उत्कृष्ट सहर, उत्कृष्ट जीवन

उत्कृष्ट सहर, उत्कृष्ट जीवन

‘सहर एउटा ठूलो घरजस्तै हो र घर यस अर्थमा सानो सहर हो।’ 

– लियोन ब्याटिस्टा

सबैको चाहना हुन्छ, खुसी र सुखी बनेर समृद्ध जीवन बिताउने। यही सार्वभौम सत्यलाई समातेर ‘राम्रो सहरी भविष्यका लागि’ भन्ने नाराका साथ विश्व समुदायलाई समेटेर सबैका लागि कार्यरत यूएन ह्याबिटेटले विश्व सहरीकरण दिवसका लागि तय गरेको भाव हो, ‘उत्कृष्ट सहर, उत्कृष्ट जीवन’। यसकारण पनि सबै देशले आफ्ना सहरहरूलाई उत्कृष्ट बनाउने प्रयत्न गरिरहेकै हुन्छन्। बिनातुलना कुन सहर कोभन्दा उत्कृष्ट भन्ने आधार हुँदैन। गत वर्षको ‘ग्लोबल सिटिज इन्डेक्स’मा न्युयोर्क (अमेरिका), लन्डन (बेलायत) र पेरिस (फ्रान्स) शीर्ष तीन सहरका रूपमा छनोट भए। विश्व परिवेशमा यिनले दशक लामो प्रभुत्व जमाउन सफल भएका छन्। यस्तै, सोही इन्डेक्सको उत्कृष्ट दसमा क्रमशः टोकियो, बेइजिङ, हङकङ, लस एन्जलस, सिकागो, सिंगापुर र वासिङटन डिसी छन्। उही देश अमेरिकाको न्युयोर्क नम्बर एक र डिसी दस स्थानमा रहनुले उत्कृष्ट विकासका लागि योजना, काम गर्ने दृढता र तरिका आदि कति फरक हुँदोरहेछ भनेर पुष्टि गरेका छन्।

‘उत्कृष्ट सहर, उत्कृष्ट जीवन’का लागि विश्वव्यापी मापनको अर्को पाटो पनि छ। ग्लोबल सिटिज रिपोर्टकै आधारमा सन् २०२० मा ‘ग्लोबल सिटिज आउटलुक ¥याङ्क’ को पनि विश्लेषण गरौं। जहाँ उत्कृष्ट तीन सहरमा क्रमशः लन्डन, टोरन्टो र सिंगापुर परेका थिए। यस दृष्टिले उत्कृष्ट दसका बाँकी सहरमा क्रमशः टोकियो, पेरिस, म्युनिच, अबुधावी, स्टोकहोल्म, अम्स्टर्डम र डब्लिन छन्। ग्लोबल सिटिज रिपोर्टले भनेकै छ, ‘प्रतिभाको प्रश्न ः कसरी मानव पुँजीले अर्को विश्वव्यापी नेताहरू निर्धारण गर्नेछ ?’ अहिले विश्वका सबै जनप्रतिनिधिलाई यो प्रश्न पेचिलो बनेको छ। संघीयता कार्यान्वयनको सुरुआती चरणमा रहेको गणतान्त्रिक मुलुक नेपालका नेतालाई त यो प्रश्न सबैभन्दा अहम् छ। नेपाल यो इन्डेक्स र ¥याङ्कको ‘टप टेन’ मा कहिले पर्ला ? उक्त रिपोर्टअनुसार, सन् २०१९ मा २०औं स्थानमा रहेको अबुधाबी वर्ष दिनमै उत्कृष्ट सातमा पर्न कसरी सफल भयो ? अनि लन्डन सन् २०१८, १९ र २० तीनवटै वर्ष कसरी विश्वको सर्वोत्कृष्ट सहर बन्न सफल भयो ? सरकारको नेतृत्व सम्हाल्न आतुर नेपालका राजनीतिक दलका नेताहरूले के यसतर्फ कहिल्यै ध्यान दिएका छन् ? अध्ययन, अनुसन्धान गरेका छन् ?

