मृत्युको हल्लापछि पहिलो पटक देखिए तालिबानका शीर्ष नेता, मेक्सिकोमा १ हजार वर्ष पुरानो डुङ्गा फेला

मृत्युको हल्लापछि पहिलो पटक देखिए तालिबानका शीर्ष नेता, मेक्सिकोमा १ हजार वर्ष पुरानो डुङ्गा फेला

जलवायु परिवर्तनसम्बन्धी कप–२६ सुरु 

रोम : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कप–२६ आइतबारदेखि सुरु भएको छ। वैज्ञानिकहरुले बढ्दो जलवायु संकटको चेतावनी दिएसँगै कप–२६ स्कटल्याण्डको ग्ल्यास्गोमा सुरु भएको हो। 

सो सम्मेलनमा संसारका विभिन्न मुलुकका शीर्ष नेताहरु सहभागी भएका छन्। जलवायु परिवर्तन संकट र वैश्विक तापक्रम वृद्धिसँग जुध्ने लक्ष्यसहित कप–२६ संसारका नेताहरु कार्यक्रममा सहभागी भएका हुन्। 

कार्बन उत्सर्जन कटौती, जलवायु कोष र संसारका २ सय मुलुकका प्रतिनिधिहरुले पेरिस सम्झौतामा गरेको प्रतिबद्धतामा सो सम्मेलन केन्द्रित हुनेछ। 
०००

अमेरिकामा कर्मचारी अभाव हुँदा १ हजार बढी उडान रद्द
टेक्सस : अमेरिकी विमान कम्पनी अमेरिकन एयरलाइन्सले कर्मचारी अभावमा हजारभन्दा बढी उडान रद्द गर्नुपरेको छ। एयरलाइन्सले कर्मचारी अभाव र मौसमको कारण देखाउँदै सो संख्यामा उडान रद्द गर्नु परेको हो। 

फ्लाइटअवेरको नयाँ तथ्यांकअनुसार एयरलाइन्सले ह्वालोविन सप्ताहको लागि उडान तय गरिएका करिब ७ सय उडान रद्द गरेको छ भने गएको शुक्रबारदेखि हालसम्म १ हजारभन्दा बढी उडान रद्द गरेको छ। कर्मचारी अभाव र मौसम विषमताको कारण देखाउँदै एयरलाइन्सले शनिबार र आइतबारका करिब मात्र करिब ८ सय उडान स्थगित गरेको तथ्यांकले जनाएको छ। 

अमेरिकन एयरलाईन्स कम्पनीले संसारभर दैनिक ६ हजार ७ सय उडान सञ्चालन गर्दै आएको छ। 

गएको बिहिबारदेखि त्यहाँको मौसम खराब भएको र विभिन्न कारण कर्मचारी अभाव हुँदा उडान स्थगित गर्नुपरेको अमेरिकन एयरलाइन्सका सीइओ डेभिड सेमौरले बताएका छन्। सो समस्या एक महिनाभित्रै हल गर्नेसमेत उनको भनाइ छ। 

कम्पनीले डिसेम्बरभित्र १८ सय विमानका कर्मचारी र ४ हजारभन्दा बढी विमानस्थलका कर्मचारीहरुलाई नियुक्त गर्ने घोषणा गरेको छ। 
०००

मृत्युको हल्लापछि पहिलो पटक देखिए तालिबानका शीर्ष नेता
काबुल : तालिवानका शीर्ष नेता पहिलो पटक सार्वजनिक रुपमा उपस्थित भएका छन्। शीर्ष नेता हैवतुल्लाह आखुन्दजाद पहिलो पटक सार्वजनिक रुपमा आइतबार उपस्थित भएका हुन्। पहिलो पटक सार्वजनिक रुपमा देखा परेका उनले तालिबान लडाकु र आफ्ना चेलाहरुसमक्ष भाषण गरेको अधिकारीहरुले बताएका छन्। 

आखुन्दजादले अफगान सहर कान्दहरमा पहिलो पटक सार्वजनिक रुपमा आफ्नो अनुहार देखाएको तालिबानले घोषणा गरेको छ। सन् २०१६ को इस्लामिक आन्दोलनमा आध्यात्मिक प्रमुखको भूमिका निभाएका उनी त्यसयता सार्वजनिक रुपमा उपस्थित नभएको बताइएको छ। 

तालिबानको नयाँ सरकार बनेपछि आखुन्दजाद पहिलो पटक सार्बजनिक रुपमा उपस्थित भएको तालिबानले बताएको छ। 
००० 

