मदानेको आकाशमा प्याराग्लाइडिङ
गुल्मी : मदाने गाउँपालिका गुल्मीको आकाशमा प्याराग्लाइडिङको परीक्षण गरिएको छ। पहिलोपटक गरिएको परीक्षण एक सातासम्म गरिने भएको छ।
मदाने गाउँपालिकाभित्र रहेका पर्यटन क्षेत्रको पहिचान र उनीहरुको प्रवर्द्धन गर्ने उद्देश्यले प्याराग्लाइडिङ परीक्षण सुरु गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोख्रेलले जानकारी गराए।
भू–बनोटका हिसावले गाउँपालिकामा प्याराग्लाइडिङ परीक्षण सफल हुने आशासहित सञ्चालन गरिएको उनको भनाइ छ। मदानेमा सम्भाव्यता अध्यनका लागि वडा नम्बर २ स्थित बाँझकटेरीको थामडाँडाबाट उडान गरी सिर्सेनीको सिममा प्याराग्लाइडिङ अवतरण गर्ने गरिएको छ।
कार्तिक ११ गतेबाट सुरु गरिएको परीक्षण कार्त्तिक १७ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। पहिलोपटक गाउँ घरमै प्याराग्लाइडिङको अनुभव समेत गरेका पोखरेलले गाउँका डाँडापाखाहरु प्याराग्लाइडिङबाट अवलोकन गर्न पाउँदा खुसीले मन प्रफुल्ल भएको अनुभव सुनाए। उनले सुरुमै जोखिम मोलेर अनुभव लिए पनि उडिरहेको समयमा मनमोहक दृश्य देख्दा मनको त्राश हराएर गएको बताए।
प्याराग्लाइडिङको सफल परीक्षण भएमा आगामी दिनमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा यो कोशेढुंगा सावित हुने आशा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यसलाई व्यवसायिक रुपमा अघि बढ्नका लागि यस क्षेत्रका विज्ञसँग छलफल र सहकार्य गर्ने योजना बनाएको समेत सूचना अधिकारी पोखरेलले बताए। परीक्षण गरिएको क्षेत्र गुल्मी, अर्घाखाँची र प्यूठानको बिच भागमा रहेकाले पनि जोडिएका जिल्लाका नागरिकहरु समेत प्याराग्लाइडिङको अनुभव लिन यहाँ आउने सम्भावना छ। प्याराग्लाइडिङ उडान परीक्षणमा मदाने गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ खर्च गर्ने जनाएको छ।