विश्व सहरीकरण दिवसको यस वर्षको नारा ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन अपनाइँदै’ रहेको छ।

विकासका नाममा कतिपय गाउँमा अन्धाधुन्ध डोजर चलाएर बिनाइन्जिनियरिङ सडक खन्नुलाई प्रश्रय दिने स्थानीय जनप्रतिनिधिले अब आँखा खोल्नैपर्छ।

उत्कृष्ट सहर उत्कृष्ट जीवन बनाउँदै सुन्दर भविष्य निर्माण गर्न नेपाली नेता कहिले प्रमुख वैश्विक खेलाडीको सूचीमा सूचीकृत होलान् ?

नागरिकको सेवामा तल्लीन देशका नेता आफ्नो सहरलाई विश्वमा कसरी उत्कृष्ट बनाएर मतदाताको जीवन कसरी उत्कृष्ट पार्न लागि पर्छन् भन्ने उत्कृष्ट उदाहरण हो यो ग्लोबल सिटिज रिपोर्ट। वर्ष दिनमै सातवटा देशलाई पछाडि पारेर आफूलाई अब्बल बनाउन उनीहरूले के गरे होलान् ? तिनको खोजी हामीले गर्नुपर्छ अबका दिनमा। विकासका नाममा अन्धाधुन्ध डोजर चलाएर बिनाइन्जिनियरिङ सडक खन्नुलाई प्रश्रय दिने जनप्रतिनिधिले अब आँखा खोल्नैपर्छ। संघीय, प्रादेशिक र स्थानीय सरकारमा पुगेका र अबका दिनमा पुग्ने जनप्रतिनिधिले उत्कृष्ट सहरीकरणका लागि ग्लोबल सिटिज रिपोर्टमा जस्तै मानव पुँजी, सूचना आदानप्रदान, व्यापार गतिविधि, सांस्कृतिक अनुभव र राजनीतिक संलग्नताजस्ता पाँच आयाममा कसरी फड्को मार्छन् भनेर गहन विश्लेषण गर्नु जरुरी छ। 

अर्कोतर्फ, यसरी उत्कृष्ट सहर उत्कृष्ट जीवन बनाउँदै सुन्दर भविष्य निर्माण गर्न नेपाली नेता कहिले प्रमुख वैश्विक खेलाडीको सूचीमा सूचीकृत होलान् ? आम मतदाता नेपाली नागरिकको प्रश्न हो यो। उनीहरूले के बुझ्नैपर्छ भने सुशासनमार्फत प्रतिभाशाली मानव पुँजीलाई आकर्षण गर्नेदेखि हरेक सहरबीच आर्थिक र भौतिक पूर्वाधार विकास गर्दै प्रतिस्पर्धात्मकता बढाउनेसम्मका काममा योजना, दृढ इच्छाशक्ति र उत्तरदायी एवं पारदर्शी भूमिका निर्वाह गर्नुपर्छ।

सन्दर्भ हो, विश्व सहरीकरण दिवसको। पहिलो पटक आठ वर्षअघि २०७० सालमा अर्थात् सन् २०१४ मा विश्व सहरीकरण दिवस मनाउन सुरु गरिएको हो। ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ चीनमा पहिलो विश्व सहरीकरण दिवस मनाइएको थियो। अक्टोबर महिनालाई ‘अर्बन अक्टोबर’ भनिन्छ, त्यसैले अक्टोबरको अन्तिम दिन यो दिवस मनाइन्छ। कोभिडले गत वर्ष यो दिवस भर्चुअल्ली मनाइएको थियो भने यस वर्ष यूएन ह्याबिट्याट र इजिप्ट सरकारको संयुक्त आयोजनामा इजिप्टको लक्जर सहरमा भौतिक रूपमै अक्टोबर ३१ का दिन आज विश्व सहरीकरण दिवस मनाइँदैछ। दिवसको यस वर्षको नारा ‘एडप्टिङ सिटिज फर क्लाइमेट रेसिलेन्स’ अर्थात् ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन अपनाइँदै’ रहेको छ।

