोभेम्बर ६, २०१२ मा ट्विट गरे, ‘ग्लोबल वार्मिङको अवधारणा अमेरिकी उत्पादनलाई गैरप्रतिस्पर्धी बनाउन चिनियाँद्वारा सिर्जना गरिएको हो।’ 

राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी अर्को माइलस्टोन सन्धि पेरिस जलवायु सम्झौता २०१५ मा हस्ताक्षर गर्‍यो। सम्झौतामा १९७ देशले हरितगृह ग्यास कटौतीका लागि लक्ष्य निर्धारण गर्ने र त्यसको प्रगति विवरण बुझाउने बाचा गरे। सन् २०१६ मा डोनाल्ड ट्रम्पको निर्वाचनले पेरिस सन्धिबाट अमेरिका बाहिरिने घोषणा गर्‍यो। ट्रम्पले अमेरिकालाई दण्ड दिने सम्झौतालाई असल नियतले समर्थन गर्न नसक्ने बताएका थिए। सोही वर्ष नासाको प्रतिवेदनमा पृथ्वीको सतह सन् १८८० यता कै न्यानो भएको उल्लेख गरिएको थियो। 

सन् २०१८ अगस्टमा स्विडेनी किशोरी एवं जलवायु अभियन्ता ग्रेटा थनवर्गले स्विडेनी संसद अगाडि ‘जलवायुका लागि विद्यालय हड्ताल’ नामकोे विरोध प्रदर्शन गरिन्। विश्व तापमान वृद्धिका लागि जनचेतना जगाउने उनको अभियान संसारभर एक आँधीझैं फैलियो। नोभेम्बर महिनासम्म विश्वका २४ देशमा १७ हजारभन्दा बढी विद्यार्थीले जलवायु अभियानमा भाग लिइसकेका थिए। 

अर्को वर्ष अगस्टमा न्युयोर्क सहरमा भएको संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनमा उनले भाग लिइन्। कार्बन उत्सर्जन कम गर्न उनले हवाई यात्राको सट्टा डुंगाबाट 
एट्लान्टिक समुद्र पार गरेकी थिइन्। संयुक्त राष्ट्र जलवायु कार्य शिखर सम्मेलनले १.५ डिग्रीलाई यस शताब्दीको अन्त्यसम्मका लागि विश्व तापमान वृद्धिमा सामाजिक, आर्थिक, राजनीतिक र वैज्ञानिक रूपमा सुरक्षित सीमा निर्धारण गर्‍यो। सन् २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने समयसीमा पनि तोक्यो।

०००

जी२० मा बहस
इटालीमा भएको विश्वका प्रमुख अर्थतन्त्रहरूको बैठकमा शीर्ष नेताहरूले जलवायु परिवर्तन र कोभिडलाई मुख्य एजेन्डा बनाएका छन्। जी२० मा  नेताहरूले कोरोना महामारी सुरु भएयता पहिलो पटक प्रत्यक्ष भेटघाट गरेका हुन्। 

चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने शिखर सम्मेलनका लागि इटालीको राजधानी रोम पुगेका छैनन्। यी २ नेता भिडियो लिंकमार्फत बैठकमा उपस्थित हुने भएका छन्। उत्सर्जन कटौती गर्न तत्काल कुनै कदम नचालिए, यसले भविष्यमा गम्भीर परिणाम ल्याउन सक्छ भन्ने चेतावनीबीच वार्ता सम्पन्न भएको छ। विश्वको ८० प्रतिशत कार्बनडाइअक्साइड उत्सर्जनमा योगदान पुर्‍याउने अनुमान गरिएको जी२० समूह १९ देशहरू र युरोपली संघ मिलेर बनेको छ। बीबीसीसँग कुरा गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जलवायु परिवर्तनलाई मानवताका लागि सबैभन्दा ठूलो खतराका रूपमा वर्णन गरे। 

यसले सभ्यतालाई मूल रूपमा पछाडि धकेल्ने खतरा पनि उनले औंल्याए। यद्यपि, न त जी२० बैठक, न कोप २६ शिखर सम्मेलनले विश्वको तापमान वृद्धिलाई रोक्न सक्ने उनले स्वीकारे। सही उपायहरू अपनाएर ग्रहको तापमान वृद्धिलाई रोक्न सकिने उनको भनाइ छ। कोभिडको विषयमा पनि बैठकमा छलफल गरिने भएको छ।

एजेन्सीको सहयोगमा
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.