सुडानको सैन्य ‘कू’ विरोधी आन्दोलनमा थप ३ मारिए 
खार्तुम : सुडानमा सैन्य शासनविरुद्ध भएको देशव्यापी आन्दोलनमा थप तीन जनाको मारिएका छन्।  सैन्य शासनको विरोधमा उत्रिएका तीन सुडानी जनतालाई सुरक्षा बलले मारेका हुन्। 

गएको सोमबार  सुडान सेनाले सत्ता हत्याउँदै सैन्य ‘कू’ लागू गरेको थियो। जनता नेतृत्वको सरकार पुनस्थापना गर्न र सैन्य ‘कू’को विरोधमा हजारौँ मानिस सडकमा उत्रिएको बताइएको छ। 

सैन्य शासनविरोधी जनताले शनिबार देशव्यापी आन्दोलनको घोषणा गरेका थिए। सो आन्दोलनमा थप तीन जना मारिएको र करिब ३८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ। 
०००

लाभांश करमा जी २० का नेताको ऐतिहासिक सहमति
रोम : जी २० का नेताहरुले लाभांश करमा ऐतिहासिक सहमति जनाएका छन्। संसारका ठुला व्यवसायी कम्पनीहरुले  करिब १५ प्रतिशत कर तिर्ने गरी जी २० का नेताहरुले सहमति जनाएका हुन्।  

इटलीको रोममा आयोजित जी २० को शिखर सम्मेलनमा ठुला व्यवसायी कम्पनीले कर छली गर्दै आएको भन्दै सो प्रावधान अनुमोदन गरिएको हो। कर्पोरेट कर सम्बन्धी सो प्रस्ताव अमेरिकाले राखेको थियो। आइतबारदेखि आधिकारिक रुपमा लागू हुने गरी अनुमोदन गरिएको सो सहमति ऐतिहासिक भएको बताइएको छ। 

संसारमा कोभिड १९ महामारी फैलिएपछि प्रत्यक्ष रुपमा भएको जी २० को शिखर सम्मेलनमा जलवायु परिवर्तन संकटको सामना र कोभिड महामारीको अन्त्यलाई शीर्ष विषयमा राखिएको छ। 
०००

मेक्सिकोमा १ हजार वर्ष पुरानो डुङ्गा भेटियो 
मेक्सिको : मेक्सिकोमा करिब १ हजार वर्ष पुरानो डुङ्गा (कन्यु) फेला परेको छ। रेलमार्ग निर्माणको क्रममा सो डुङ्गा फेला परेको हो। 

मेक्सिकोको नेसनल इन्स्टिच्युट अफ एन्थ्रोपोलोजी एण्ड हिस्ट्रि (आइएनएएच)को समूहले पानीमुनि सो डुङ्गा फेला पारेका हुन्। सो डुङ्गा माया सभ्यताका मानिसहरुले प्रयोग गरेको हुन सक्ने अन्वेषकहरुले अनुमान गरेका छन्। 

‘विवादित पर्यटकीय परियोजना ‘माया ट्रेन’ निर्माणको क्रममा सो डुङ्गा फेला परेको हो’ आइएनएएचको टिमले विज्ञप्तीमार्फत भनेका छन्, ‘यस्तो खाले यो नै संसारको पहिलो डुङ्गा हुन सक्छ। जुन माया सभ्यताका मानिसहरुले संरक्षण गरेर राखेको हुन सक्छ।’

सो डुङ्गा ८३० एडीदेखि ९५० को बिचमा बनेको अनुमान उनीहरुले गरेका छन्। 
०००

चीनले ताइवानमाथि हमला गर्दा अमेरिका चिन्तित 
रोम : चीनले ताइवानमाथि गरेको हमलाप्रति अमेरिकी राज्य सचिव एन्टोनी ब्लिङकनले चिन्ता व्यक्त गरेका छन्। ब्लिङकनले चिनियाँ विदेश मन्त्री वाङ सीसमक्ष सो चिन्ता व्यक्त गरेका हुन्। 

अमेरिकी सरकारका अनुसार अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै चीनले निरन्तर ताइवानमाथि गरेको हमलाप्रति ब्लिङकनले चिन्ता व्यक्त गरेका हुन्। 

रोममा आयोजित जी २० को शिखर सम्मेलनमा भर्चुअल माध्यमबाट बोल्दै ब्लिङकनले चिनियाँ विदेशमन्त्री वाङसमक्ष चिन्ता व्यक्त गरेको बताइएको छ। ताइवान सम्बन्धमा दुई शीर्ष नेताबिच भएको छलफलले चीन, ताइवान र अमेरिकाबिचको सम्बन्धमा सहयोग पुग्न सक्ने बताइएको छ। 

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएपछि तनाव सिर्जना भएको थियो। 

– संयोजन : अस्मिता खड्का


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.