जापानले पहिलो पटक जारी गर्‍यो ५ सयको सिक्का, पनडुब्बी सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सको आरोप

जापानले पहिलो पटक जारी गर्‍यो ५ सयको सिक्का, पनडुब्बी सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सको आरोप

कोप २६ : वैश्विक तापक्रम घटाउन जी २० नेता प्रतिबद्ध 

रोम : जलवायु संकट समाधान र वैश्विक तापक्रम घटाउन जी २० का नेताहरु प्रतिबद्ध भएका छन्। बढ्दो जलवायु संकट सामना गर्न र वैश्विक तापक्रम घटाउन जी २० का शीर्ष नेताहरु प्रतिबद्ध भएका हुन्। 

स्कटल्याण्डको ग्ल्यास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी २६ औं संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ को पहिलो दिन आर्थिक रुपमा शक्तिशाली मुलुकहरुको समूह जी २० का नेताहरु सो मुद्दामा प्रतिबद्ध भएका हुन्। 

जी २० का शीर्ष नेताले बढ्दो वैश्विक तापक्रमलाई १.५ डिग्री सेल्सियसमा कायम राख्न कोइला प्लान्ट परियोजना बन्द गर्ने र कार्बन उत्सर्जनमा कटौती गर्ने सहमति जनाएका छन्। 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यदि ग्लास्गो सम्मेलन असफल भएमा बढ्दो वैश्विक तापक्रम घटाउन र जलवायु परिवर्तन संकट सामना गर्न संसारका नेता असफल हुने बताएका छन्। 

सो सम्मेलनमा संसारका विभिन्न मुलुकका राष्ट्र प्रमुख प्रत्यक्ष रुपमा उपस्थित भएपनि रुस र चीनका शीर्ष नेता भने अनुपस्थित छन्। जलवायु संकट समाधान र हरित गृह ग्यास कटौती गर्नमा विश्वका नेताहरुको कदम प्रभावकारी हुने या नहुने भन्नेमा कोप २६ लाई चासोको रुपमा हेरिएको छ। 
०००

तीब्बतको पारिस्थितिक प्रणालीप्रति दलाई लामा चिन्तित 
बेइजिङ : तीब्बतबाट निकालिएका आध्यात्मिक नेता दलाई लामाले तीब्बतको पारिस्थितिक प्रणालीबारे चिन्ता व्यक्त गरेका छन्। बढ्दो जलवायु संकटले एसियाको पानीको मुख्य स्रोतको रुपमा रहेको तीब्बतको पारिस्थितिक प्रणाली बिगारेको भन्दै लामाले चिन्ता व्यक्त गरेका हुन्। 

तीब्बतबारे चिन्ता व्यक्त गर्दै लामाले विश्वका नेतालाई त्यहाँको पारिस्थितिक प्रणालीमा सबैभन्दा बढी जोड दिन अपील समेत गरेका छन्। स्टकल्यान्डको ग्लयास्गोमा आयोजित कोप २६ मा सहभागी संसारका नेताहरुसमक्ष उनले सो अपील गरेका हुन्। 

‘पानीको लागि तीब्बत एसियाकै मुख्य स्रोत हो। पाकिस्तानको सिन्धु, भारतको गंगा र ब्रह्मपुत्र, चीनको येल्लो नदी, भियतनामको मेकाङ नदी आदिको स्रोत तीब्बत हो’, निर्वासित लामाले  रेडियो फ्रि एसियासँग भनेका छन्, ‘त्यसैले एसियामा पानी संकट निम्तिन नदिन हामीले त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणमा ध्यान दिनु सबैभन्दा जरुरी छ। संसारका नेताले त्यहाँको पारिस्थितिक पद्धति संरक्षणमा ध्यान दिएमा तीब्बतीहरुको लागि मात्र नभई समग्र एसिया र अन्य मुलुकको हितकारी हुनेछ।’
०००

चीनले पहिलो रकेट प्रक्ष्येपण जहाज सार्वजनिक गर्दै 
बेइजिङ : चीनले देशकै पहिलो रकेट प्रक्ष्येपण जहाज सार्वजनिक गर्ने भएको छ। चीनले समुद्रबाट रकेट प्रक्ष्येपणलाई समर्थन गर्ने देशकै पहिलो जहाज सार्वजनिक गर्न लागेको हो। 

सरकारले सो जहाज सन् २०२२ को सुरुवातमै सार्वजनिक गर्ने योजना बनाएको चिनियाँ सञ्चारमाध्यममा खबर छ। 

ग्लोबल टाइम्सका अनुसार नयाँ खाले सो जहाज पूर्वी चीनको सान्डाङ प्रान्तस्थित हाइयाङ सहरमा निर्माण भइरहेको छ। नयाँ खाले सो जहाजको लम्बाई १६२.५ मिटर र चौडाई ४० मिटर रहेको छ।

समुद्र क्षेत्रमा देशको प्रविधि क्षमता बढाउन र संसारमा आफ्नो क्षमता स्थापना गर्नमा सो रकेटले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। सो रकेट निर्माणको लागत ३.५ बिलियन डलर रहेको बताइएको छ।
०००

पनडुब्बी सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सको आरोप
रोम : फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले पनडुब्बी सम्झौतामा अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले झुट बोलेको आरोप लगाएका छन्। इटालीको रोममा दुई पक्षबिच भएको भेटमा बोल्दै म्याक्रोनले सो आरोप लगाएका हुन्। 

