उत्तर कोरियामाथिको नाकाबन्दी हटाउन चीन र रुसको राष्ट्रसंघलाई दबाब
बेलायत : चीन र रुसले संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी हटाउन माग गरेका छन्। उत्तर कोरियाले निरन्तर रुपमा आणविक हतियार उत्पादन गर्न थालेपछि राष्ट्रसंघले कोरियामाथि कडा नाकाबन्दी लगाएको छ।
आणविक हतियार उत्पादन नगर्न राष्ट्रसंघले गरेको आग्रहलाई उत्तर कोरियाले बेवास्ता गर्दै आएको छ। राष्ट्रसंघको नाकाबन्दी कारण उत्तर कोरियाको जनजीवन प्रभावित भएको छ भने उसको अर्थतन्त्रमा समेत व्यापक गिरावट आएको छ।
चीन र रुसले समुन्द्री खाना, मूर्ति, लत्ताकपडा र पेट्रोलियम पदार्थ आयात-निर्यात गर्न उत्तर कोरियालाई दिन राष्ट्रसंघलाई अनुरोध गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा खबर छ। राष्ट्रसंघले ती वस्तु आयात गर्न उत्तर कोरियामाथि बन्देज गरेको छ। सन् २०१९ मा पनि चीन र रुसले राष्ट्रसंघ समक्ष उत्तर कोरियामाथिको नाकाबन्दी हटाउन माग गरेका थिए। चीन र रुसले अहिले पनि उत्तर कोरियामाथिको नाकाबन्दी कम गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्लाई दबाब दिइरहेका छन्।