सम्मेलनमा ‘क्लाइमेट चेन्ज’ को विश्वव्यापी मुद्दालाई सहरसँग जोड्दै जलवायु परिवर्तनमा सहरीकरणको भूमिकामा बहस हुनेछ भने व्यवस्थित सहरीकरणमा जलवायु परिवर्तनलाई ध्यान दिनुपर्नेमा जोड दिइनेछ। सहर भन्नेबित्तिकै सबैले गुणस्तरीय जीवनशैली भएको भौतिक पूर्वाधारले सुविधायुक्त स्थान भन्ने परिकल्पना गरिहाल्छन्। उसो त सहरवासीले पनि गाउँको छुट्टै मौलिक पहिचान बोकेको सफा, सुन्दर र हरियाली स्थानका रूपमा लिन्छन्। मानवीय स्वभाव नै हो, गाउँका बासिन्दा बेलाबेला सहर जानु र रमाउनु अनि सहरका बासिन्दा बेलाबखत गाउँघर पुग्नु र रमाउनु। त्यही गाउँ क्रमशः सहर बन्ने हो। सहरीकरण भन्नाले भौतिक पूर्वाधार निर्माण र जनसंख्यासँगै सेवा सुविधा बढ्नु मात्र होइन, सँगै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रको स्थापना, पहिचान र समन्वयको समग्रता पनि हो। अर्कोतर्फ दिगो सहरीकरणको विश्वव्यापी मुद्दा समातेर विश्वव्यापी सम्मेलन गर्न विश्व सहरी मञ्च क्रियाशील छ। यसले पोल्यान्डको पोलिस सिटीस्थित काटोबिसमा सन् २०२२ को जुन २६ देखि ३० सम्म सम्मेलन गर्दैछ। 

नेपाल यसमा कसरी जोडिएला ?
संयुक्त राष्ट्रसंघका अनुसार, जलवायु परिवर्तनका कारण विश्वभर सहरहरूमा गर्मीको लहर, आँधी, बाढीपहिरो, खडेरी र समुद्री सतहमा वृद्धि आदि प्राकृतिक प्रकोपहरूको प्रभाव बढ्दै गएको छ। यही सन्दर्भमा विश्वका १ सय ३० सहरका बन्दरगाहमा बसोबास गर्ने एक लाखभन्दा बढी बासिन्दा तटीय बाढीबाट प्रभावित हुने अनुमान छ। यस्तै सहरमा रहेका अनौपचारिक बस्तीहरूमा भने एक अर्ब मानिस विशेष जोखिममा हुनेछन्। तर सफल र उत्कृष्ट सहरहरूले भने जलवायु परिवर्तनसम्बन्धी जोखिमलाई धेरै हदसम्म कम गर्न सक्ने देखिएको छ।

खासगरी विश्वव्यापी महामारी कोरोनापछि विश्व प्रतिस्पर्धामा खरो उत्रन नेपालजस्ता विकासोन्मुख राष्ट्र पनि जलवायु परिवर्तनका आफ्ना र साझा समस्यामा जुझारु हुन आवश्यक देखिएको छ। नेपालका सन्दर्भमा भने नेताहरूले आफ्ना सहरहरूको सार्वजनिक मूल्य सिर्जना गर्न पनि समाजका सबै पक्ष र क्षेत्रमा आफूलाई केन्द्रित गर्नुपर्ने बेला आएको छ। खासगरी काठमाडौं, विराटनगर, पोखराजस्ता प्रमुख सहरका नेताहरूलाई सहरको दिगो र व्यवस्थित विकास, स्थिरता, समानता र मूल्य सिर्जना आदिलाई कमजोर बनाउने विषय र सन्दर्भलाई उल्टाउने अवसर प्राप्त भएको छ। ताकि नेपाली नागरिकले पनि उत्कृष्ट सहरमा उत्कृष्ट जीवन उपभोग गर्न पाएको महसुस गरुन्।

सहरीकरणले आर्थिक, जनसांख्यिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वातावरणीय प्रक्रियाको जटिल पक्षहरूलाई समावेश गर्छ। सहरीकरणले सहरी क्षेत्रहरूमा बढ्दो जनसंख्याको बसोबासलाई पनि प्रतिनिधित्व गर्छ। संयुक्त राष्ट्रसंघले गरेको अनुमानअनुसार सन् २००८ को अन्त्यसम्ममा विश्वको आधा जनसंख्या सहरमा बस्न थालेका थिए। संघको अनुमान हेर्ने हो भने सन् २०५० सम्ममा विकासशील र विकसित विश्वको क्रमशः ६४.१ र ८५.९ प्रतिशत सहरीकरण हुनेछ। गाउँबाट सहरी क्षेत्रमा बसाइँ सर्ने र सहरमा बसोबास गर्ने मानिसका कारण सहरीकरण हुने गर्छ।