पनडुब्बी सम्बन्धमा अमेरिका, बेलायत र अष्ट्रेलियाबिच ओकस सम्झौता भएको थियो। अस्ट्रेलियाले करिब ३७ बिलियन डलरमा १२ वटा पनडुब्बी निर्माण गर्ने गरी फ्रान्सलाई दिने भनेको परियोजना सम्झौता रद्द गरी अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेको थियो। सेप्टेम्बरमा भएको सो सम्झौतापश्चात फ्रान्स अस्ट्रेलिया, बेलायत र अमेरिकासँग चिडिएको थियो। 

सो सम्झौतापश्चात रोममा आयोजित जी २० शिखर सम्मेलनमा अष्टे«लियाली प्रधानमन्त्री मोरिसन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबिच पहिलो पटक प्रत्यक्ष भेट भएको थियो। सो भेटपश्चात रिपोर्टरहरुसँग बोल्दै म्याक्रोनले पनडुब्बी सम्झौतामा मोरिसनले झुट बोलेको आरोप लगाएका हुन्। 
०००

जापानले पहिलो पटक जारी गर्‍यो ५ सयको सिक्का
टोकियो : जापान सरकारले पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको छ। सरकारले सोमबार २१ वर्षमा पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको हो। 

अर्थमन्त्रालयका अनुसार हालै जारी गरिएको सो सिक्काको डिजाइन अन्य डिजाइनभन्दा धेरै फरक छैन। सरकारले आगामी आर्थिक वर्षदेखि ५ सय येनका २ सय मिलियन नयाँ सिक्का प्रयोगमा आउने गरी उत्पादन र वितरण गर्ने मन्त्रालयले जनाएको छ। 
००० 

थाइल्याण्डमा सय बढी म्यानमार नागरिक पक्राउ 
कन्चनाबुरी : थाइल्याण्ड सरकारले १ सय बढी म्यानमार नागरिक पक्राउ गरेको छ। अवैध रुपमा थाइल्याण्ड प्रवेश गरेको भन्दै प्रहरीले सोमबार १०३ म्यानमार नागरिक पक्राउ गरेको हो। 

अवैध रुपमा मो गाउँ प्रवेश गर्न लागेका १०३ म्यानमार नागरिकलाई पक्राउ गरिएको थाइल्याण्ड प्रहरीले बताएको छ। सेना र प्रहरीको संयुक्त गस्तीले उनीहरुलाई गाउँनजिकैको जंगलबाट पक्राउ गरेको बताइएको छ। 

पक्राउ पर्नेमा ६१ पुरुष र ४१ महिला रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई म्यानमार फर्काउने या थाइल्याण्डमै प्रवेश दिने भन्नेमा निर्णय हुन बाँकी रहेको बताइएको छ। 
०००

बंगलादेशमा १७० रोहिङ्ग्या पक्राउ
ढाका : बंगलादेश प्रहरीले करिब १७२ मुस्लिम रोहिङ्ग्या अल्पसंख्यकलाई पक्राउ गरेको छ। रोहिङ्ग्या शरणार्थीका अन्तर्राष्ट्रिय प्रतिनिधि मारिएको करिब १ महिनापछि प्रहरीले सो संख्यामा रोहिङ्ग्यालाई पक्राउ गरेको हो। 

बंगलादेशको सुरक्षा बलले सोमबार स्थानीय मिडियासँग बताएअनुसार पछिल्लो एक हप्तामा मात्र प्रहरीले १७२ रोहिङ्ग्यालाई बिना कारण पक्राउ गरेको छ। 

सन् २०१७ मा म्यानमारबाट आएका करिब ७ लाख रोहिङ्ग्या मुस्लिम बंगलादेशमा बसोबास गर्दै आएका छन्। 

रोहिङ्ग्या प्रतिनिधिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बटालियनका कमान्डर नैमुल हाकीले बताएका छन्। संयुक्त राष्ट्रसंघीय युएनएचसीआरले रोहिङ्ग्या समुदायका शरणार्थीको सुरक्षित बसोबास खोजिरहेको बताइएको छ।
००० 

तालिबानविरुद्ध लड्न पूर्व अफगान सरकार आईएससँग आवद्ध भएको खुलासा
काबुल : तालिबानविरुद्ध लड्न पूर्व अफगान सरकारका सदस्यहरु इस्लामिक स्टेट र सिरिया खोरासान ब्रान्च (आइएसआइएस–के)सँग आवद्ध भएको एक रिपोर्टले खुलासा गरेको छ। तालिबानविरुद्ध लड्न पूर्व अफगान सरकारले निर्देशनसमेत दिएको वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टले खुलासा गरेको हो। 

तालिबानविरुद्ध लड्न पूर्व सरकारका गुप्तचर निकायका सदस्यहरु यतिबेला अफगानिस्तानमा रहेको र उनीहरु आईएसआईएसकेसँग आवद्ध भएको अफगानिस्तानको स्थानीय मिडिया खामा प्रेसले उल्लेख गरेको छ। 

अमेरिकी सेनाले प्रशिक्षण दिएका अफगान गुप्तचरहरुले उत्तरी अफगानिस्तानमा रहेका तालिबानविरोधी समूहसँग जोडिएको समेत रिपोर्टमा उल्लेख छ। 

तालिबान नेतृत्वको अफगानिस्तानमा पछिल्लो समय विभिन्न हमला गर्नमा पूर्व अफगान सदस्य र आईएस समूहको मुख्य हात रहेको समेत सो रिपोर्टमा उल्लेख छ।  

– संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.