यो स्वाभाविक प्रक्रियासँग आधुनिकीकरण, औद्योगिकीकरण र भूमण्डलीकरण जोडिएको हुन्छ। सहरीकरण तर्कसंगत समाजशास्त्रीय प्रक्रियासँग सम्बन्धित हुन्छ। सहरभित्रका अनेक जटिलताका कारण सहरीकरण प्रक्रियाका सकारात्मक र नकारात्मक दुवै प्रभाव देखिइरहन्छन्। जसमा परिवर्तन देखिँदैन। समग्र विकासमार्फत उत्कृष्ट सहर बनाएर उत्कृष्ट जीवन जिउने वातावरण बनाउने अन्तिम विकल्प भनेकै सकारात्मक प्रभावहरूलाई अधिकतम प्रयोग गर्ने र नकारात्मक प्रभावहरूलाई बेवास्ता गर्दै अघि बढ्नुपर्छ।

जलवायु परिवर्तनले विशेषगरी गाउँभन्दा सहरहरूलाई गम्भीर असर पार्ने विज्ञहरूको तर्क छ। ६ वटै प्रदेश र ४ सय ६० स्थानीय सरकारले आउँदा वर्ष र दशकहरूमा सहरहरूमा प्राकृतिक प्रकोप व्यवस्थापनको पूर्वतयारीका लागि पनि सोहीअनुरूप नीति निर्माण गरी गतिलो बजेट राखेर काम गर्नुपर्ने देखिन्छ। विश्व परिवेश हेर्ने हो भने जलवायु परिवर्तनको सही अवतरणका लागि सरकार मात्र पर्याप्त देखिँदैन, यसमा निजी क्षेत्रको भूमिका र लगानी उत्तिकै महत्त्वपूर्ण हुन्छ।

जलवायु परिवर्तनका दृष्टिले सबैले आफ्ना सहरहरूलाई कसरी थप लचिलो बनाउने भन्ने सन्दर्भमा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय रणनीति र प्रकोप न्यूनीकरणका लागि विश्वव्यापी सुविधा र पुनप्र्राप्तिका १० कार्यसूची तयार पारेको छ। जसमा संगठन र समन्वय, बजेट विनियोजन, जोखिमको तयारीका लागि मूल्यांकन, जोखिम कम गर्न महत्त्वपूर्ण पूर्वाधार, विद्यालय र स्वास्थ्य संस्थाको सुरक्षा, यथार्थपरक भूउपयोग योजना यस सूचीमा पर्छन्। यस्तै, विपद्सम्बन्धी तालिम र जनचेतनाका कार्यक्रम, इकोसिस्टम र जोखिमयुक्त प्राकृतिक क्षेत्रको पहिचान, विपद्पछिको पुनर्निर्माण र जीविकोपार्जनको सवाल गरी १० सूचीमा सबै राष्ट्र सजग हुनुपर्ने देखिन्छ।

नेपालले पनि ती कार्यसूचीलाई अवलम्बन गर्न सके जलवायु परिवर्तनले पार्ने प्रभावमा आफूलाई सामना गर्न सक्ने बनाउने देखिन्छ। किनकि विकासोन्मुख देश नेपाल जहाँ झन्डै डेढ सय स्थान तीव्र सहरीकरणको प्रक्रियामा छन्। पछिल्लो समयमा भारी वर्षा हुनु, मानव स्वास्थ्यमा गम्भीर असर पर्दै जानु, कृषि र खाद्य सुरक्षामा देखिएको असर, हिमताल बिस्फोट, खडेरी, सुक्खा, बाढी, पहिरो आदिजस्ता जलवायुजन्य खतराले नेपाल अति असुरक्षित रहेको अध्ययनहरूले देखाएकाले पनि सबै ७६१ सरकार यसको रोकथाममा गम्भीर हुनुपर्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.